बैशाख ७, २०८१ शुक्रबार

स्वदेशमै टिकाउन ‘वेलकम होम’ परियोजना सञ्चालन

झापा – वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परियोजना सञ्चालनमा आएको छ । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालनमा आएको हो । कथा नेपालले आइतबार भद्रपुरमा ‘मिडिया अन्तक्र्रिया’ कार्यक्रमको आयोजना गरी परियोजनाबारे जानकारी दिएको छ । कथा नेपालका नेशनल को–अर्डिनेटर ताराप्रसाद बडहरियाले विदेशबाट दुःख पाएर फर्किका, ज्ञान–सीप लिएर आएकालाई आर्थिक एकीकरण सहयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा आएको बताउनुभयो ।

परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउनेलगायतका क्रियाकलाप गरिने जनाइएको छ । उहाँले भन्नुभयो, “श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान गर्ने कार्ययोजना छ, विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ । आवश्यक तालिम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्ने काम गर्छौं ।”

कार्यक्रममा पौरखी नेपालकी मञ्जु गुरुङले विदेशबाट फर्किंदा घरपरिवार र सम्पत्ति दुवै नरहने कतिपय टिठलाग्दो अवस्था रहेको बताउनुभयो । “अझ विदेश गएरका र फर्किएका महिला बढी समस्यामा छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई सम्मानका साथ समाजमा स्थापित गर्ने काम गरिरहेका छौँ ।” रोजगारीको खोजीमा नेपाली जनशक्ति विदेशिरहेको अवस्था एकतातिर छ भने स्वदेशमा श्रमशक्ति अभाव हुँदा छिमेकी मुलुकबाट धेरैले काम गरिरहेको अवस्था छ । उनीहरुलाई आवश्यक तालिम, परामर्श दिने र स्वदेशमै टिकाउने सोचका साथ परियोजना अघि बढाइएको जनाइएको छ ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भद्रपुर नगर क्षेत्रबाट करिब पाँच हजार वैदेशिक रोजगारीमा गएको बताउनुभयो । “त्यति नै मान्छे विदेशबाट फर्किएका छन्”, नगर प्रमुख पोखरेलले भन्नुभयो, “वैदेशिक रोजगारीका क्षेत्रमा धेरै समस्या छन्, पालिकास्तरबाटै हामी काम गर्ने सोचमा छौँ ।” नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका र जानेका लागि वित्तीय साक्षरता, परामर्श, उद्यमशीलतालगायतको काम गर्दै आएको र केही उपलब्धिसमेत हासिल भएको नगर प्रमुख पोखरेलले बताउनुभयो ।

यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वैदेशिक रोजगारलाई एउटा अवसरका रुपमा हेरिनुपर्नेमा अनिवार्यजस्तै बनेको बताउनुभयो । “निर्वाहमुखी कृषि र वैदेशिक रोजगारीले अर्थतन्त्र धानेको छ”, उहाँले भन्नुभयो, “यसले गरिबी निवारणमा केही हदसम्म काम गरे पनि दीर्घकालीन फाइदा गर्दैन ।”

दैनिक दुई हजार तीन सयनेपाली विदेशिइरहेको र तीनदेखि पाँचको शव नेपाल भित्रिरहेको टिठलाग्दो अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । यस्तो अवस्था अन्त्यका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भद्रपुर नगरपालिकार्की उपप्रमुख राधा कार्कीले विदेश नगई हुने अवस्था रहेकाले सोको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । “सबैको सहयोग र प्रयासबाट मात्र सम्भव छ”, उहाँले भन्नुभयो, “हामी आफैँले केही गर्नुपर्ने बेला आएको छ । वेलकम होम परियोजना जिल्लाभर सञ्चालनमा आइसकेको कथा नेपालले जनाएको छ । कार्यक्रमको सञ्चालन कृति राई गर्नुभएको थियो भने समापन कथा नेपालकी प्रतिनिधि सिवानी भट्टराईले गर्नुभएको थियो ।

प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]