बैशाख २४, २०८१ सोमबार

विराटको द्वन्द्व समाधान गर

सम्पादकीय
सामुदायिक विद्यालयमा आम अभिभावकहरुको विश्वास कमजोर छ । एकाध बाहेकका सामुदायिक विद्यालयहरु अभिभावकको रोजाईमा पर्दैनन् । पछिल्लो समय निजी विद्यालयको महंगीका कारण बाध्यताले मात्रै आफ्ना सन्तान सामुदायिकमा पठाइरहेको पाइन्छ । निजीमा शुल्क ठिकै हुने हो भने प्रायः सबै अभिभावकले आफ्ना सन्तान त्यतै पठाउने थिए । सामुदायिक विद्यालयमा शिक्षक कर्मचारीको गैरजिम्मेवारीका कारण अभिभावक रुष्ट भएका हुन् । वास्तवमा केहि विद्यालयभित्रको लफडा हेर्ने हो भने विद्यार्थीको भविष्य चिन्ताजनक छ ।

यसैको बलियो उदाहरण हो, बिर्तामोड –१० मा रहेको विराट आधारभुत विद्यालय । जहाँ शिक्षकहरु शैक्षिक विषयभन्दा पनि अनावश्यक लफडामा रुमलिएका छन् । विगत एक वर्षदेखि विद्यालयभित्र तनाव छ । शैक्षिक वातावरण नै धमिलो बनाउने गरि भएको लफडाले अझै निकास पाएको छैन । विद्यालयभित्रको द्वन्द्वका कारण केहि शिक्षकहरु फाइदा उठाइरहेका छन् । यहाँसम्म कि प्रधानाध्यापक बद्री प्रसाद बाँस्कोटालाई नै टेर्ने अवस्था छैन । विद्यालयको मुल नेतृत्वलाई नटेर्ने शिक्षकबाट जिम्मेवार पूर्वक काम भइरहेको छ भन्ने विश्वास गर्न सकिदैन ।

अझै विद्यालयमा प्रअ–शिक्षक द्वन्द्वको घाऊ आलै छ । केहि शिक्षक बाहेक अधिकांश शिक्षक प्रअको विरुद्धमा देखिए । यसरी विद्यालय सञ्चालन गरिरहन हुदैन । विद्यालयभित्रको वास्तविक समस्या समाधान गरेर विद्यालयभित्र शैक्षिक वातावरण तयार गरिनुपर्छ । कक्षाकोठामा शिक्षक पढाइरहेको बेला विद्यार्थी डेस्कबाट बाहिर निस्केरै खलिरहेका हुन्छन् । अर्थात, शिक्षक सामुन्ने विद्यार्थी समेत अनुशासित देखिएका छैनन् । त्यसको कारण भनेकै विद्यालयभित्रको आन्तरिक द्वन्द्व हो । यो द्वन्द्व समाधान गर्ने क्षमता विद्यालय व्यवस्थापन समितिमा समेत देखिदैन । यसैले बिर्तामोड नगरपालिकाले विद्यायलभित्रको कलह अन्त्य गर्नैपर्छ । त्यहाँ अध्ययनरत विद्यार्थीको भविष्यलाई ख्याल गरेर तत्काल एक्शन लिन आवश्यक छ ।

प्रकाशित मिति : पुष २, २०७९ शनिबार  ८ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]