जेष्ठ २, २०८२ बिहीबार

फोहोरमा गठबन्धनको प्रपञ्च

सम्पादकीय
केहि हप्तादेखि बिर्तामोडमा उठाउन नसकेको फोहोरमैला लगभग व्यवस्थापनको चरणमा छ । दैनिक १० देखि १५ ट्याक्टर फोहोर व्यवस्थापन गरिरहेको नगरपालिकाले व्यापक अवरोधका कारण नियमित रुपमा फोहोरमैला व्यवस्थापन गर्न सकेको थिएन । साउन महिना शुरु भएपछि फोहोरमैला व्यवस्थापनमा समस्या शुरु भएको थियो । अहिले अस्थायी व्यवस्थापनको काम चलिरहेको छ । फोहोर व्यवस्थापनमा नगरपालिकाले गरिरहेको प्रयासहरुमाथि अवरोधजन्य गतिविधि पनि जारी छ ।

बिर्तामोड नगरपालिकासहित कनकाई र अर्जुनधाराले संयुक्त रुपमा फोहोर व्यवस्थापन गर्ने गरी उर्जा प्लान्टलाई अगाडि बढाएका थिए । साढे सात सय नागरिकको शेयर समेतको लगानीमा निर्माण गरिएको कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा सञ्चालनको अन्तिम तयारी पुगेको छ । त्यसमा स्थानीय तहको समेत शेयर लगानी गरेर फोहोरमैलाबाट मोहोर उत्पादन गर्ने योजना अनुरुप अघि बढेको योजनामा गठवन्धनको विविध षडयन्त्रले अवरोध सिर्जना गरेको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले एमालेले निर्माण गरे सरह विरोध जनाइरहेको छ । उर्जा परियोजनामा सबै दलमा आस्था राख्ने नागरिकको लगानी छ । लगानी कसले गरे भन्दा पनि जिल्लाको पूर्व भागमा रहेका पालिकाहरुको फोहोरमैला व्यवस्थापन हुने कुरा मुख्य हो । कानुनी रुपमा जटिलताहरु भए पनि फुकाएर अघि बढ्नैपर्छ । किनभने, शहर बजारमा फोहोरको ढंगुर हुनु राम्रो होइन । स्वच्छ र सुन्दर गाउँ शहरको परिकल्पना गर्ने, व्यवस्थापन गर्ने क्रममा अवरोध गर्ने द्वैध चरित्र सबैले बुझिसके । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा स्पष्ट रुपमा सार्वजनिक निजी साझेदारी गर्न पाउने व्यवस्था अनुसार अघि बढेको परियोजना रोक्नु भनेको फोहोर मानसिकता नै हो । यसैले साझा समस्याका रुपमा रहेको फोहोर व्यवस्थापनमा कुनै पनि प्रपञ्च रच्नुको सट्टा व्यवस्थापनमा सहयोग गरौं । असर राजनीतिक दलको परिचय दिऔं ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  १ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]