झापामा मतदानका लागि बुथ तयार
बिर्तामोड । झापामा मंसिर ४ गते हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले सबै तयारी पूरा भएको जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी तुलसी प्रसाद नेपालले शुक्रवार ६० प्रतिशत मतदान केन्द्रमा बुथ निर्माण सम्पन्न भएको जानकारी दिए । उनले निर्माण नभएका ठाउँहरुमा निर्माण सामग्री झारिसकेको र निर्माण कार्य जारी राखेको बताए । उनका अनुसार आज साँझसम्ममा सबै बुथ तयार हुने छन् ।
जिल्लाको ७६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा कर्मचारी, आवश्यक सामग्री र सुरक्षाकर्मीको व्यवस्थापन मिलाइसकेको जानकारी दिए । उनले मतपेटिका, मतपत्र र अनुसूची फारमहरु बुझाइसकेको बताएका छन् । बिहीवार साँझ जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री वितरण गरिएको उनको भनाई छ ।

निर्वाचन अधिकारी नेपालले भोली हुने निर्वाचनमा ढुक्कका साथ मतदानका लागि उपस्थित हुन मतदातालाई आग्रह गरेका छन् । सबै तयारी पुरा गरेका छौं, उनले भने – ‘निर्धक्क भएर मतदान गर्न सहभागी बन्नुहोस् ।’
यस्तै, जिल्लाका ६ वटा मतदान स्थल फेरवदल भएको जानकारी दिए । यसअघि मतदान गरिएको ६ ठाउँ परिवर्तन गरि नयाँ ठाउँमा बनाइएको बताए । बिर्तामोड–४ को पुरानो विजुली अफिसमा हुने गरेको मतदान अब बिर्तामोड नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखाको कार्यालयमा हुनेछ । सो शाखा पुरानो विजुली अफिस कै उत्तर पूर्वमा पर्दछ । अर्जुनधारा १० स्थित सिंहदेवि प्राविको मतदान स्थललाई १० नं. वडा कार्यालयमा सारिएको छ । गौरादह ७ को प्रगति माविको मतदान स्थल वैराती प्राविमा सारिएको छ । गौरादह २ को अमर माविको मतदान स्थल सारेर गौरादह कृषि क्याम्पसमा सारिएको छ ।
यस्तै, बाह्रदशी ६ को हिमाली बाल विकास केन्द्र डाँगीबारीको स्वास्थ्य केन्द्रमा सारिएको छ भने हल्दिवारी १ को भानु आधारभुत विधालयको केन्द्र सरस्वती मावि कोचाटोली सारिएको छ । मतदातालाई नयाँ केन्द्रमा गएर मतदान गर्न नेपालले सूचित गरेका छन् ।
झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाताले मतदान गर्न पाउने छन् । सो संख्यामा महिला पुरुष बाहेक ८ जना अन्य रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् ।