व्याजदरमा मनपरी
सम्पादकीय
आर्थिक तरलताले लामो समयदेखि वित्तीय क्षेत्र तहसनहस भएको छ । बजारमा व्यापारी अप्ठ्यारोमा छन् । बैंक तथा वित्तीय संस्था कर्जा लगानीबाट पछि हटेका छन् । वित्तीय संस्थामा पनि सहकारीहरु कर्जा लगानी गर्न सकेका छैनन् । राम्रै बचत संकलन हुँदा नियमविपरित लगानी गरेका सहकारीहरु अहिले ठुलो संकटमा छन् । बजारबाट बचत संकलन हुन सकेको छैन । तरलताका कारण व्यापार व्यवसाय पनि चौपट छ । जसका कारण बचतकर्तामा पनि ठुलो उत्साह छैन । अर्थात, कलेक्टरलाई रित्तो हात फर्काउन बाध्य छन् ।
बजारबाट बचत रकम संकलन नभएपछि बैंक तथा वित्तीय संस्था स्वभाविक रुपमा धरायसी हुने नै भए । त्यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् । साना कारोवारीहरु सबै सहकारीमा निर्भर थिए । नियम संगत चलेका सहकारी बाहेकले बचत पनि फिर्ता दिन सकेको अवस्था छैन । यहि बेला बैंकहरु व्याजदर बढाउन प्रतिष्पर्धा गरिरहेका छन् । कर्जावालहरुसँग बैंकले घाँटी न्याक्ने काम गरिरहेका छन् । विगतमा कर्जा लगानीको क्रममा गरेको सर्तभन्दा बाहिर व्याजदर वृद्धि गरेर सेवाग्राहीलाई अप्ठ्यारो पार्ने काम भइरहेको छ ।
निक्षेपको ब्याजदर १५ प्रतिशत नाघेको छ । बैंकहरुले १ असोजदेखि लागू हुने निक्षेपको ब्याजदर प्रकाशित गर्दै बचतमा १० प्रतिशत र मुद्दती निक्षेपमा १५ प्रतिशतसम्म ब्याजदर प्रकाशित गरे । असोजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकले ब्याजदर बढाए । त्यसले व्यापार व्यवसाय चौपट भएर बसेका आम नागरिक, व्यापारी मारमा परेका छन् । बैंकले मौकाको फाइदा उठाउन हुदैन । घुमाइफिराई सेवाग्राहीलाई मारमा पार्ने काम तत्काल बन्द गरियोस् । कर्जा लिनेहरुलाई व्याजदरको माध्यमबाट निमोठ्नु विल्कुल हुदैन । बैंक तथा वित्तीय संस्थाहरुले विचार पुर्याउन् । सर्तभन्दा तलमाथि गरेर व्याजदरमा मनपरी गर्ने छुट छैन ।