चैत्र १५, २०८० बिहीबार

मैले बुझेको दशैँ

सबैभन्दा पहिले ती तमाम पूर्खाहरु, जसले दशैँ जस्तो महान् चाडको सुरुवात गरे, सबैलाई मनैदेखि धन्यवाद ! जसका कारण आज हामी आफ्ना आफन्तजनसँग भेटभाट अनि ठूलाबडाबाट आशीर्वाद लिन पाइरहेका छौँ । आफ्नो व्यस्तता, कामलाई एकातिर थन्क्याएर दुई–चार दिन भए पनि फुर्सदिलो रमाइलो माहोलमा बाँच्ने अवसर पाएका छौँ । यदि यस किसिमको चाड नभइदिएको भए हामीले आफन्तजनलाई भेट्ने फुर्सद कहाँ पाउँथ्यौँ होला र ! हाम्रो जीवन केवल एउटा मेसिन जस्तो हुने थियो, भावना बिनाको ।

मलाई दशैँ भनेपछि औधी खुसी लाग्छ, बच्चैदेखि । फरक यत्ति हो, सानोमा खुसी हुनुको कारण अर्कै थियो, अहिले अर्कैै छ । नयाँ लुगा लाउन पाउनु, लिङ्गे पिङ खेल्न पाउनु, स्कुल बिदा हुनु, एक खाले कारण थिए भने अर्को थियो नयाँ नोटको मिठो गन्ध । अहा ! क्या रमाइलो ! टीका थापेर बटुलेको नयाँ नोटले खेलौना बन्दुक किन्न पाउँदा साह्रै खुसी लाग्ने । सामान्य आर्थिक अवस्थाको मेरो परिवारमा फजुल खर्च गर्न निक्कै सोच्नु पर्ने अवस्था थियो । दशैँमा टीका थापेर पाएको पैसा चैँ आफ्नै कमाइ जस्तो लाग्ने । त्यसैले आमाबुबालाई नदिई खेलौना पसल र्पुयाइहालिन्थ्यो । त्यसपछि अर्को कारण चाहिँ घरमा पाहुना आउँदा पाइने मिश्रीको डल्ला, जेरी, मिठा मिठा परिकार खान पाइन्थ्यो । दुःख चैँ कति बेला लाग्थ्यो भने, आमाले ‘ले तेरो पैसा हराउँछ, म राखिदिन्छु’ भन्नु हुन्थ्यो । अनि फिर्ता पाइँदैनथ्यो । यो कुरा चाहिँ धेरैको जीवनमा मेल खान्छ होला । खासमा हामीले आमालाई सम्झिने एउटा पाटो हो यो । पैसा त हामीले डाइसमा हारेर पनि त सक्थ्यौँ, खै त्यो पैसाको याद खासै आउँदैन त !

आज हामी औधी व्यस्त छौँ । यति व्यस्त कि आमाबुबाको लागि पनि हामीसँग समय छैन । परदेशमा हुनेको त कुरै छाडौँ, घरदेशमा जागिर गर्नेहरु पनि दशैँ नआई घर फर्किंदैनन् । घरका बुढा बाआमा सुनसान कोठा हेरेर कहिले दशैँ आउला र दुई चार दिन भए पनि घर भरिएला भनेर कुरेर बसेका हुन्छन् । दशैँमा केटाकेटी जति खुसी हुन्छन्, त्योभन्दा खुशी ती बृद्धबृद्धा हुन्छन्, जसले कम्तीमा वर्ष दिनमै भए पनि आफ्ना सन्तान, दरसन्तानको निधार सुम्सुम्याउन पाउँछन्, नातिनातिनीसँग खेल्न अनि रमाउन पाउँछन् । जस्तोसुकै खाए पनि, लाए पनि आफ्ना सन्तानसँगको भेट र आफ्नोपनले दिने आनन्दानुभूति अरु केहीले दिन सक्दैन । अनि आफ्नो आमाबुबासँग टेन्सन फिभएर समय बिताउनु र गाउँघरका साथीभाइसँग सुखदुःख साटासाट गर्न पाउनु जत्तिको खुसी अरु केहीमा पाइँदैन । त्यसैले त यो साँच्चै महान् पर्व हो, हरेक नेपालीका लागि ।

जीवन कसैको एकनास रहँदैन । उतारचढाव जिन्दगीको चक्र हो । आज हामी जे छौँ भोलि नरहन सक्छौँ । जसरी हिजो हामी केटाकेटी थियौँ, आज रहेनौँ । अहिलेको दशैँ हिजोको जस्तो छैन । मोबाइल र इन्टरनेटको अधिक प्रयोगका कारण पनि दशैँले जति महत्व पाउनुपर्ने हो, त्यति पाउन सकेको छैन । आजका नानीहरु हिजो हामी जस्तो पिङमा झुम्मिने, चङ्गा उडाउने गर्दैनन्, मोबाइल लिएर कुना पस्ने गर्छन् । अभिभावक पनि उस्तै छन्, अलिकति फुर्सद भयो कि टिकटक, फेसबुक अनि युट्युबमा झुम्मिहाल्छन् । चाडपर्वले निकालेको फुर्सदिलो समयलाई पनि यस्ता कुराले व्यस्त पारिदिँदै लगेको छ । टीका थाप्न आउने–जाने क्रम पनि घटेको छ । नानीबाबुहरुलाई को आयो, को गयो ? पत्तै हुँदैन । भनौँ, आफन्तसँगको घनिष्टता, चिनजान बढाउने यो अवसर पनि उनीहरुले गुमाउँदैछन् । त्यसैले यो चाडमा मोबाइलको सकेसम्म कम प्रयोग गरौँ, जिम्मेवार बनौँ र परिवारसँग खुसी बाँड्ने कोसिस गरौँ । किनकि दशैँ खुसी बाँड्ने चाड हो ।

