जेष्ठ ६, २०८१ आईतबार

झापामा छठ पर्वलाई कोभिडपछिकै भव्य बनाउने तयारी

बिर्तामोड । झापामा यो वर्ष छठ पर्व भव्य रुपमा मनाउने तयारी गरिएको छ । जिल्लाका सबै नदीमा धमाधम घाट निर्माण भइरहेका छन् । यस वर्ष कात्तिक १३ गते बेलुकी अस्ताउँदो र कात्तिक १४ गते बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइने कार्यक्रम रहेको छ । छठ बर्तालु भने कार्तिक शुक्ल षष्ठीका दिन रातभर नदी किनारमै बस्छन् । नदी किनार एवं तलाउमा सूर्यका भजन एवं भक्ति सङ्गीतले वातावरण रमाइलो बनाउँछ ।

कोरोना महामारीले दुई वर्ष छठ पर्व मनाइएको थिएन । गत वर्ष पनि कोभिड प्रभावका कारण सामान्य रुपमा मनाइएको छठ यो वर्ष भने भव्य रुपमा मनाउने तयारी गरिएको छ । छठ समाज सेवा समिति बिर्तामोडका महासचिव मनोज रौनियारले यो वर्ष कोभिडपछिकै भव्य छठ पर्व मनाइने बताएका छन् । उनले यसअघि ०७६ र ०७७ मा नदी किनारमा छठ पर्व नमनाएको जानकारी दिए । ०७८ मा पनि कोभिडको प्रभावले सामान्य रुपमा मनाइएको उनको भनाई छ । महासचिव रौनियार भन्छन्, कोभिडको बेला घरका छतहरुमा पर्व मनाइएको थियो । स्वास्थ्य मापदण्ड पालना गर्दै विगतका केही वर्ष छठ मनाइएको उनको भनाई छ ।

झापाको रतुवा, कनकाई, विरिङ, निन्दा र मेची खोला भद्रपुरमा भव्य रुपमा छठ पर्व मनाइने गरिएको छ । भद्रपुर र विरिङमा जिल्लाकै भव्य तरिकाले छठ मनाउने गरिएको छ । उक्त स्थानमा हजारौंले अवलोकन गर्दै आएका छन् । विरिङमा मात्रै यो वर्षका लागि ४ सयभन्दा बढी घाट निर्माण गरिएको छ ।

छठ समाज सेवा समितिका अनुसार सबै नदी किनारमा अहिले घाट निर्माणसँगै सिङ्गार्ने काम चलिरहेको छ । छठ पर्वका कारण नदीहरु केही दिन सुन्दर देखिन्छन् ।

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष कात्तिक शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्नेहरू स्नान गरेर उपवास बसी आत्मशुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी र पोखरीको घाटमा व्रतालुहरूले स्नान गरी बेलुकाको समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अर्घ दिन्छन् ।

व्रतालु भक्तजनहरू राती धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धिको धेरै विचार गर्नुपर्ने भएकाले कहीं कतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने धर्मावलम्बीहरूको विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले व्रतालुहरूले मात्र नभई सम्पूर्ण परिवारले नै यसलाई कडाइका साथ पालना गर्छ ।

रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । विहानीमा सूर्यको न्यानो किरणसँगै ब्रतालुहरूले अञ्जुलीमा पानी भरि जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।

प्रकाशित मिति : कार्तिक १२, २०७९ शनिबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]