बैशाख १३, २०८१ बिहीबार

शैक्षिक विकास गर्न प्रोत्साहन गर्ने शिवसताक्षी रणनीति

झापाको शिवसताक्षी नगरपालिकाले शिक्षा क्षेत्रको विकासमा विशेष जोड दिदैं आइरहेको छ । स्थानीय तह गठनसँगै नव निर्वाचित जनप्रतिनिधी र कर्मचारीहरुले नगरको शिक्षा क्षेत्रको मुहार क्रमशः सुधार गर्दै गइरहेका छन् । शिवसताक्षी नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालय र ३० वटा संस्थागत विद्यालयहरु रहेका छन् । जसमा सामुदायिक बिद्यालयमा हाल ९ हजार ७ सय १ जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।

यि बिद्यालयहरुमा ३ सय ६१ जना शिक्षक तथा शिक्षिका, ६१ जना बाल शिक्षक र ४७ जना कर्मचारीहरुले बिद्यालयको शैक्षिक गुणस्तर बढाउनको लागि क्रियाशिल भएका छन् । तर अझ पनि ३१ जना शिक्षकको दरबन्दी पु¥याउन सकिएको छैन । सामुदायिक बिद्यालयहरुको दिनानुदिन गुणस्तर शिक्षा तथा भौतिक संरचनाहरुमा क्रमशः बिकास हुँदै गएको छ । शिवसताक्षी नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा शिक्षामा १ करोड रुपैयाँ बजेट छुट्याएको थियो भने नगरले यस बर्ष शिक्षा क्षेत्रको लागि भनेर १ करोड २० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

नगरले शिक्षालाई थप गुणस्तरीय बनाउनको लागि ५ वर्षे शिक्षा नीति तयार गरेको छ । जसमा बिद्यालयहरु बिच सहकार्य र प्रविधीमैत्री बनाउँदै विपन्न वर्गका विद्यार्थीहरुलाई बिद्यालयसम्म आउने र पठनपाठन गराउने वातावरण निर्माण गर्न बिद्यार्थीहरुमा बिद्यालय पोसाकको व्यवस्ता गर्ने र अभिभावकहरुसँग प्रत्यक्ष समन्वय गर्ने कार्यक्रमहरु बनाईएको छ । यस्तै उत्कृट नतिजा ल्याउने बिद्यालयहरुको शिक्षा क्षेत्रको गुणस्तर विवरण हेरी सोही अनुसार ५० हजार देखी २ लाख रुपैयाँसम्म प्रदान गरिने जनाइएको छ । प्रत्येक प्राथमिक बिद्यालयहरुमा ७५ हजार, आधारभुत बिद्यालयमा १ लाख र माध्यमिक तहमा १ लाख ५० हजार रुपैयाँ कुनै पनि शिर्षक नतोकी बिद्यालयलाई दिइने भएको छ ।

बिद्यालयमा पठनपाठन गराउँदै आइरहेका बाल शिक्षक र कर्मचारीहरुको मासिक तलबमा १ हजार ५ सय रुपैयाँ थप गरिने भएको छ । शिक्षकहरुलाई उनिहरुको योगदान र मिहेनतको कदर गर्दै सेवा निबृत्त शिक्षक सम्मान गर्ने उल्लेख गरिएको छ । शिक्षकहरुको निम्ति शिक्षक कल्याण कोषको स्थापना गरिने भएको हो । जसमा शिक्षकहरुमा कुनै पनि दुर्घटना भएमा उक्त कोषबाट सहयोग मिल्ने जनाईएको छ । नगर शिक्षा शाखाले नगर भरिका शिक्षकहरुको टेलिफोन डायरी बनाई शिक्षकहरुको समस्यासँग प्रत्यक्ष पृष्ठपोषण गरिने भएको हो । जसले शिक्षकहरुले पठनपाठन गराई रहँदा आफुहरुको समस्याको सम्बोधन हुने शिक्षहरुको भनाई छ ।

