बैशाख २१, २०८१ शुक्रबार

प्रदेश राजधानी माग गर्दै इटहरी र धनकुटाबासी आन्दोलित

झापा । नेपाल कम्युनिष्ट पार्टी प्रदेश कमिटीले एक नम्वर प्रदेशको स्थायी राजधानी विराटनगर राख्ने सहमति गरेपछि इटहरी र धनकुटाका राजनीतिक दल आन्दोलित भएका छन् ।
तिनदिनको बैठकपछि नेकपाले शुक्रवार राजधानी विराटनगर भनेपछि तत्कालै राजनीतिक दलले इटहरीमा सडकमै पत्रकार सम्मेलन गरे । दलहरुले कुनै पनि हालतमा इटहरी प्रदेशको स्थायी राजधानी हुनुपर्ने माग राखेका छन् । नेकपा, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राप्रपा संयुक्तको सहभागितामा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
नेपाली कांग्रेसका इटहरी नगर सभापति हेमकर्ण पौडेलले प्रदेश १ का जनताको लागि स्थायी राजधानी इटहरी उपयुक्त हुने उनले बताए । उनले इटहरीले प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व गर्ने बताए । नेकपाका नेता रामप्रसाद चौलागाईले इटहरी भौगोलिक हिसाबमा पायक पर्ने भएकाले राजधानी हुनुपर्ने तर्क गरे । यस्तै, धनकुटामा पनि प्रदेशको राजधानी माग गर्दै शनिवार र्याली आयोजना गरिएको छ ।
र्यालीमा विभिन्न दलका प्रतिनिधि, नागरिक समाज सहित स्थानीयवासीको सहभागिता रहेको थियो । कोणसभामा जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चौहान, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर श्रेष्ठ, उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरे, नेकपा धनकुटा सचिब ऋषिराम ढुंगाना, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले धनकुटालाई प्रदेशको स्थायी राजधानी घोषणा गर्न माग गरेका छन् ।
धनकुटाको विकल्प खोज्न नहुने भन्दै आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले आन्दोलनको चेतावनी दिएका छन् ।
विराटनगर महानगरपालिकाले शनिवार बैठक बसेर नेकपाको निर्णयमा सहमति जनाउँदै विराटनगर नै राजधानीका लागि उपर्युक्त हुने जनाएको छ । राजधानीको लागि आवश्यक सहयोग गर्ने स्थानीय सरकारले सहयोग गर्ने बताईएको छ । अन्य क्षेत्रमा भइरहेको आन्दोलनका नाममा राजधानी सार्ने काम भएमा चरणबद्ध आन्दोलन गर्ने मेयर भीम पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]