जेष्ठ २८, २०८२ मंगलबार

सीमा सुरक्षा बैठक सम्पन्न

विराटनगर । आसन्न निर्वाचनका सन्दर्भमा शान्तिसुरक्षाको विषय लिएर नेपाल र भारतबीच सीमा सुरक्षा बैठक आज सम्पन्न भएको छ ।

भारतको अररिया जिल्लाअन्तर्गत जोगबनीको आइसिपीमा सम्पन्न बैठकमा मोरङका प्रमुख जिल्ला अधिकरी काशीराज दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, प्रहरी उपरीक्षक शान्तिराज कोइराला, सशस्त्र प्रहरी उपरीक्षक राजकुमार लामिछाने, राष्ट्रिय अनुन्धानका उपनिर्देशक वासुदेव सिग्देल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईं तथा भारतका तर्फबाट अररियाका डिएम इनायक खानसहित एसपी र सीमाका एसएसपी प्रमुखहरुको सहभागिता रहेको थियो ।

बैठकमा मङ्सिर ४ गते नेपालमा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा अगाडि ७२ घण्टा सीमा बन्द गर्ने, लागुऔषध ओसारपसारमा नियन्त्रण गर्ने, दुवै देशले आपराधिक गतिविधिको सूचना आदानप्रदान गर्ने तथा संयुक्तरुपमा दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा गस्ती गर्ने निर्णय भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

उहाँले सो अवधिमा एम्बुलेन्स आवतजावत गर्न र विवाह भएमा संयुक्तरुपमा समझदारीमा पास दिने निर्णय पनि भएको जानकारी दिनुभयो । बैठकमा भारतको बथनहास्थित मीरगञ्ज पुलका विषयमा पनि चर्चा भएको र सो पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेकाले आगामी महिना पुल सञ्चालनमा ल्याउने परिपत्र आएको जानकारी डिएम खानले दिनुभएको थियो ।

बैठकमा नेपाली पक्षले लागुऔषधको ओसारप्रसार नियन्त्रण तथा रोकथामका विषयमा छलफलमा ल्याएको थियो भने भारतीय पक्षले नेपाली बजारबाट भारत जाने अवैध रक्सी पूर्णरुपमा नियन्त्रण हुनुपर्ने भनाइ राखेको प्रजिअ दाहालले बताउनुभयो ।

प्रकाशित मिति : कार्तिक २६, २०७९ शनिबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]