जेष्ठ ६, २०८१ आईतबार

बिर्तामोडमा साधुवस्त्रधारीबाट सुन लुटिएको दावी

बिर्तामोड । झापाको बिर्तामोडमा आइतवार साँझ साढे ४ बजेतिर एक जना अधवैशे पुरुष सुन लुटियो भन्दै गुहार मागिरहेका थिए । उनले आफुसँग भएको साढे २ तोला सुन लुटियो भन्दै साथीभाई गुहार गरे । गुहार गर्ने व्यक्ति थिए, बिर्तामोडमा विगत ५ वर्षदेखि गरगहना बनाउदै आएका समर मण्डल ।

मण्डलले सुनाए अनुसार घटना रहस्यमय छ । प्रहरी अनुसन्धानपछि घटना बारे यथार्थ बाहिर आएपछि सत्यतथ्य पत्ता लाग्ने छ । तर, भद्रपुर रोडमा उनले आफु दुई जना व्यक्तिबाट लुटिएको दावी गरेका छन् ।

बिर्तामोडमा सुन व्यवसायीहरुको माग अनुसार सरसामान तयार गर्ने मण्डललाई दिउँसो काम लिन भद्रपुर रोड मै रहेको एउटा कारखानाबाट खवर आयो । नियमित कालिगढ गर्दै आएका मण्डलले २७ ग्राम सुन बोकेर फर्किने क्रममा दुई जना व्यक्तिले उनलाई रोके । केहि जिज्ञासाहरु राखे, बिर्तामोडको बारेमा । मण्डलले आफुलाई केहि पनि थाहा छैन भनेपछि साधु वस्त्रमा रहेका एक जनाले फेरि सोधें – यहाँ मन्दिर कहाँ छ ? पुजा गर्न जानुछ ।

मन्दिर सोधेपछि मण्डलले मुक्तिचोकको दुर्गा मन्दिर बारे जानकारी दिए । जानकारी दिए पछि ति व्यक्तिले आफु पुजा गर्न जाने भएकाले केहि फलफुल खरिद गरिदिन आग्रह गरे, मण्डल भन्छन् – मसँग पैसा छैन । पैसा छैन भन्दा पनि पुजा गर्न जाने भनेपछि भद्रपुर रोडको फलफुल पसलमा चिनेको ठाउँमा पुगेर अलिअलि सामान किनिदिए । त्यहि बेला साधुवस्त्र लगाएका ति व्यक्तिले तिमिसँग सुन छ भन्दै अकास्मात प्रश्न गरे ।

मण्डलले आफुसँग सुन नभएको भन्दाभन्दै एक पटक देखाउन आग्रह गरे । मण्डलले त्यसपछि सुन देखाइदिए । हेर्दा धार्मिक मान्छे जस्तै लागेर देखाइदिएको हुँ , त्यसपछि मलाई केहि थाहा भएन । एकछिनपछि ति मान्छे पनि देखिन, मसँगको सुन पनि थिएन ।

यसबारे सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष रमेश बराइलीले घटना बारे जानकारी भएको बताए । उनले घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको बताएका छन् । सुनचाँदीको कालिगडी काम गर्नेहरु विभिन्न ठाउँमा कोठा लिएर काम गर्दै आएका छन् । व्यापारीले उनीहरुलाई नै सुनका सामग्री बनाउन दिने गरेको सुनाए । अध्यक्ष बराइली भन्छन्, घटना अनौठो लाग्यो । प्रहरीले अनुसन्धान गरेपछि थप कुरा थाहा हुनेछ । मण्डलले पनि आफुहरुसँग सुन लुटिएको दावी गरेको अध्यक्ष बराइलीको भनाई छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी रुगम बहादुर कुवरले सुन लुटिएको भन्ने घटना रहस्यमय भएको बताए । उजुरी परेपछि प्रहरीले आफ्नो प्रक्रिया अनुसार कारबाही थाल्ने उनको भनाई छ । सुन बोक्ने व्यक्ति अपरिचित मान्छेसँग किन पुगे, डिएसपी कुवर भन्छन् , अनुसन्धान त्यहिबाट सुरु हुन्छ ।

प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार  ८ : २३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]