बैशाख २४, २०८१ सोमबार

पुस्तकालयप्रति अनाकर्षण

सम्पादकीय
नेपाली समाजमा एक बेला पुस्तकालयको ज्यादै महत्व थियो । किनभने, त्यो बेला पुस्तकालयमा पुस्तकप्रेमीहरुको राम्रै भीडभाड थियो । अहिले प्रायःपुस्तकालयहरु सुनसान छन् । सबैजसो पुस्तकालयहरु पाठकको पर्खाइमा देखिन्छन् । पुस्तकालय स्थापनाको उद्देश्य धेरै ठाउँमा पुरा भइरहेको छैन । पुस्तक अध्ययन गर्ने, ज्ञान आर्जन गर्ने मामिलामा नयाँ पुस्तामा आकर्षण देखिदैन । पुस्तकालय छिर्ने, नयाँ विषयवस्तुका बारेमा ज्ञान आर्जन गर्ने जाँगर पाइदैन । अझ, नयाँ पुस्ता पुस्तकालयप्रति उनुदार देखिए ।

पुस्तकालयहरुमा आकर्षण घट्दै जानुमा आधुनिक युगलाई दोष दिन थालिएको छ । मोवाइलमा व्यस्त हुने तर अध्ययनमा चासो नदिने जमात बढ्दै जानुले आकर्षण घटेको स्पष्ट छ । मोवाइलमा टिकटक हेरेर समय विताउन सक्नेहरुले पुस्तकालय पुगेर दुई वटा विषयको अध्ययन गर्न सकेका छैनन् । अघिल्लो पुस्तामा पुस्तक पढ्ने, ज्ञान आर्जन गर्ने तीब्र भोक थियो । अध्ययनको भोक नभएसम्म पुस्तकालयको आकर्षण हुन सक्दैन । यसैले पुस्तकालयमा आकर्षण गर्ने नयाँ र फरक प्रकारका कार्यक्रमहरु बनाइनुपर्छ ।

झापामा दर्जनौ पुस्तकालय स्थापना भएका छन् । तर, पुस्तकालयमा अध्ययन गर्नेहरुको घुँइचो विरलै देख्न पाइन्छ । धुलावारीमा रहेको त्रिफला पुस्तकालय एक बेलाको चर्चित पुस्तकालय हो । जहाँ पचास हजार भन्दा बढि पुस्तक पाइन्छ । तर, अहिले पुस्तकालय ठिङ्ग उभिएको छ । विरलै पाठकहरु त्यहाँ पुग्छन् । पढ्नेहरुको घुँइचो पनि छैन, स्थानीय सरकारको चासो पनि छैन । पुस्तकालयको महत्व त्यतिवेला हुन्छ, जतिवेला पढ्नेहरुको उपस्थिति बाक्लिन्छ । यसैले आम युवा, बौद्धिक वर्ग, नयाँ पुस्ता र तमाम विधार्थीहरुले पुस्तकालय पुगेर अध्ययन गर्ने बानीको विकास गरौं । पढेर ज्ञान आर्जन गरौं । यसैले पुस्तकालयको संरक्षण र विकासमा पनि जुटौं ।

प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]