यस्तै बिद्यालयहरुको स्तरोन्नतिमा उक्त बिद्यालयको प्रधानाध्यापक र कर्मचारीको बिषेश भुमिका रहने हुदाँ बिद्यालयका प्रधानाध्यापक र लेखामा कार्यरत कर्मचारीलाई दक्ष बनाउन जिन्सी र श्रेष्ता व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरिने शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहाल बताउनु हुन्छ । सिकाईको लागि प्रविधी भन्ने कुरालाई आत्मसाथ गर्दै नगरका २ बिद्यालयहरुमा कमप्युटर शिक्षालाई अघि बढाउनको लागि २ लाख रुपैयाँ बजेट छुट्याइएको छ । यि सबै ५ बर्षे नगर शिक्षा योजनामा समाबेश गरिएका छन् । जुन शिवसताक्षी नगरपालिकाको बोर्ड बैठकबाट पास भईसकेको छ भने यसलाई कसरी अघि बढाउने भन्ने बारे नगरमा छलफल भइरहेको छ ।

पछिल्लो समय बिद्यालयहरुमा शिक्षकहरुको उपस्थितिलाई अझ प्रभावकारी बनाउन गत बर्ष नगरका २८ वटा बिद्यालयहरुमा ई हाजिरी सुरु गरिएको छ । जसमा नगरपालिको आईटी कर्मचारी तोकिएको समय अवधीमा मासिक रुपमा हाजिरी परीक्षणका लागि जाने गरेका छन् । हालसम्मको प्रतिफल हेर्ने हो भने नगरका बिद्यालयहरुमा शिक्षकहरु समयमा र नियमित रुपमा उपस्थित भएको पाइएको छ । अब केही समय पश्चात नगरपालिकामा प्रत्यक्ष जानकारी हुने गरीको बनाउने शिक्षा शाखाले जनाएको छ । नगरमा शिक्षाको समस्याहरु अंग्रेजी माध्यमको पठनपाठनको कारण सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीहरुको संख्या दिनानुदिन घट्नु शिक्षा शाखाको प्रमुख समस्याको रुपमा रहेको छ । तसर्थ, शिक्षा शाखाले अंग्रेजी माध्यमको शिक्षामा जोड् दिँदै नगरका सामुदायिक बिद्यालयहरुमा पनि अंग्रेजी माध्यमको शिक्षा दिन लागि परेका छन् ।

शिक्षा गुणस्तरसँगै सुविधायुक्त पनि बन्दै गएको भन्दै नगरका बिद्यालयहरुले नीजि स्रोतबाट नै यातायातलाई प्राथमिकतामा राखेको पाईन्छ । नगरका बिद्यालयहरुमा भौतिक संरचनाहरुको पनि अवस्था दयनीय देखिन्छ । नगरपालिकाको बिद्यालयहरुमा हालसम्म कक्षागत शिक्षक पुर्ति गर्न नसकेको नगर शिक्षा शाखा प्रमुख सुरेन्द्र दाहाल बताउनु हुन्छ । सरकारले दिएको रकमले नगरका बिद्यायहरु नधान्ने उहाँको भनाई छ । जसको लागि बिद्यालयहरुले समुदायसँग समन्वय गर्नुपर्ने बताउनु हुन्छ । (सरकारी बिद्यालय भनिए पनि सरकारको हालको बजेटले नपुगेकों) उहाँको जोड छ ।

सरस्वती प्राथमिक बिद्यालयमा बिद्यार्थीको चाप धान्न नसकेर बिद्यार्थी भर्ना कार्यक्रम रोकिएको थियो । नयाँ शैक्षिक सत्र सुरु भएसँगै नगरका सबै बिद्यालयहरुले तामझामका साथ बिद्यार्थी भर्ना अभियान सञ्चालन गरेका थिए । तर, शिवसताक्षी नगरपालिका वडा नम्बर–६ हल्दिबारीस्थित श्री सरस्वती प्रथमिक बिद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएसँगै बिद्यार्थीहरुको ओईरो लागेको थियो । बिद्यालयमा बिदार्थीहरुको चाप धान्न नसकेर बिद्यालयले बिधार्थी भर्ना अभियान नै बन्द गरेको थियो । यसको लागि शिक्षकहरुको लगन शिलता र अभिभावकहरुले चाहेको अनुसारको शिक्षा प्रदान गर्न सक्नु प्रमुख कारण रहेको सरस्वती प्राथमिक बिद्यालयका प्रधानाध्यापक गणेश घिमिरे बताउनु हुन्छ । उक्त बिद्यालयमा १ सय २६ जनाबाट बिद्यार्थी बृद्धि भएर हाल २ सय ३ जना पुगेका छन् ।

