बैशाख २४, २०८१ सोमबार

मेयर प्रसाईको शेयर लगानी फिर्ता गर्ने कनकाई उर्जाको निर्णय

बिर्तामोड । बिर्तामोडकी नगर प्रमुख पवित्रा महतारा प्रसाईको आवेदन अनुसार उर्जा कम्पनीमा गरेको लगानी फिर्ता हुने भएको छ । कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोर मैला ब्यवस्थापन पब्लिक कम्पनीको साधारणसभा नगर प्रमुख प्रसाईको शेयर लगानी फिर्ता गर्ने निर्णय गरेको हो ।

जनप्रतिनिधिले व्यवसाय गर्नै नपाउने व्यवस्था नभए पनि केहि विरोधीहरुले प्रश्न उठाएका थिए । बिर्तामोडको फोहोर व्यवस्थापनमा आफु जस्तोसुकै त्याग गर्न तयार रहेको भन्दै आफ्नो लगानी फिर्ता गर्ने निर्णय लिएको प्रसाईको भनाई छ । उनले भनिन्, मैले शेयर फिर्ताको आवेदन दिएको थिए । साधारणसभाले फिर्ता गर्ने निर्णय गरेको छ ।

बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका समेतको शेयर लगानी गरेर सञ्चालन गर्ने भनिएको उर्जा प्लान्टमा अस्पष्टताका कारणले विरोध भएको थियो । अहिले सबैले पब्लिक कम्पनी भन्ने बुझिसके, अध्यक्ष मिनाल तिम्सिनाले भने ।
साधारणसभामा अधिकांश वक्ताले छिटोभन्दा छिटो कम्पनी सञ्चालनमा आउनुपर्नेमा जोड दिएका थिए । बढ्दो फोहोर व्यवस्थापनको चुनौती कम्पनी सञ्चालनमा आएपछि समाधान हुने उनीहरुको भनाई छ । कार्यक्रममा सामाजिक व्यक्तित्व शेबहादुर थापाले फोहोर व्यवस्थापनमा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोडदिएका थिए ।

नेपाल सरकार बैकल्पिक उर्जा प्रबर्धन केन्द्रको पत्र मार्फत ४० टन क्षमताको प्लान्ट निर्माणको लागि स्वीकृत १३ करोड ६६ लाख २४ हजार २१ मध्ये नेपाल सरकारको अनुदान २०७३ बमोजिम अधिकतम अनुदान रकम ५ करोड ४६ लाख ४९ हजार ६ सय ८ रुपैयाँ केन्द्रबाट उपलब्ध हुने ब्यहोरा जानकारी पत्र कनकाई बिर्ता अर्जुन नविकरणिय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी लिमिटेडमा प्राप्त भएको थियो ।

सोही पत्रका आधारमा कनकाई, बिर्तामोड, अर्जुनधारा नगर र नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय बैकल्पिक उर्जा प्रबर्धन केन्द्र बीच २०७६ साल असार ३० गते संयुक्त फोहोर मैला व्यवस्थापन गर्न र फोहोर मैलाबाट उर्जा उत्पादन परियोजना संचालन गर्ने सम्बन्धि अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

साथै बिश्व बैंक समेतको सहयोगमा सञ्चालन हुने यस परियोजनाको सम्झौतामा उल्लेख भए बमोजिमको परियोजना कार्यन्वयनका लागि बैकल्पिक उर्जा प्रबर्धन केन्द्र को २०७६ साल श्रावण ४ गतेबाट कार्यादिश प्राप्त भएको प्रतिवेदनमा छ ।
कम्पनीले हालसम्म बैकल्पिक उर्जा प्रबर्धन केन्द्रबाट सम्झौता बमोजिमको रकम ५ करोड ४६ लाख ४९ हजार ६ सय ८ रुपैयाँ मध्ये पहिलो किस्ता बापत २ करोड ७७ लाख ५७ हजार ९२६, कनकाई नगरबाट ६१ लाख ८३ हजार २३८, अर्जुनधारा नगरबाट ३० लाख कम्पनी संस्थापक शेयरधनिबाट ४ करोड १ लाख ८० हजार, बैंक ऋण बाट ३ करोड ९१ लाख ५३ हजार ५११ र बाँकी व्यक्तिगत सापटी बाट २ करोड ७८ लाख ५७ हजार ४ सय १२ रुपैयाँ ८८ पैसा गरि कुल १४ करोड ४१ लाख ३२ हजार ८९ रुपैयाँ खर्च गरिसकिएको प्रतिवेदनमा उल्लेख छ ।

कनकाई नगरपालिकाबाट १५ लाख, बिर्तामोड नगरपालिकाबाट १५ लाख, अर्जुनधारा नगरपालिकाबाट १० लाख, प्रदेश सरकारबाट ५० लाख प्राप्त गरि उपभोक्ता समिति मार्फत खर्च गरि हिसाब पनि सम्बन्धित निकायसँग फरफार गरिसकेको कम्पनीले जनाएको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कम्पनीका सदस्य कुमारमणि पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन कम्पनीका प्रबन्ध निर्देशक दीपक चापागाईंले गरेका थिए ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]