दशैँलाई विजया दशमी पनि भनिन्छ । यसो भनिनुका विविध धार्मिक कारणहरु हामीले सुने–जानेकै हो । अहिलेको परिवेशमा मेरो विचारमा दशैँलाई विजयादशमी भनिनुका पछाडि निम्न दश कारण रहेको हुनुपर्छ –
१. व्यस्ततामाथिको जीत : जतिसुकै व्यस्त भए पनि समयलाई जितेर २–४ दिन फुर्सद निकाल्न सक्ने शक्ति दशैँमा मात्रै प्राप्त हुन्छ ।

२. दरिद्रतामाथिको जीत : हुँदा खानेले पनि मीठो खान पाउनु, राम्रो लाउने अवसर पाउनु दशैँको महत्वपूर्ण पक्ष हो ।
३. रिसराग माथिको जीत : वर्षभरि मनमुटाव भए पनि त्यसलाई अन्त्य गर्दै आफन्तजनसँग मेलमिलाप हुने अवसर दशैँले जुराउँछ ।
४. दुःखपीडामाथिको जीत : दशैँले छोटै समयका लागि भए पनि अनेकन दुःखलाई बिर्साइदिन्छ । त्यसैले यसलाई खुसीको चाड पनि भनिन्छ ।
५. आर्थिक विजय : दशैँ सँगै बजार तथा अन्य क्षेत्रमा चहलपहल बढ्ने भएकाले धेरैको आम्दानी यो बेला बृद्धि हुने गर्छ ।
६. एकताको भावना बृद्धि : परिवारका सदस्यलाई एक सूत्रमा बाँध्नुका साथै सामाजिक एकता बढाउने जस्तै सबै मिलेर पिङ बनाउने, दुर्गा पूजा गर्ने, मेला लगाउने जस्ता कार्यले एकताको भावना बढाउँछ । वर्षौंदेखि छुटेका पुराना साथीभाइसँगको भेटघाट गराउँछ ।
७. संस्कारको जगेर्ना : ठूलालाई आदर र सानालाई माया गर्नुपर्छ भन्ने भावनाको विकास गर्दै आपसी सद्भाव बढाउँछ । साथै, जमरा राख्ने, पूजा आरधना गर्ने जस्ता कार्यले संस्कार सम्झाउने काम गर्छ ।
८. स्वस्थ वातावरण : दशैँसँगै घर रङ्ग्याउने, आँगन सफासुग्घर गर्ने, पोषिलो खाना खाने जस्ता स्वास्थ्य पक्ष जोडिएको हुन्छ ।
९. सकारात्मक उर्जा : मौसम सफा रहने र केही समय फुर्सद हुने भएकाले दैनिक व्यस्तताले भएको मानसिक थकानलाई मेटाउँदै घुम्ने, ट्रेकिङ गर्ने, प्रकृतिसँग रमाउने अवसर मिल्ने भएकाले सकारात्मक उर्जा दिने गर्छ ।
१०. आफूमाथिको जीत : दशैँ रमाइलो मात्रै होइन, यो जिम्मेवारी पनि हो । यसमा छोराछोरी, आमाबुबा सबैको खुसी जोडिएको हुन्छ । आफ्नाको खुसीका निम्ति कतिपय कुरामा हामीले आफ्नो खुसीलाई कम्प्रोमाइज गर्नुपर्छ । यसबेला हामीले अरुलाई होइन, आफूले आफैँलाई जितेका हुन्छौँ ।

दशैँ भन्ने बित्तिकै घरमुलीका लागि भने दशा जत्तिकै हुने गरेको छ । दशैँमा गर्नुपर्ने आर्थिक जोहोले उनीहरुलाई अत्याइरहेको हुन्छ । वर्ष दिनमा आउने यो चाडको महत्व हुने खानेलाई भन्दा बढी हुँदा खानेलाई हुन्छ । वर्षभरि नसके पनि दशैँमा सबैले नयाँ लाऊन्, मिठो खाऊन्, खुसीले रमाऊन् भनेरै हाम्रा पुर्खाहरुले यो चाड मनाउन सुरु गरेको हुनुपर्छ । तर अहिले देखाउनकै लागि भए पनि अरुको भन्दा राम्रो लाउनु पर्ने, टीका लाएर धेरै दक्षिणा दिनुपर्ने, मदिरापान गर्नु-गराउनु पर्ने कुरालाई बाध्यत्मक रुपमा लिँदै दशैँलाई दशा बनाउने गरेको पनि पाइन्छ । आफ्नो आर्थिक अवस्थाको ख्याल नगरी धेरै ऋण गर्ने, मदिरापान गर्ने, जुवातास खेल्ने जस्ता विकृत क्रियाकलापले दशैँको महत्व घटाएको छ । जसका कारण नेपालीको यो महान् चाड अनि संस्कारमाथि चौतर्फी आक्रमण बढेको छ ।

हिजो दुई साता मनाइने दशैँ व्यस्तताले पेलिएर एक सातामा खुम्चिएको छ । यसलाई अझै नखुम्च्याइयोस् । दशैँको महत्व घट्ने काम कोही कसैबाट नगरियोस् ।
सबै जिम्मेवार बनौँ । दशैँलाई हर्षोल्लासपूर्वक मनाऔँ, शुभ दशैँ ।

प्रकाशित मिति : आश्विन १७, २०७९ सोमबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]