बैशाख ३०, २०८१ आईतबार

कर्मचारीलाई तलव खुवाउन नसक्ने गठबन्धन सरकारले देश बनाउन सक्दैन : एलपी साँवा

कनकाई – नेकपा एमाले झापा निर्वाचन क्षेत्र नं.४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार एल.पी.साँवा लिम्बूले कर्मचारीलाई तलब खुवाउन नसक्ने गठबन्धन सरकारसँग जोडिएका उम्मेदवारले देश बनाउन नसक्ने दाबी गर्नुभएको छ । प्रतिनिधि सभाका निवर्तमान सदस्य समेत रहेका एमाले नेता साँवाले चुनावी घरदैलो अभियानका क्रममा कनकाई—७ स्थित दुर्गापुर बजारमा भएको कोण सभालाई सम्बोधन गर्दै देश विकास र दिगो शान्तिका लागि एमालेको सरकार नै जरुरी रहेको बताउनुभयो ।

गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई दिने तलबसम्म सरकारसँग नभएको भनिरहँदा उहाँहरूबाट देश विकास हुन्छ भनेर कसरी विश्वास गर्ने भन्दै उम्मेदवार साँवाले उपस्थित जनसमुदायलाई प्रतिप्रश्न गर्नुभएको थियो । एमाले सकारकामा रहुन्जेल देशमा तरलता नभएको भन्दै साँवाले गठबन्धनले देश चलाउन थालेपछि बजारमा हरेक चिजको महँगी बढेर जनताको ढाड सेकेको बताउनुभयो ।

गठबन्धनको सरकारले नेतृत्व गरेको १६ महिना नबित्दै देशको अर्थव्यवस्थामा गिरावट आएपछि कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था सिर्जना गराउने प्रधानमन्त्रीसँग जोडिएका उम्मेदवारले कसरी देश बनाउँछन् भन्ने सवालमा मसिनो गरी अध्ययन गर्न एमाले नेता साँवाले सर्वसाधारणलाई अपिल गर्नुभएको छ ।

समृद्धिको यात्रामा कुनै मतलब नराख्ने गठबन्धनको सरकारले १८ महिना अघि ९६ रुपैयाँ भएको पेट्रोलको मूल्य हाल १८२ बनाएर जनतालाई धोका दिएको उहाँले बताउनुभयो । गठबन्धनले समृद्धिको यात्रामा कुनै मतलब नराखी मुलुकलाई खोक्रो बनाएको बताउँदै साँवाले महँगीको मारबाट मुक्त हुनका लागि जनताले एमालेलाई नै भोट दिनु पर्ने बताउनुभएको छ । एमालेले समृद्धि चाहेको बताउँदै उम्मेदवार साँवाले एमाले मात्रै देश विकास गर्ने इच्छा शक्ति बोकेको पार्टी भएको बताउनुभयो ।

चुनावी घर दैलोका क्रममा उहाँले एमालेको सरकारले छोटो समयमा देशमा महत्त्वपूर्ण काम गरेको बताउँदै गठबन्धनको सरकारले पुरानो कामको निरन्तरता रोकेको साथै योजनामा परेका विकासका धेरै कामहरू कटौती गरेको जानकारी गराउनुभयो ।

गठबन्धनको सरकाले नेतृत्व गरे यता पूर्वाधार विकासको क्षेत्रमा सिन्को पनि नभाँचिएको भन्दै साँवाले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला धरहरा, रानी पोखरी, गौतबुद्ध विमान स्थल, पोखरामा अन्तर्राष्ट्रिय स्तरको विमान स्थल, हुलाकी राजमार्गलगायत देशका लागि मुहार फेर्ने कामको सुरुवात गरेको जानकारी गराउनुभयो । जनता आवास कार्यक्रम मार्फत प्रत्येक स्थानीय तहका सुकुम्वासीलाई घर निर्माण गरेर घरबार विहीनहरूको बसोबासको व्यवस्थापन भएको साँवाको भनाई थियो ।

एमालेको सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत निःशुल्क उपचारको थालनी गरेको बताउँदै उम्मेदवार साँवाले भन्नुभयो, “भौतिक पूर्वाधार विकास, नदी तटबन्धन, सिँचाई, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका क्षेत्रमा एमाले सरकारमा हुँदा ल्याएका धेरै योजनाहरु गठबन्धनको सरकारले निरन्तरता दिएन ।” सुखी नेपाली समृद्ध नेपालका लागि एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा अघि बढेका सबै कार्ययोजना अब एमालेको सरकार आएपछि मात्रै पुरा हुनेमा विश्वस्त रहन साँवाले जोड दिनुभयो ।

वडास्तरीय निर्वाचन परिचालन कमिटीका संयोजक लीलाबहादुर कन्दङ्वाको अध्यक्षतामा भएको कोणसभामा राप्रपाका केन्द्रीय प्रवक्ता एवं झापा क्षेत्र नं.४(ख)का प्रदेश सभा सदस्यका उम्मेदवार भक्तिप्रसाद सिटौलाले समेत सम्बोधन गर्नुभएको थियो । राप्रपा नेता सिटौलाले नेपाली जनताको शिर उठाउने कार्यको नेतृत्वमा रहेका केपी ओलीको राष्ट्रवादी सोचमाथि प्रहार भएको भन्दै नेपालीको स्वाभिमानलाई जोगाउन समेत देशले केपी ओलीको नेतृत्व चाहेको बताउनुभयो ।

एमसीसी राष्ट्रघाती निर्णय भएको भन्दै राप्रपा नेता सिटौलाले गठबन्धनको सरकारले नेपाली जनतामाथि खेलबाड गरेको बताउँदै अबको मंसिर ४ गते हुने निर्वाचनमा जनताले यसको बदला लिने दाबी गर्नुभयो । आफू निर्वाचित भएपछि जनताको मन कहिल्यै अमिलो बनाउन नदिने भन्दै राप्रपा नेता सिटौलाले प्रदेश मार्फत केन्द्रीय सरकारसँग जोडेर आफू निर्वाचित भएको क्षेत्रमा विकासको मूल फुटाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]