बिद्यालयले गुणस्तर शिक्षामा बिशेष ध्यान दिएर शैक्षिक स्तर सुधार्न लागिरहेको छ । सरकारले दिदै आएको बाल खाजा कटौती गरेको भए पनि बाल खाजाले बिद्यार्थीहरुको उपस्थितीमा कमि आउन थालेको भन्दै सरस्वती प्राथमिक बिद्यालयले भने निजी श्रोत तथा दाताहरुबाट बाल खाजा नियमित रुपमा ख्वाउँदै आईरहेको छ । यस्तै अभिभावकहरुको माग अनुसार र अहिलेको समयमा अतिआवश्यक अङग्रेजी माध्यमको शिक्षालाई जोड् दिदै कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउदै आईरहेको छ । सरस्वती प्राथमिक बिद्यालयमा निजी बिद्यालयहरुबाट समेत बिद्यार्थीहरु आउन थालेपछि बिद्यालयले गत वर्ष नीजि श्रोतबाट र दाताहरुको सहयोगमा आफ्नै बिद्यालयको बस पनि खरिद गरेको छ । जसले टाढा टाढाका बिद्यार्थीहरुलाई समेत बिद्यालयसम्म आउन सहज भएको छ ।

नीजि बिद्यालय सरह पठनपाठन र सुविधा भएको हुनाले आफ्ना नानीहरुलाई सामुदायीक बिद्यालयमा भर्ना गरिएको शिक्षकहरुको भनाई छ । बिद्यालयले यति सेवा सुबिधा बिद्यार्थीहरुलाई दिदाँ समेत त्यस बापत पनि कुनै शुल्क न लिएको सरस्वतीका प्राथमिक बिद्यालयका प्रध्यानाध्यापक गणेश घिमिरे बताउनु हुन्छ । उहाँँले भन्नुभयो – हामीले गुणस्तर शिक्षा, यातायाता, खाजामा हालसम्म कुनै पनि शुल्क लिएका छैनौ र अङग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने पहिलो बिद्यालय सरस्वती प्राथमिक बिद्यालय हो । यस कुरामा हामी दाबी गर्न सक्छौ । अभिभावकहरु बिद्यालयमा आएर जन्म दिन मनाउनु हुन्छ । आफ्नो स्वखुसीले सहयोग स्वरुप सहयोग गरे पनि कुनै शुल्क बिद्यालयले लिएको भने छैन ।

सरस्वती प्राथमिक बिद्यालयको गुस्तर शिक्षा प्रदान गर्न सक्नु र बिद्यालयमा बिद्यार्थीहरुको आकर्षण बढ्दै गएसँगै नगरका अरु सामुदायिक बिद्यालयहरुको तुलनामा शिवसताक्षी नगरपालिकाले समेत उक्त बिद्यालयलाई बिषेश प्राथमिकतामा राखेको छ । त्यस अनुसार प्रथम नगर बोर्ड गठन पश्चात विभिन्न शिर्षकमा सुरुको बर्षमा ५ लाख ५० हजार, दोस्रो बर्ष ५० हजार र ६ नम्बर वडा कार्यालयले १ लाख ५ हजार रुपैयाँ दिएको थियो । बिद्यार्थीहरुको चाप बढेसँगै उक्त बिद्यालयमा चुनौतीहरु पनि थपिएका छन् । बिद्यार्थीहरुको शिक्षामा गुणस्तरता बृद्धि गराउँदै जानु र बिद्यालयले बनाएको साखलाई बचाई राख्नु हो ।

जसका लागि बिद्यालयका शिक्षक, कर्मचारी र बिद्यालय व्यवस्थापन समिति अहोरात्र खटिरहेका छन् । तर, बिडम्बनाको कुरा १ सय १७ जना बाल कक्षा का लागि १ जना मात्र बाल शिक्षकको दरबन्दीमा राखिएको छ । बिद्यालयले शिक्षक अभाव हुन नदिन बिद्यालयमा नीजि श्र्रोतबाट ४ जना शिक्षक राख्न बाध्य भएका छन् । राज्यको नीति अनुसार १ सय १७ जना बिद्यार्थीका लागि ५ देखी ६ जना बाल शिक्षक हुनु पर्ने प्रावधान रहेको छ । तर यस बिद्यालयमा शिक्षक व्यवस्थापनमा समस्या देखिएको छ ।

प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]