बैशाख १२, २०८१ बुधबार

चाडपर्वमा मुल्य नबढाउन आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर कुनै पनि उपभोग्य वस्तुको मुल्य वृद्घि नगर्न तथा बजारमा कृत्रिम अभाव नदेखाउन नगरका उद्योगी व्यवसायीहरुसँग आग्रह गरेका छन् ।

अन्य दिनको तुलनामा चाडपर्वमा खाद्य वस्तुसहित लत्ता कपडा, माछा मासुको माग बढ्ने भएको हुँदा माग बढेसँगै मुल्य बढ्ने भएकाले त्यसो नगर्न उनको भनाई छ । मंगलबार नगरपालिका सभाकक्षमा नगरका विभिन्न उद्योगी व्यवसायी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीसहितको भेलामा उनले सर्वसुलभ मुल्यमा गुणस्तरीय खाद्य वस्तु नगरवासीलाई उपलब्ध गराउन व्यवसायीलाई सुझाव दिए ।

नगरपालिका क्षेत्र भित्रका बजार व्यवस्थापन, माछा मासुजन्य वस्तुको विक्रीवितरण व्यवस्थापन एवम् उपभोग व्यवस्थापन सम्बन्धि अन्तरक्रियामा नगरप्रमुख आचार्यले यदि कुनै व्यपारीले आफु खुशी उपभोग्य वस्तुको मुल्य बृद्घि गरे वा बजारमा कृत्रिम अभाव देखाए कानुन बमोजिम कारवाही हुने हुँदा त्यसतर्फ सचेत हुन पनि आग्रह गरेका छन् । अब स्थानीय सरकार कानुन कार्यान्वयतर्फ सक्रिय रहेकाले कसैले कानुन उल्लंघन गरे सजायको भागीदार हुने उनको भनाई छ । कालोवजारी सिर्जना गरेर कुनै उद्योगी व्यवसायीले अतिरिक्त लाभ लिन खोजे त्यसको परिणाम नकरात्मक आउने बताइएको छ । उनले भारतबाट मासु तथा मासुजन्य वस्तुको आयातमा नेपाल सरकारले रोक लगाएका कारण त्यसको आयात शुन्यमा झार्न स्थानीय प्रहरी ,प्रशासन, व्यवसायी सवै एक भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले अब हरेक कुरामा परनिर्भर हुनुभन्दा स्वदेशी उत्पादनमा जोड दिदैं नेपाली वस्तुमा नै आत्मनिर्भर हुन समेत नगरवासीलाई आग्रह गरेका छन् । अब हरेक नागरिक स्वदेशी उत्पादनमा लाग्नुपर्ने भन्दैं त्यस व्यवसायी र कृषकलाई स्थानीय सरकारको हैसियतले पहिलो प्राथमिकतामा जस्तोसुकै सुविधा उपलब्ध गराउने नगरप्रमुख आचार्यले प्रतिवद्घता व्यक्त गरेका छन् । उनले कृषक तथा व्यवसायीहरुलाई आफ्नो व्यवसायप्रति कुनै समस्या भए समाधानका लागि नगरपालिका सकारात्मक रहेको बताए ।

तर जताभावी मुल्य वृद्घि गरेर उपभोक्ताको ढाड सेक्ने काम कसैले गरे स्थानीय सरकारलाई सैय नहुँने बताए । चाडपर्व सकिए लगत्तै नगरपालिकाक्षेत्रमा जताभावी रुपमा माछा मासुको विक्री वितरण रोक्ने बताउँदै नगरप्रमुख आचार्यले आफ्ना पसलहरु व्यवस्थित, सफा सुग्घर, जाली लगाएको हुनुपर्ने बधशाला समेत व्यवस्थित हुनुपर्नेमा जोड दिए ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले चाडपर्वको मौका छोपेर कारोवारीहरुले सर्वसाधारणलाई ठग्ने प्रवृत्ति बढ्ने हुँदा यसलाई निरुत्साहित पार्न स्थानीय सरकारले बजार अनुगमनलाई तीव्र पारेको जानकारी गराए । उपप्रमुख उप्रेतीले चाडपर्वका बखत खरीदकर्ताको भीडभाड निक्कै ठूलो हुने भएकाले कारोवारीले हरेक वस्तुमा आफुखुशी मुल्य बृद्घि गर्ने परम्पराको अन्त्य गर्न पनि यस्ता बेलामा अनुगमन बाक्लो हुने गरेको जानकारी दिए ।

