बैशाख १४, २०८१ शुक्रबार

लगातार घाटा व्यहोर्दै एनएमसी नमुना कृषि फर्म

गगन ढकाल 

झापा । नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) ले ०७५ माघ १९ गतेदेखि एकीकृत नमुना कृषि फर्म सञ्चालन गरिरहेको छ । सो कृषि फर्मले स्थापना कालदेखि हालसम्म लगातार घाटा व्यहोरी रहेको व्यवसायको लेखा शाखाको तथ्याङ्कले जनाएको छ ।

फर्मले आर्थिक वर्ष ०७५÷०७६ मा रु. १७ लाख ३३ हजार घाटा व्यहोरेको थियो भने आर्थिक वर्ष ०७६÷०७७ मा रु. ७३ लाख ६ हजार घाटा व्यहोरेको फर्मका लेखा विभाग प्रमुख विशाल ढुङ्गानाले जानकारी दिए । यसै गरी उनले आर्थिक वर्ष ०७७÷०७८ मा फर्मको घाटा एक करोड ५९ लाख रहेको र आर्थिक वर्ष ०७८÷०७९ मा एक करोड ९५ लाख घाटा भएको जानकारी दिए । लेखा प्रमुख ढुङ्गाना भन्छन् ‘आर्थिक वर्ष ०७८÷०७९ सम्ममा कृषि फर्ममा चार करोड ४५ लाख घाटा भइसकेको छ । तर, यो घाटाको क्रम यसै वर्षदेखि क्रमशः घट्दै जान्छ ।’

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रतीले कृषि क्षेत्रबाट बिमुख भएका मानिसहरुलाई पुनः कृषि मै फर्काउन, कृषिलाई व्यवसायिक बनाउन र कृषिलाई यान्त्रीकरण गरेर पेशासँग जोड्ने मुख्य उद्देश्यका साथ एनएमसी एकीकृत नमुना कृषि फर्मको परिकल्पना भएको बताएका छन् ।

त्यसैगरी हालसम्म लगातारको घाटा सामान्य कुरा भएको एनएमसीका अध्यक्ष उप्रेतीको ठहर छ । ‘जुनसुकै व्यवसायमा पनि सुरुवाती दिनहरुमा घाटा हुन्छ, अलीअली घाटालाई सामान्य लिनु पर्छ’ उनले भनेका छन् । सुरुवाती समयमा ह्रास कट्टी, संरचना निमार्ण, यन्त्रहरुको खरिद, व्यवसायको प्रचार, कर्मचारी व्यवस्थापन लगायतका अनेकौं कुराहरुले घाटा भएको हो । अब त्यो घाटा क्रमशः कम हुँदै जान्छ । उनी भन्छन् ‘यसै वर्षदेखि फर्मले घाटा कम गर्दै अबको दुई वर्ष भित्रमा फर्मको घाटालाई शून्यमा झार्ने संस्थाले नीति लिइसकेको छ ।’

एनएमसी एकीकृत नमुना कृषि फर्मको व्यवसाय प्रमुखको जिम्मेवारी सम्हालिरहेका भूपाल गौतमले पनि यो घाटा सुरुवाती घाटा रहेको बताएका छन् । उनले संरचना निमार्ण र विविध किसिमका अपरेटिङ खर्चहरुले गर्दा फर्म घाटामा गएको बताएका छन् । तर, अबको दुई वर्षमै कृषि फर्मको घाटा शून्य हुने उनले जिकिर गरे । माछा पालन र बेर्ना बैङ्कले सुरुवाती चरण मै फाइदा दिएको उनले बताए । उनी भन्छन् ‘यो सालदेखि गाईले पनि निक्कै नाफा दिन्छ ।’, उनी भन्छन् ‘हाम्रो तिरका किसानहरु खासै यान्त्रिक नभएका कारण फर्मको कस्टम हायरिङ सेवाले मुनाफा दिइरहेको छैन । तर अबको वर्षदेखि त्यसले पनि आम्दानी लिने छ ।’, ‘किसानहरुले धान काट्ने मेसिनको त अलिक प्रयोग गर्न थाली सक्नु भयो अबको वर्षदेखि रोप्ने र काट्दै झार्ने पद्धतिमा पनि उहाँहरुलाई हामी जोड्ने छौँ ।’

फर्ममा लैनो गाई ३६ वटा र थारो गाई ३६ वटा गरी जम्मा ७८ वटा गाई रहेका छन् । उक्त गाईहरुबाट दैनिक औसत छ सय लिटर दुध उत्पन्न हुने पशु विभाग प्रमुख केशव अधिकारीले जानकारी दिए । उनले हाल फर्ममा कार्क र पङ्गास दुई प्रजातिको गरेर करिब ३० हजार माथि माछा पालन गरिरहेको पनि जानकारी दिए ।

त्यसै गरी फर्ममा लहरे बाली, काउली, खुर्सानी, जुकुने फर्सी, टमाटर लगायत विभिन्न प्रजातिका तरकारीहरु रहेको कृषि विभाग प्रमुख टिकाराम पौडेलले जानकारी दिएका छन् ।

एनएमसीले मेचीनगर –१४ दुहागडीमा १६ बिघा क्षेत्रफलमा फैलिएको एनएमसी एकीकृत नमुना कृषि फर्ममा हाल ५० जना विभिन्न तहका कर्मचारीहरु कार्यरत रहेको प्रशासन विभाग प्रमुख सुमन पोखरेलले जानकारी दिए । एनएमसी एकीकृत नमुना कृषि फर्मले सरकारको विभिन्न तहबाट गरेर हालसम्म दुई करोड ३२ लाख ६२ हजार छ सय ९१ रकम बराबरको सामग्री अनुदान प्राप्त गरिसकेको छ ।

एनएमसीले कृषि फर्ममा विभिन्न किसिमका तरकारी खेती, माछा पालन, गाई पालन, कस्टम हायरिङ सेन्टर, साइलेस बैंक, र्बेना बैंक लगायतको कार्यहरु सञ्चालन गरिरहेको छ । यसमध्ये माछा पालन, तरकारी खेती, र्बेना बैैंक र गाई पालन व्यवसायको उपलब्धी सन्तोकजनक रहेको बताइएको छ ।

 

प्रकाशित मिति : पुष ४, २०७९ सोमबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]