बैशाख १७, २०८१ सोमबार

झापामा गठबन्धन : कांग्रेसबाहेक सबै दल पराजित

मेचीनगर । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको चुनावमा झापामा निल भएको नेपाली कांग्रेसले यसपटक खाता खोलेको छ । ०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा नेकपा (एमाले–माओवादी) र राप्रपाको गठबन्धनले झापा कव्जा गरेको थियो ।

झापा क्षेत्र नं.१ मा राम कार्की, २ मा पवित्रा खरेल, ३ मा राजेन्द्र लिङ्देन, ४ मा एलपी साँवा र ५ मा केपी शर्मा ओली प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । प्रदेशमा पनि गठबन्धनले नै जितेको थियो ।

यसपटक पनि भर्खरै सम्पन्न आम निर्वाचनमा झापामा नेपाली कांग्रेस निल हुनबाट जोगिएको छ भने नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टी निल भएका छन् ।

यहि मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा झापामा कांग्रेसले प्रतिनिधिसभा सदस्यमा एउटा र प्रदेशसभा सदस्यमा २ वटा सिट मात्र हात पारेको छ ।

झापा क्षेत्र नं.१ बाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्यको एकसिट सुरक्षित गरेका छन् । कांग्रेसबाट प्रदेश सभा सदस्यमा झापा–१ बाट गोपाल तामाङ तथा झापा–३ (१) बाट भूमि राजबंशी निर्वाचित भए ।

नेकपा माओवादी केन्द्रले झापाबाट प्रदेशसभा सदस्यमा ४ जना र एकिकृत समाजवादी पार्टी (एस)ले १ जना उम्मेदवार उठाएको थियो ।

माओवादीले झापा–१ मा श्यामबिर लिम्बु, झापा–३ मा पूर्णप्रसाद राजबंशी, झापा–४ मा झलकबहादुर मगर र झापा–५ मा रेवतराज पुरी (गगन) लाई उम्मेदवार बनाएका थिए । ती चारै जना उम्मेदवार पराजित भएका छन् ।

यता एकिकृत समाजवादी पार्टीले झापा–२ (१) बाट पुष्पराज पोखरेललाई उम्मेदवार बनाएको थियो । उनी पनि पराजित भए । सत्ता गठबन्धन दलमा रहेका कांग्रेस बाहेकका यी दलहरुले झापामा एकसिट पनि ल्याउन सकेनन्. ।

झापामा कांग्रेससँग सहकार्य गरेर जित्ने आशामा रहेका माओवादी र एसले एकसिट पनि आफ्नो हातमा नपरेपछि कांग्रेसले धोका दिएको विश्लेशन हुन् थालेको छ । बाम गठबन्धनमा रहेको कांग्रेसले माओवादी र एसका उम्मेदवारलाई मत नदिएको गठबन्धनभित्रै चर्चा सुरु भएको छ ।

कांग्रेसका लागि एकमत पनि तलमाथि नहुने गरी सबै खन्यायौँ । तर, कांग्रेसले ठुलो धोका दिएको माओवादी र एसका नेता तथा कार्यकर्ताहरुले टिप्पणी गरेका छन् ।

यस्तै, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, हाम्रो नेपाली पार्टी, मंगोल नेशनल अग्रनाइजेशन, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका साना दलहरुले पनि एकसिट ल्याउन सकेनन् ।

झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा प्रतिनिधिसभा सदस्य र २ वटा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएको थियो । तीनै वटा सिटमा राप्रपा विजयी भएको छ ।

झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन तथा झापा–१ (२) बाट राप्रपा मेचीनगरकी अध्यक्ष सबिना बजगाई र झापा–४ (२) बाट राप्रपाका प्रवक्ता भक्ति सिटौला निर्वाचित भए ।

नेकपा एमालेले झापा–५ तथा (१ र २), झापा–४ तथा (१), झापा–३ तथा (२), झापा–२ तथा (१ र २) को प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा विजयी भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट प्रतिनिधि सभा सदस्यमा, प्रदेश सभा १ र २ बाट हिक्मत कार्की र होमबहादुर थापा, झापा–४ बाट प्रतिनिधि सभा सदस्यमा एलपी साँवा तथा प्रदेश सभा १ मा राधाकृष्ण खनाल, झापा–३ (२) मा छविलाल चुँडाल, झापा–२ बाट प्रतिनिधि सभामा देवराज घिमिरे तथा (१ र २) मा एकराज कार्की र चिन्तन पाठक विजयी भएका छन् ।

प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार  ९ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]