जेष्ठ ४, २०८१ शुक्रबार

ग्रस्तास्त खण्डग्रास : भद्रपुरबाट २१ मिनेट अवलोकन गर्न सकिने

बिर्तामोड । कार्तिक कृष्ण औँसीका दिन आज लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ ।

सोसाइटीले काठमाडौँ, मोरङ र उदयपुरबाट पनि ग्रहण देखाउने कार्यक्रम रहेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । नाङ्गो आँखाले ग्रहण हेर्न नहुने भएकाले विशेष प्रकारको चस्मा वा यन्त्रबाट मात्र हेर्न पनि उहाँले अनुरोध गर्नुभयो । खाली आँखाले हेर्दा आँखामा समस्या हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको सोसाइाटीले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज दिउँसो ४ : ५२ बजे सूर्य ग्रहणले स्पर्श गर्ने जनाएको छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ : २४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उहाँले सुनाउनुभयो । नेपालबाट नदेखिने भएपनि ग्रहणले बेलुकी करिब पौने सात बजे छोड्ने छ ।

शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ : ५२ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक उहाँले बताउनुभयो । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नुहुन्छ ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । यसै विश्वास अनुसार कात्तिक ८ गते बिहान ४ : ५२ बजेदेखि भोजन गर्नु हुँदैन । “शास्त्रीय मान्यता अनुसार भोजन निषेध गरिएपनि वैज्ञानिक आधारमा ग्रहणका समयमा भोजन गर्दा कुनै समस्या छैन”, अध्यक्ष भट्टराइ भन्नुहुन्छ ।

ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहणमा निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।

यता, सूर्य ग्रहण आइसल्याण्डबाट सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

आइसल्याण्डको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको हो । भारतमा स्थानीय समयअनुसार ४ बजेर २९ मिनेटमा सुरु हुनेछ भने नेपालमा ४ बजेर ४७ मिनेटमा देखिनेछ ।

काठमाडौंमा ४ः५४ मिनेटमा देखिनेछ। यस्तै पोखरामा ४ : ५१मा, भद्रपुरमा ४ः५८,जनकपुरमा ४ः५८,महेन्द्रनगरमा ४ः४७ बजे सूर्य ग्रहण देखिने वीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलय विकास समितिले जनाएको छ।

काठमाडौंबाट ३६ मिनेट, पोखराबाट ४२ मिनेट, भद्रपुरबाट २१ मिनेट, जनकपुरबाट ३२ मिनेट र महेन्द्रनगरबाट एक घण्टा २ मिनेटसम्म अवलोकन गर्न सकिने छ।

नेपालबाट सूर्यास्तको समयमा सूर्य क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न सकिदैन।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्य ग्रहण हुन जान्छ।

प्रकाशित मिति : कार्तिक ८, २०७९ मंगलबार  ४ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]