बैशाख २४, २०८१ सोमबार

किसान आन्दोलनको खाँचो

सम्पादकीय

धानबाली लगाउने बेला किसानलाई सधैं उन्नत जातको विऊको अभाव हुन्छ । दुखसुख बाली लगाएपछि रसायनिक मलको समस्याले पिरोल्छ । समयमा मल अभाव परिपूर्ति गर्न नसक्दा बालीमा ठुलो नोक्सान हुने गरेको छ । रसायनिक मलको चरम अभाव भए पनि किसानले धान फलाइदिन्छन् । धान उत्पादन गरेपछि फेरि अर्को समस्या आइपर्छ । त्यो समस्या भनेको उचित मुल्य नै हो । किसानले आफ्नो उत्पादनको उचित मुल्य पाउन सक्दैनन् । व्यापारी र विचौलियाको चेपुवामा किसान धान विक्रि गर्न बाध्य हुन्छन् । अहिले पनि त्यहि समस्या सुरु भएको छ ।

चाडवाड सकेर थोरबहुत निर्वाचनमा होमिएका किसान बाली थन्क्याउन व्यस्त छन् । धान थन्क्याउन व्यस्त किसान सरकारले तोकेको मुल्यमा धान विक्रि चहान्छन् । तर, सरकारले तोकेको धानको समर्थन मुल्य प्राप्त भइरहेको छैन । खाद्य व्यवस्था तथा कृषि कम्पनीले यो बेला किसानसँग तोकिएको मुल्यमा धान खरिद गर्नुपर्ने हो । खाद्यले अहिलेसम्म धान खरिद गरेको छैन । व्यापारीले पनि धान खरिदमा सरकारले तोकेको मुल्य दिएका छैनन् । किसानलाई साहुमाझनले धान रोप्दाताका लिएका खर्चका लागि ताकेता गरिरहेका छन् । धानबाली लगाउने बेला लिएको कर्जा तिर्न बाध्य किसान व्यापारीको मनपरी मुल्यमा धान विक्रि गर्न तयार हुनु परेको छ ।

नेपाल सरकारले मोटा धानको ११८६ र मध्यम धानको १२५१ रुपैयाँ समर्थन मुल्य तोकको छ । तर, किसान व्यापारीलाई ९ सय रुपैयाँ देखि १ हजार रुपैयाँमा धान विक्री गर्न बाध्य छन् । यो हदसम्मको ज्यादती विरुद्ध सरकार नालायकी रुपमा प्रस्तुत भइरहेको छ । किसानको हितमा सरकार अझै बोल्दैन । धान विग्रिएर जाने अवस्थामा पुगिसक्दा पनि सरकारले आफ्नै निर्णय कार्यान्वयन गर्न नसक्नु भनेको सरकारको लाचारीपन हो । यसलाई किसानले सवक सिकाउनैपर्छ । किसानको एकता र कडा आन्दोलनको जरुरत देखिन्छ । किसानको सधैंको समस्या समाधानमा किसानले निर्णायक आन्दोलन गर्नुपर्छ । त्यसले सरकार र सरोकारका क्षेत्रमा दवाव दिन सकोस् ।

प्रकाशित मिति : मंसिर २६, २०७९ सोमबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]