बैशाख ३०, २०८१ आईतबार

वर्षाअघि खाल्डाखुल्डी पुर्न लगाउँछौं : विव्यस

भद्रपुर । झापा जिल्लामा आगामी मनसुन वर्षा र सो बाट उत्पन्न हुन सक्ने बाढी तथा डुवान र कटान जस्ता असरहरुलाई न्यूनिकरण गर्न तयारी बैठक बसेको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति झापाको मनसुन पूर्व तयारी बैठक सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी माधव पोखरेलले जानकारी दिए ।
बैठकले विपद् व्यवस्थापनसँग सरोकार राख्ने सबै निकायहरुलाई विपद्बाट हुन सक्ने सम्भावित हानी नोक्सानी तथा क्षतिलाई कम गर्न विपद् आउने समय पूर्व नै तयारी हालतमा बस्ने र विपद्को समयमा सबै निकायविच समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । विपद्का समयमा आआफ्नो क्लष्टरको जिम्मेवारी र भूमिका एकआपसी समन्वयमा गर्नुपर्ने विपद् व्यवस्थापन कानुनमा उल्लेख छ । बैठकले बाढी र डुवानबाट प्रभावित हुने झापाका दक्षिणी गाउँपालिका र नगरपालिकाका विभिन्न संकटासन्न स्थानको पहिचान तथा जनसंख्याको लगत अद्यावधिक गरि जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउन तथा त्रिपाल तथा खाद्यान्न लगायत राहत तथा उद्दार सामाग्री, स्थानीय विपद् व्यवस्थापन कोष र सो को परिचालन, स्थानीय विपद् व्यवस्थापन समितिको सकृयताको अवस्था लगायत स्थानीय तहको विपद प्रतिकार्य योजना लगायतको विवरण तीन दिन भित्र तयार गरि जिल्लास्तरिय समितिमा पठाउन सबै स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरेको छ ।
विपद्को समयमा सबै सुरक्षा निकायले द्रुत ढंगले खोजि तथा उद्दारको काम गर्ने, विकास निर्माणसँग सम्वन्धित निकायहरुले आवश्यक पर्ने डोजर, क्रेन स्काभेटर लगायतका मेशिनरी औजार र दमकल एम्वुलेन्स चालू हालतमा राख्ने, महामारी फैलन नदिन जनस्वास्थ्य तथा अस्पतालका स्वास्थ्यकर्मीहरु तत्काल परिचालन हुन तयारी हालतमा बस्ने, लामो विदामा स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरु नछोड्नका लागि सम्वन्धित निकायमा लेखि पठाउने निर्णय गरेको छ ।
विकास निर्माणसँग सम्वन्धित निकायहरुले हाल निर्माण भइरहेका सडकका आसपास रहेका खाल्डाहरुमा पानी भरिइ सो बाट वर्षातको समयमा यातायात आवागमनमा कठिनाइ हुने र वालवालिका तथा पैदल यात्रु तथा साना सवारी साधनहरु उक्त खाल्डामा परि दुर्घटनाबाट जनधनको क्षति हुने भएकोले सडक निर्माणका क्रममा खनिएका खाल्डाहरु वर्षातको समय अगावै पुर्ने व्यवस्था मिलाउन सम्वन्धित निर्माण व्यवसायीलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।
बैठकले जँगली हात्ती पीडितहरुलाई अन्तरिम राहतका लागि पठाइएको रकम समयमा प्राप्त गर्न नसकिएकोले सो को नीतिगत व्यवस्थापन र सरलिकरणका लागि केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका स्थानीय तहका प्रमुख, सरोकारवाला निकाय, रेडक्रस लगायत जिल्लाका राजनीतिक दलका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]