बैशाख ७, २०८१ शुक्रबार

झापाका बालगृहहरु समस्यामा

बिर्तामोड । आर्थिक क्षेत्रमा देखिएको तरलताका कारण बाल गृहहरुमा समेत प्रभाव पर्न थालेको छ । झापाका ८ वटा बाल गृहमा पछिल्लो समय तरलताकै प्रभावका कारण दाताको चहलपहल घटिरहेको सञ्चालकहरु बताउँछन् ।

जिल्लाभरका बाल गृहहरुमा १ सय जनाभन्दा बढि बालबालिका आश्रित छन् । सडक बालबालिका, अभिभावक विहीन बालबालिका देखि शारिरीक अपांगता भएका बालबालिकाहरुलाई बालगृहले आश्रय दिदै आएका छन् । खानपानदेखि शिक्षामा समेत सहयोग गरिरहेका बालगृहहरु यतिबेला संकटमा छन् ।

झापाको अर्जुनधारा–६ मा रहेको अपांग बाल शिक्षा सरोकार समाजमा दाताहरुको उपस्थिति घट्दै गइरहेको छ । सरोकार समाजका अध्यक्ष कृष्ण दुलालका अनुसार विगतमा भन्दा दाताको उपस्थिति घटेको छ । दैनिक खानपानदेखि विजुली बत्ति र कर्मचारी खर्च धान्न गाह्रो भइरहेको दुलालको भनाई छ । खानपान जुटाउनका लागि दैनिक हिड्नै पर्छ, दुलालले भने – ‘गत वर्षबाट प्रदेश सरकारले सहयोग गरिरहेको छ । केहि रकम प्रदेशबाट प्राप्त भएपनि खर्च धान्न मुस्किल छ । सागसब्जी र स्वास्थ्य उपचार नै जटिलता भइरहेको छ ।’ मासिक ७० हजार खर्च हुने सरोकार केन्द्रमा जन्मदिन र बुबाआमाको तिथि मनाउन फाट्टफुट्ट मान्छे आउने गरेका छन् ।

यस्तै, कनकाई –१ मा रहेको सुस्त मनस्थिति सरोकार समाज नेपालमा १७ जना बालबालिका आश्रित छन् । सो बाल गृहमा सुस्त मनस्थिति भएका बालबालिकाले आश्रय लिइरहेका छन् । खाद्यन्न मै ठुलो खर्च आउने सञ्चालक शान्ता पोखरेलको भनाई छ ।

कनकाई नगरपालिका र प्रदेश सरकारको सहयोगले ठुलो सहयोग भइरहेको छ, उनले भनिन्, त्यो सहयोगले मात्रै पनि पुग्दैन । समितिका सदस्यहरुको स्वयमसेवा र दुई जना कर्मचारीले बालगृहमा काम गर्दै आएका छन् । सञ्चालक पोखरेलले हुर्कदै गएका बालबालिकाको भविष्य र संरक्षणमा राज्य जिम्मेवार हुनुपर्ने बताउछिन् । सडकबाट उठाएर ल्याइएका बालबालिका ठुला भइसके, पोखरेलले भनिन्, अब त राज्यले उनीहरको बारेमा सोच्नैपर्छ ।

सो बालगृहमा पनि दाताको उपस्थिति घट्दो छ । खाना र स्वास्थ्य उपचारमा समस्या आइपर्दा सहयोगको अपेक्षा हुन्छ । पोखरेलले भनिन्, यसरी सेवा गर्ने र यहाँ बस्ने बालबालिकालाई हेर्ने दृष्टि पनि सकारात्मक छैन । हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने पोखरेलको धारणा छ ।

बालगृह महासंघ प्रदेश १ का उपाध्यक्ष नारायण प्रसाद पोखरेलले बालगृहमा विगतमा भन्दा दाताको उपस्थिति धेरै घटेको बताएका छन् । उनले आर्थिक क्षेत्रमा देखिएको तरलताको प्रभाव परेको हुन सक्ने बताए । सहयोग गर्नेहरु पनि आर्थिक संकटमा परेको हुँदा विगतमा जस्तो सरसहयोग घटेको उनको भनाई छ ।

धेरै जसो बालगृहहरुलाई आफ्नै भवन नहुँदा समस्या छ । झापाका १-२ बाहेक सबै बालगृहहरुले विभिन्न दाता र राज्यको सहयोगबाट भवन निर्माण गरेका छन् । बस्नलाई ठुलो समस्या होइन, तत्कालको खानपान नै बालगृहहरुका लागि समस्या हुन् । उपाध्यक्ष पोखरेलले आश्रय पाइरहेका बालबालिकाको शिक्षामा पनि उत्तिकै जोड दिएको बताए । अनाथ बालबालिकाहरुलाई अवलोकन भ्रमण गराउन नसकिएको उनको भनाई छ । पोखरेल भन्छन्, ‘बाल गृहमा हुर्किएका बालबालिकालाई पढाई सक्दा स्वरोजगार बनाउनुपर्ने जिम्मेवारी छ । उनीहरुलाई प्राविधिक शिक्षा दिन सकिएको छैन । स्वरोजगार बनाउन सके हुन्थ्यो ।’

बिर्तामोडमा तारा नमस्ते बालग्राम सञ्चालन गर्दै आएका पोखरेलले राज्य पक्षबाट चित्तबुझ्दो सहयोग प्राप्त गर्न नसकेको बताउछन् । उनले बालबालिकाको संरक्षणमा राज्यको पहिलो दायित्व हुने सुनाउछन् ।

झापामा सुबोध साधना केन्द्र, अपांग बाल शिक्षा सरोकार केन्द्र, तारा नमस्ते बालग्राम, सुस्तमनस्थिति सरोकार समाज, हाम्रो बाल गृह, बन्दी सहायता नेपालसहित ८ वटा बालगृह सञ्चालनमा छन् । सबै बालगृह दाता, विभिन्न संघसंस्था, स्थानीय तह, विदेशी संस्थाहरुको भरमा चलेका छन् ।

प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार  ५ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]