बैशाख १२, २०८१ बुधबार

दिउँसो ज्याला मजदुरी, राति अध्ययन

विराटनगर । विराटनगर–२ मा रहेको श्री विराट महेन्द्र रात्रि माध्यमिक विद्यालयमा सम्भ्रान्त परिवारका विद्यार्थी अध्ययन गर्दैनन् । दिउँसो ज्याला मजदुरी गरेर पेट पाल्ने, घरमा घरेलु कामदारको रूपमा काम गर्ने र उद्योगमा मजदुरको रूपमा काम गर्नेहरू नै यस विद्यालयका विद्यार्थी हुन् । विद्यालयमा साँझ पाँच बजेदेखि रातिको नौ बजेसम्म पठन पाठन हुने गरेको छ ।

कक्षा पाँचदेखि १० सम्म पढाइ हुने योे रात्रि विद्यालयमा अधिकांश विद्यार्थी १६ वर्षदेखि माथि ५५ वर्षसम्मका छन् । चौहत्तर जना विद्यार्थी रहेको यो विद्यालयमा ४६ वर्षीया रीना लिम्बू कक्षा १० अध्ययनरत हुनुहुन्छ ।

लिम्बूका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा कतारमा हुनुहुन्छ । लिम्बूले दिउँसो सानोतिनो काम गर्नु हुन्छ भने छोराछोरीको स्याहार सुसार गर्नुपर्ने बाध्यता पनि छ । विराटनगर–४ खारजी बस्ने लिम्बूको पढ्ने सोखमा भने कुनै कमी आएन । सङ्खुवासभाको चैनपुरबाट विवाह भई २०५२ सालमा बसाइँ सराइ गरी विराटनगर आएपछि लिम्बूले अध्ययनलाई अगाडि बढाउन पाउनु भएन ।

तर दुई वर्षअघि लिम्बूलाई पुनः पढ्ने रहर चढ्यो र यस रात्रि विद्यालयमा कक्षा ८ मा भर्ना हुनुभयो । लिम्बुले उच्च शिक्षा हासिल गर्ने मन बनाउनुभएको छ ।

रात्रि विद्यालयमा कतिपयले भर्ना लिएपनि विभिन्न समस्या र बाध्यताका कारण बीचैमा अध्ययन छाड्ने गरेको विद्यालयकी प्राचार्य दुर्गा निरौलाले बताउनुभयो । उहाँका अनुसार फुर्सत पाएपछि श्रमिक महिला र पुरूषहरू रातको समयमा विद्यालयमा पढ्न आउने गर्छन् । रात्रि विद्यालयमा पढेका विद्यार्थी कोही सरकारी कर्मचारी भएको र कोही सशस्त्र प्रहरीमा भर्ना भई कैयौँका लागि प्रेरणाको स्रोत बनेको प्राचार्य निरौलाले बताउनुभयो ।

रात्रि विद्यालयका समस्या पनि प्रशस्तै छन् । विद्यालयमा चौकीदारको व्यवस्था नहुँदा रातको समयमा असामाजिक तत्वले बाधा पु¥याउने खतरा उत्तिकै छ । एक त विद्यालयमा बत्ती पुगेको छैन, त्यसमाथि भएको इन्भर्टर पनि बिग्रिँदा विद्युत् अवरोध भए असमयमा नै विदा दिनु पर्ने अवस्था छ । विद्यालयसँग आफ्नै सवारी साधन नहुँदा महिला विद्यार्थी र शिक्षक कर्मचारीलाई रातको समयमा रात्रि विद्यालय आउजाउ गर्न सकस छ ।

सहायक प्राचार्य खुशीराज गौतमले दिउँसो कामको कारण पढ्न नपाएकाहरूका लागि विद्यालयले रातको समयमा पढ्ने अवसर जुराइदिएको बताउनुभयो । खाने मुखलाई जुँगाले छेक्न सक्दैन भने झैँ इच्छा भए रातको समयमा पनि विद्या प्रदान गर्न यो विद्यालय २०१५ सालदेखि अडिग छ ।

प्रकाशित मिति : कार्तिक १६, २०७९ बुधबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]