जेष्ठ १९, २०८१ शनिबार

भाइटीका आज दिनभर नै लगाउन सकिने

काठमाण्डौ – तिहारको मुख्य दिन आज भाइटीका मनाईँदैछ ।

भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् ।

भाइटीकाको मुख्य साइत ११ बजेर ३७ मिनेटमा भएपनि आज दिनैभरी टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

साइतमा लगाउनेहरु यतिबेला टीका लगाउन व्यस्त छन् । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परानुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनिएपछि शास्त्रीय मान्यता भने रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको समितिका पूर्व अध्यक्ष प्रा.डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवम् सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

यसैबीच काठमाण्डौको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ टीका लगाउन पुगेका छन् । बालगोपालेश्वर मन्दिरमा भिडभाड छ ।

प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार  १२ : ५९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]