‘नेपालीका चाडपर्व नजिकिँदै गर्दा बजारमा लत्ता कपडादेखि खाद्यन्नलगायत प्रायः सवै सामानको माग बढ्छ ’ उपप्रमुख उप्रेतीले भन्नुभयो —‘बजारमा माग बढ्न थालेपछि व्यवसायीहरुले पनि मन खुशी ती दैनिक उपभोग्य वस्तुमा मुल्य बृद्घि गरेसँगै हरेकका भान्सा महंगो हुने गर्दछ । उपभोक्ता समेत यस्तोे अवस्थामा खुलेर बोल्न सक्दैनन् । अहिले जिल्लाका हरेक पालिकाहरुले बजार अनुगमनलाई तीव्र पारीरहेका छन् । ’ मेचीनगरको अधिकांश व्यवसायीहरुले आफ्ना व्यवसायिक प्रमाण पत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अद्यवाधिक समेत नगरेको फेला परेको उनको भनाई छ ।

बजार अनुगमन अनुगमका क्रममा धेरै व्यवसायीहरुले आफ्ना प्रमाण पत्र चुस्त दुस्त नराखेको फेला पारेपछि पहिलो पटक स्थानीय सरकारको हैसियतले उनीहरुलाई सम्झाई बुझाई सवै प्रमाण पत्र अद्यवाधिक गर्न निर्देशन दिएको उनको प्रष्टोक्ति छ ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिनाले हरेक उद्योगी व्यवसायीहरुले आफ्ना फर्महरु सम्बन्धित कार्यालयमा दर्ता गर्नु पहिलो प्राथमिकता रहेको बताएका छन् । यदि आफ्ना व्यवसायकि संघ संस्थामा व्यवसाय दर्ता गरे साह्रो गाह्रो परेका बखत तथा आफ्नो हक, हित र व्यवसायिक सुरक्षामा सहयोग पुग्ने उनको भनाई थियो ।

कसैले पनि मानव शरीरमा असर पुग्ने कुनै पनि वस्तु विक्री वितरण गर्न नहुने भनाई छ । कसैले कानुन उल्लंघन गरे कारवाही भोग्नुपर्ने अध्यक्ष तिम्सिनाको भनाई छ । संघका सचिव रविचन्द्र नेपालले अब प्रत्ये कवडाले आफ्ना वडामा रहेका उद्योगी व्यवसायीहरुको लगत राख्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीहरुले विविध कारणले आफुहरु आफ्ना वस्तुको मुल्य बृद्घि गर्न बााध्य भएको दुःखेसो पोखेका थिए ।

भारतबाट अवैधरुपमा आयात हुने मासु तथा मासुजन्य वस्तुका कारण नेपाली व्यवसायको पेशा संकटमा परेको, भारतीय कुखुरा तथा मासुसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण आफुहरले मुल्य बृद्घि गर्नु परेको धारणा राखेका थिए । नेपालमा उत्पादन गरिएका कुखुराको तुलनामा भारतीय कुखुरा सस्तो पर्ने भएकाले उपभोक्ताले समेत त्यस्तै खोज्ने हुँदा नेपाली कुखुरा व्यवसायी मारमा परेको उनीहरुको भनाई थियो । उद्योग वाणिज्य संघमा पदाधिकारी चयन गर्दा वस्तुगतक्षेत्रबाट नपरेको तथा सार्वजनिक जगामा बसेर व्यवसाय सञ्चालन गरेकै कारण फम दर्ता गर्न नसकिएको भनाई सहभागीहरुको थियो ।

समग्रमा सहभागि व्यवसायीहरुले चाडपर्वका बखत अहिलेकै मुल्यलाई स्थिर राख्ने तर्फ सकारात्मक रहेको धारणा राखेका थिए । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक भुवनबाबु खड्का, सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेतीले कानुनले बन्देज गरेका हरेक गतिविधिको नियन्त्रण गर्नु आफ्नो पहिलो कर्तव्य रहेको र त्यसतर्फ प्रहरी प्रशासन सक्रिय भएपनि स्थानीयवासी, नगरपालिका, व्यवसायीहरुको साथ सहयोग अपरिहार्य रहेको बताए ।

प्रकाशित मिति : आश्विन ७, २०७६ मंगलबार  ८ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]