बैशाख ६, २०८१ बिहीबार

झापामा गठबन्धनभित्र मत काटाकाट

झापा । झापामा दलहरुले प्राप्त गरेको मत समानुपातिक तर्फ र प्रत्यक्ष तर्फ धेरै अन्तर पाइएको छ । प्रत्यक्षमा दिएको मतभन्दा समानुपातिकमा दिएको मतभार धेरै फरक देखिन्छ ।

गठबन्धनका उम्मेदवारहरुले प्रत्यक्ष तर्फ प्राप्त गरेको मत र ति दलहरुले समानुपातिक तर्फ प्राप्त गरेको मतको योगमा व्यापाक अन्तर पाइएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गरे । गठबन्धनमा रहेका दलहरुले समानुपातिक तर्फ ल्याएको मतसँग तालमेल मिल्दैन ।
गठबन्धनले समानुपातिमा ल्याएको मतभन्दा महामन्त्री शर्माले ९ हजार ८३ मत बढि प्राप्त गरेका छन् । समानुपातिक मतलाई हेर्ने हो भने यस क्षेत्रमा महामन्त्री शर्मालाई गठबन्धन इतरका धेरै मतदाताहरुले पनि मत दिएको तथ्याङमा प्रष्ट छ । नेपाली कांग्रेसले समानुपातिमा एक्लै २५ हजार २० मत ल्याएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका हरि कुमार रानामगरले प्रत्यक्ष तर्फ १३ हजार ९ सय ३० मत प्राप्त गरेका थिए । यस क्षेत्रमा गठबन्धनका दलहरुले प्राप्त गरेको समानुपातिक मतको कूल योग २० हजार ६ सय ५ मत हुन्छ ।

नेपाली काङ्ग्रेसको मात्र १५ हजार ४ सय ९८ समानुपातिक मत खसेको छ । उक्त क्षेत्रमा प्र्रत्यक्ष तर्फका साझा उम्मेदवार रानाले कांग्रेस एक्लैले समानुपातिकमा पाएको मतभन्दा १५ सय ६८ मत कम्ति ल्याएका छन् । यस क्षेत्रमा गठबन्धनका दलहरुले प्राप्त गरेको समानुपातिक मतलाई हेरेर प्रत्यक्ष उम्मेदवारको मतलाई हेर्ने हो भने गठबन्धन दलहरु बीच मत काटाकाट भएको पाइन्छ । राना उम्मेदवार बनेको माओवादीले समानुपातिकमा ३ हजार ८ सय ३९ मत पाएको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का गठबन्धनका साझा उम्मेदवार पूर्व गृहमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले प्रत्यक्ष तर्फ ३७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् भने यस क्षेत्रमा गठबन्धनका दलहरुले प्राप्त गरेको समानुपातिक मतको कूल योग ३३ हजार ५ सय ४४ मत मात्र हुन्छ ।

नेता सिटौलाले गठबन्धनको वास्तविक मतभन्दा ३ हजार ८ सय ४२ मत बढी ल्याएका छन् । नेता सिटौलाले वास्तविक मतभन्दा धेरै मत ल्याउदा समेत २ हजार ९ सय ४६ मतान्तरले उप–विजेता बनेका छन् । कांग्रेसले झापा ३ मा समानुपातिक तर्फ २५ हजार ५ सय ३५ मत प्राप्त गरेको छ ।

यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ का प्रत्यक्ष तर्फका गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका नेता देउकुमार थेवेले २२ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । गठबन्धनका दलहरुले प्राप्त गरेको समानुपातिक मतको कूल योग २४ हजार २ सय १५ मत हुन्छ ।

यस क्षेत्रको प्रत्यक्ष तर्फ गठबन्धनको उम्मेदवारले प्राप्त गरेको मत र समानुपातिक तर्फ गठबन्धनका दलहरुले प्राप्त गरेको मतको अंकलाई हेर्ने हो भने गठबन्धन दलभित्रका सबै मतदाताहरुले प्रत्यक्ष तर्फको उम्मेदवारलाई मत नहालेको आशंका गर्न सकिन्छ । थेवेको पार्टी नेपाली कांग्रेसले १७ हजार ३ सय ७४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ का प्रत्यक्ष तर्फका गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका नेता खगेन्द्र अधिकारीले २३ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् भने यस क्षेत्रमा गठबन्धनका दलहरुले प्राप्त गरेको समानुपातिक मतको कूल योग २५ हजार ८ सय ६५ मत हुन्छ । कांग्रेसले यस क्षेत्रमा समानुपातिक तर्फ १६ हजार ८ सय ५९ मत पाएको थियो ।

यस क्षेत्रमा पनि गठबन्धनका दलहरु भित्रको आन्तरिक तालमेल खासै नमिलेको अनुमान गर्न सकिन्छ ।
झापामा गठबन्धनका उम्मेदवारले प्रत्यक्ष तर्फ प्राप्त गरेको मत र गठबन्धन भित्रका दलहरुले समानुपातिक तर्फ प्राप्त गरेको मत नमिलेको देख्दा गठबन्धनमा इमान्दारिता नभएको आँकलन गर्न सकिन्छ । जिल्लाभरीमा क्षेत्र नम्बर १ र ३ मा मात्र गठबन्धनका उम्मेदवारले समानुपातिक मतको योगभन्दा धेरै मत प्राप्त गरेका छन् ।

झापामा क्षेत्र नम्बर १ मा मात्र गठबन्धनको साझा उम्मेदवारले प्रतिनिधि सभा निर्वाचनमा जीत हासिल गरेका छन् भने क्षेत्र नम्बर ३ मा राप्रपा र एमालेको साझा उम्मेदवार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जीतेका छन् । झापाको अन्य ३ वटा क्षेत्रमा एमालेका उम्मेदवारहरुले विजय प्राप्त गरेका छन् ।

प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]