जेष्ठ ६, २०८१ आईतबार

मोरङ जिल्लामा दुई सय २६ जनाको उम्मेदवारी कायम

मोरङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि मोरङ जिल्लामा दुई सय २६ जना उम्मेदवारी कायम भएका छन् ।

मोरङ जिल्लामा प्रतिनिधिसभाअन्तर्गत ६ स्थानका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दल एवं स्वतन्त्र गरी एक सय आठजनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभाअन्तर्गत १२ स्थानका लागि एक सय १८ जनाले मनोनयन दर्ता गरेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

जिल्लाको प्रतिनिधिसभाको क्षेत्र नं १ मा नेपाली कांग्रेस नेकपा एमाले, राप्रपा र छजना स्वतन्त्र गरी १५ जनाले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी क्षेत्र नं १ प्रदेश सभा (क) मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र दुई स्वतन्त्र गरी सात र क्षेत्र न १ (ख) मा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र दुई स्वतन्त्र गरी आठजनाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकां नेत्री एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला, नेकपा एमाले, राप्रपा र दुई स्वतन्त्रसमेत १३ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

प्रदेशसभा २(क) मा एमाले, माओवादी केन्द्र, राप्रपा र चार स्वतन्त्र तथा प्रदेशसभा २(ख) मा नेकां, एमाले, राप्रपा र दुई स्वतन्त्र गरी नौजनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।

मोरङ क्षेत्र ३ प्रतिनिधिसभाका लागि एमालेबाट पूर्वमन्त्री भानुभक्त ढकाल, राप्रपाबाट नायिका रेखा थापा, नेकांबाट नोबेल मेडिकल शिक्षण अस्पतालका प्रमुख सुनिल शर्मा चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ । यस क्षेत्रमा ३१ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

प्रदेशसभा ३(क) मा नेकां, एमाले, राप्रपा र एक स्वतन्त्रसहित सात तथा ३(ख) मा एमाले, राप्रपा र छ स्वतन्त्रसहित १५ जनाले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभा ४ मा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकां विपी र सात स्वतन्त्रसहित १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभाको ४(क)मा एमाले, राप्रपा नेकां र एक स्वतन्त्र तथा प्रदेशसभा ४(ख) मा एमाले, नेकां, नेकपा एकीकृत समाजवादी, राप्रपा, जसपा र दुई स्वतन्त्र गरी १० जनाले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं ५ मा माओवादी केन्द्र, राप्रपा, जसपा नेपाल, जनमत पार्टी र आठ स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभा ५(क)मा नेकां, एमाले राप्रपा र दुई स्वतन्त्र गरी छजनाले तथा प्रदेशसभा ५(ख) मा नेकां, जसपा, राप्रपा, जनमत पार्टी र तीन स्वतन्त्र गरी १० जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै मोरङ क्षेत्र ६ मा नेकांका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइराला, नेकपा एमालेबाट पूर्वमन्त्री लालबाबु पण्डित चुनावी प्रतिष्पर्धा हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा अन्य राप्रपा, जनमत पार्टी र तीन स्वतन्त्र गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा क्षेत्र नं ६(क) मा एमाले, माओवादी केन्द्र, नेकां विपी, राप्रपा र पाँच स्वतन्त्र गरी १३ जना तथा क्षेत्र नं ६(ख) मा नेकां, एमाले, नेकपा एकीकृत समाजवादी, जसपा, नेकां विपी र तीन स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गराएका छन् ।

आगामी मङ्सिर ३ गते १८ वर्ष उमेर पुगेकासमेत गरी सात लाख ३५ हजार पाँच सय २५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

प्रकाशित मिति : आश्विन २४, २०७९ सोमबार  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]