बैशाख २३, २०८१ आईतबार

प्रदेश सरकारद्वारा हिकोलाका सञ्चालक देवीभक्त श्रेष्ठ सम्मानित

बिर्तामोड–पर्यटन प्रवर्धन अभियानमा गरेको योगदानको कदर गर्दै प्रदेश सरकारले झापाको बिर्तामोडस्थित होटल हिकोला हेरिटेजका सञ्चालक एवम् हिमालयन टुर एण्ड ट्राभल्स (अनुपमा) का प्रबन्ध निर्देशक देवीभक्त श्रेष्ठलाई सम्मान गरेको छ ।

विश्व पर्यटन दिवसको अवसर पारेर प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले विराटनगरमा आयोजित समारोहका बीच व्यवसायिक क्षेत्रका अगुवा श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको हो ।

विश्व पर्यटन दिवस २०२२ स् अतिथिको सत्कार नेपालीको संस्कार’ भन्ने नाराका साथ मनाएको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईले होटल सञ्चालक श्रेष्ठलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका हुन् ।

कार्यक्रममा होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठ, होटल व्यवसायी महासंघ प्रदेश १ का अध्यक्ष राजन दंगाल लगायतको पनि सहभागिता रहेको थियो ।

लामो समयदेखि श्रेष्ठ पर्यटन प्रवर्धन अभियानमा सहभागी छन् । साढे तीनदशक अघिदेखि फोटोग्राफीमार्फत श्रेष्ठले पर्यटकीय क्षेत्रको प्रचार अभियान सुरु गरेका थिए । फोटोग्राफीका लागि हिकोला कलर ल्याव नेपालमा प्रसिद्ध छ ।

फोटोग्राफी बाहेक अनुपमा ट्राभल्समार्फत पनि श्रेष्ठले निरन्तर पर्यटन क्षेत्रमा योगदान गर्दै आएका छन् । बिर्तामोडमा होटल हिकोला हेरिटेज सञ्चालनमा छ । श्रेष्ठले काँकडभिट्टामा पनि होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएका छन् ।

‘जुन सम्मान मैले पाएँ, प्रदेश सरकारले यसको सुरुवात गरेको छ’, श्रेष्ठले भने, ‘आगामी दिनमा पर्यटन क्षेत्रमा योगदान गर्नेलाई उनीहरुको योगदानका आधारमा सम्मान गर्दै लैजानुपर्छ ।’

भाषा, कला साहित्य र संगीतको क्षेत्रमा पनि श्रेष्ठको योगदान रहँदै आएको छ । साहित्य चौतारीको संस्थापक संरक्षकका रुपमा श्रेष्ठले आफ्नो साहित्यिक कर्मलाई शीरमा राख्दै आएका छन् ।

पर्यटन सूचना केन्द्र स्थापना
प्रदेश सरकारको सहयोगमा विराटनगरमा पर्यटन सूचना केन्द्र पनि स्थापना गरिएको छ । विश्व पयर्टन दिवसको अवसर पारेर सूचना केन्द्र स्थापना गरिएको हो । चेम्वर अफ कमर्सको अग्रसरतामा सूचना केन्द्र स्थापना गरिएको छ । केन्द्रमार्फत पूर्वी नेपालका पर्यटकीय क्षेत्रको विषयमा आवश्यक सूचना र जानकारी दिन सकिने जनाइएको छ ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]