स्वतन्त्र उम्मेद्वारको योगदान खाजौं
सम्पादकीय
बडादशैंको तीब्र तयारी भइरहेका बेला निर्वाचन अलिकति ओझेलमा परेको छ । आम नागरिकलाई निर्वाचनभन्दा दशैंको रमझम छ । आम नागरिकलाई दशैंको रमझम छ भने राजनीतिक दलका नेतालाई निर्वाचनकै व्यस्तता छ । मुलतः दशैं भए पनि निर्वाचनको बेग्लै महत्व छ । चाडवाडसँगै आइलागेको निर्वाचनको तयारी पनि तीब्र छ । मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुदैछ । त्यसको आवश्यक तयारीमा निर्वाचन आयोग अहोरात्र खटेको छ । दलका नेताहरु उम्मेद्वार छनौटमा लागिरहेका छन् ।
झापा सहित अहिले देशभर निर्वाचनको माहोल छ । झापा केपी ओलीको गृह जिल्ला भएको हुँदा सबैको ध्यान यहाँ छ । गएको स्थानीय तह निर्वाचनमा काठमाडौं, धरान र धनगडीमा स्वतन्त्र उम्मेद्वार विजयी भए । त्यसपछि स्वतन्त्र उम्मेद्वार नै सबै हो भन्ने बनाइएको छ । उम्मेद्वार दलीय होस् वा स्वतन्त्र जनताको निम्ति दीर्घकालिन प्रभाव पार्न सक्ने , विकास निर्माणलाई प्राथमिकता दिने, योजनावद्ध रुपमा काम गर्न सक्ने हुनुपर्छ । स्वतन्त्र हुनासाथ चुनाव जितिन्छ भन्ने भ्रम बढेर गएको छ । यो गलत नजिर हो ।
स्वतन्त्र भएर बालेनले जितेका होइनन् । उनको योजना बुझेर मतदाता उत्साहित थिए । पात्रका कारण स्वतन्त्र निर्वाचित भएका हुन् । यसको अर्थ, स्वतन्त्र हुनासाथ चुनाव जितिने होइन । अहिले झापामा पनि स्वतन्त्र उम्मेद्वार चुनावी अभियानमा छन् । कतिपय निर्वाचन क्षेत्रमा चुनाव नै जितिसकेको घोषणा गर्दै प्रचार गर्ने काम भइरहेको छ । स्वतन्त्र भन्दै चुनावी अभियानमा दौडिएका पात्रको योगदान के छ अहिलेसम्म ? प्रश्न गरौं । शुन्य योगदान भएकाहरु उम्मेद्वार बन्न योग्य छैनन् । यसैले निर्दलीय व्यवस्थाको अभ्यास गर्नुभन्दा दलका उम्मेद्वारलाई प्रतिवद्ध बनाएर अघि बढाउनुको विकल्प छैन । र, सबै मतदाता ढुक्क हुन जरुरी छ – सबै स्वतन्त्र बालेन हुन सक्दैनन् ।