फोहोर व्यवस्थापनमा दलहरुको अग्रसरता
सम्पादकीय
लामो प्रयासपछि झापाका स्थानीय तहहरुले फोहोर व्यवस्थापनका लागि विकल्प भेट्टाएका छन् । खाल्डो खन्ने र फोहोर पुरिदिने बाध्यताबाट पालिकाहरु प्रविधि मार्फत व्यवस्थापन तर्फ जुटेका छन् । पालिकाहरुले प्रविधिमार्फत फोहोरलाई मोहोरमा परिणत गर्ने योजनासाथ अघि बढेको पाइएको छ । यदि अहिलेको विकल्पलाई कार्यान्वयनमा जाने हो भने केहि पालिकाको फोहोर व्यवस्थापन शुरु भइहाल्थ्यो । झापाको बिर्तामोडसहित आधा दर्जन पालिका उर्जा उत्पादन गर्ने गरी अघि बढेका छन् ।
राजनीतिक दलहरुको भूमिकाले फोहोर उठ्ने नउठ्ने तय गर्छ । एउटै पार्टीभित्र दोहोर चरित्र देखियो वा मत विभाजन भएमा पनि समस्या हुन्छ । त्यसका लागि प्रतिवद्धता जनाएका राजनीतिक दलहरुको भूमिका पनि उत्तिकै प्रभावकारी हुन आवश्यक छ । अहिले बिर्तामोड चुनौतिको सामना गरिरहेको छ । नगरपालिकाले सबै राजनीतिक दलहको सहयोगमा मात्रै फोहोर व्यवस्थापन गर्न सक्ने देखियो । प्रतिवद्धता जनाइसकेका दलभित्र परिचालित स्वार्थ समूहका कारण फोहोरमा फेरि राजनीति शुरु भएको गन्ध आएको छ ।
निजी क्षेत्रको लगानीमा कनकाईमा उर्जा प्लान्ट निर्माण गरिएको छ । निजी क्षेत्रले थालेको परियोजना हो, कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा । जहाँ सर्वसाधरणले शेयर खरिद गरेका छन् । फोहोरलाई स्रोतमै छुट्टाएर ग्यास र प्राङगारिक मल उत्पादन गर्ने सो परियोजनामा झापाको बिर्तामोड, कनकाई,अर्जुनधारा नगरपालिका जोडिएका छन् । नगरमा उत्पादित फोहोरको व्यवस्थापन पनि हुने, नगरले आर्थिक रुपमा फाइदा पनि लिने गरी लगानी गर्ने तयारी छ । फोहोर व्यवस्थापनमा सहज हुने भएपछि शिवसताक्षी, बुद्धशान्ति, भद्रपुर, मेचीनगर पनि सोही प्लान्टमा लगानी गरेर जाने तयारी गर्दैछन् । फोहोर पनि व्यवस्थापन हुने, आम्दानी पनि हुने परियोजना तत्काल सञ्चालन गर्न अपरिहार्य छ । त्यसका लागि दलहरुको अग्रसरता खाँचो देखियो ।