कमजोर गठबन्धन
सम्पादकीय
परमादशेबाट दुई तिहाईको सरकार हटाउने सर्वोच्चको फैसलापछि मुलुकमा राजनीतिक वेथिती बढ्दै गएको छ । त्यसैको प्रारुप हो, कांग्रेस नेतृत्वको गठबन्धन । दलहरु एक हुनु सबैका लागि सराकारात्मक छ । तर, गलत उद्देश्यका लागि एक हुनु दुःखद् छ । मुलुक निर्वाचनमा होमिएको छ । निर्वाचनका लागि दलहरु आआफ्नो तयारीमा जुटेका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको सरकार चुनाव गराउने जिम्मेवारीमा छ । निर्वाचन गराउने मुख्य जिम्मेवारी रहेको वर्तमान सरकार पछिल्लो समय आफै ठुलो संकटमा परेको छ ।
कांग्रेसले गठबन्धन गरेर आम नागरिकलाई भ्रममा पार्ने उद्देश्य बनाएको थियो । आम नागरिक मात्र होइन, पार्टी कार्यकर्तालाई समेत भ्रममा पार्ने कांग्रेसको योजना विफल हुदैछ । कांग्रेसभित्र नयाँ पार्टीको तयारी गरिरहेको समूह पनि दिनुह बलियो हुदै गइरहेको छ । निर्वाचनमा आफ्नै नेताहरुको व्यवस्थापनमा कमजोरी गरिरहेको आरोपमा शेखर कोइराला पक्षधरहरु पार्टी विभाजको अन्तिम तयारीमा लागेका छन् । गठबन्धनका नाममा कांग्रेसलाई सिध्याउने खेल गरेको आरोप लगाइएको छ ।
प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड, माधव नेपालको मात्रै चिन्ता लिइरहेको कांग्रेसभित्र चर्चा भइरहेको छ । पार्टीमा जीवन्त योगदान गर्नेहरुलाई वेवास्था गरेर प्रचण्ड र माधव नेपाललाई जिताउने अभियानमा लागेको भन्दै कांग्रेसका अन्य नेताहरु गठबन्धनको विरुद्धमा उत्रिएका छन् । सो समूह गठबन्धन गरेर कांग्रेसलाई झनै कमजोर बनाउन नहुने धारणा सार्वजनिक गरिरहेका छन् । एक्लै निर्वाचनमा गए पनि प्रचण्ड र माधव नेपालको पार्टी प्रतिष्पर्धी हुन नसक्ने शेखर पक्षको दावी छ । यसैले गठबन्धनको भविष्य कमजोर देखिएको छ । गठबन्धनको भविष्य नै कमजोर भएपछि देशको भविष्य राम्रो बनाउने आशा गर्न सकिन्न । त्यसैले आम मतदाताले गठबन्धनलाई भन्दा पनि राष्ट्र र राष्ट्रियताको पक्षमा निरन्तर अडिक पार्टीलाई निर्वाचित गराउन आवश्यक छ ।