बैशाख २०, २०८१ बिहीबार

मनाइयो कुकुर तिहार

बिर्तामोड । यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ ।

तिथिको घटबढका कारण धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्ने पर्व पनि आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । आज साँझ दीपावली गरी लक्ष्मी पूजाको तयारी भइरहेको छ । नेपालीको दोस्रो ठूलो चाड तिहार यस वर्ष शनिबारदेखि सुरु भएको हो । यमपञ्चकको पहिलो दिन शनिबार नयाँ भाँडा किनी घरमा ल्याई राखेर धनतेरस पर्व मनाइएको थियो । त्यसै साँझदेखि यम दीपदान पनि सुरु भएको छ । दोस्रो दिन आइतबार सन्देशवाहकका रुपमा कागको पूजासहित मीठा खानेकुरा खान दिई मनाइएको छ ।

आयुर्वेदका प्रवर्तक धनवन्तरी जयन्ती पनि यसै दिन मनाइएको थियो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन देशभर तिहार अर्थात् यमपञ्चक पर्व मनाइन्छ । चौथो दिन मङ्गलबार गाई पूजा गरिँदै छ । यस दिन ग्रस्तास्त खण्डग्रास सूर्य ग्रहण पनि परेको समितिले जनाएको छ । पाँचौँ दिन गोवद्र्धन पूजा, हलितिहार, बलीपूजा, गोरुपूजा पर्व परेको छ । तिथिले पाँचौँ परे पनि दिन अनुसार छैटौँ कात्तिक १० गते बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि तिहार पर्व समापन हुन्छ । भाइटीकाको साइत ११ः३७ बजे उत्तम रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : कार्तिक ७, २०७९ सोमबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]