बिर्तामोडमा ‘झापा उत्सव-२०७९’ को भव्य तयारी
बिर्तामोड । झापाको बिर्तामोडमा झापा उत्सव-२०७९ को भव्य तयारी गरिएको छ । झापा फुटबल क्लबको आयोजनामा बिर्तामोडस्थित डोमालाल रंगशालामा यही कात्तिक ४ र ५ गते ‘झापा उत्सव–२०७९’ हुने भएको हो ।
सांगीतिक कार्यक्रम झापा उत्सवमा स्थानीयसँगै राष्ट्रिय स्तरका कलाकारले झापाबासीलाई मनोरञ्जन प्रदान गर्ने झापा फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । उनका अनुसार क्लवलाई सहयोग संकलन र आम नागरिकलाई मनोरञ्जन प्रदान गर्न उत्सवको आयोजना गरिएको हो ।

झापाबासीलाई सांगीतिक कार्यक्रममा रमाउने वातावरण बनाउनुका साथै सी डिभिजन खेलेर बी डिभिजनमा पुगेको क्लबलाई ए डिभिजनका लागि खेल खेल्न आवश्यक रकम जुटाउन समेत महोत्सव आयोजना गर्न उनको भनाई छ ।
सो उत्सवमा कालीप्रसाद बाँस्कोटा, डोङ, एकदेव लिम्बू, अस्मिता अधिकारी, सुमन कार्की, अमर–अमृतसँगै स्थानीय कालाकारले समेत प्रस्तुति दिने छन् । दिउँसो २ बजेदेखि ४ बजेसम्म स्थानीय कलाकार र त्यस पछि राष्ट्रिय कलाकारको प्रस्तुति रहने महोत्सवका सहकार्यकर्ता पेरिलिङ्कन सर्भिसका दीपेश घलेले जानकारी दिए ।
सांगीतिक कार्यक्रम हेर्न चाहनेका लागि एक हजार रुपैयाँ दरको टिकट कायम गरिएको छ । जसबाट दुई दिन नै कार्यक्रम हेर्न सकिने छ ।