बैशाख २०, २०८१ बिहीबार

थेसिस स्कुलका विद्यार्थीले गरे चरा अवलोकन

बाहुण्डाँगी । मेचीनगर –३ स्थित बडाखालमा रहेको थेसिस अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले चराको अवलोकन गरेका छन् ।

थेसिस अङ्ग्रेजी माध्यमिक विद्यालय र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको सह–आयोजनामा थेसिस विद्यालयको कक्षा ८,९ र १० कक्षामा अध्ययनरत करिब ७० जना विद्यार्थीहरुले चरा अवलोकन कार्यक्रममा सहभागिता जनाएका हुन् ।

विद्यार्थीहरुले मेचीनगर –३ को महल्या चोकदेखि निन्दा खोलासम्म र पर्यटकीय स्थल बृन्दाबनसम्म पुगेर चराहरुको अवलोकन गरेका थिए । ४५ वटाभन्दा धेरै चराहरुको नाम र जात पहिचान गरेको विद्यार्थीहरुले बताएका छन् ।

कक्षा १० मा अध्ययनरत विद्यार्थी अंकित आचार्य बताउँछन् ‘हाम्रो वरिपरी यती धेरै चराहरु रहेछन् हामीलाई थाहा नै थिएन, आफ्नै गाउँका यती धेरै चराहरु चिन्न पाउँदा खुसी लागेको छ ।’ त्यसैगरी अर्की विद्यार्थी समिक्षा रुचालले पनि विद्यालयलाई चराहरुको अवलोकन गराएकोमा धन्यवाद दिदै भन्छिन् ‘चराको अवलोकन त हामीले सोचेभन्दा रमाइलो भयो, हाम्रो गाउँमा कति धेरै चराहरु रहेछन् ।’

विद्यार्थीहरुलाई चराहरु चिन्न र उनीहरुको गुण प्रकृति लगायतको कुराहरुको जानकारी चर्चित चरा फोटोग्राफर देवेन खरेलले सहजीकरण गरेका थिए । फोटोग्राफर खरेल मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको अध्यक्ष समेत हुन् । उनले विद्यार्थी जीवनदेखि नै सबैलाई प्रकृति प्रेममा पर्न सके मात्रै प्रकृतिको रक्षा हुने बताएका छन् । साथै उनले अन्य विद्यालयहरुले पनि यस किसिमको कार्यक्रम आयोजना गरे आफू सहयोगको लागि तत्पर रहेको बताएका छन् ।

विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र व्यवहारिक बनाउन नसकिने र यस्तो अध्ययन अवलोकन गराउने गरेको विद्यालयका संस्थापक प्रधानाध्यापक डम्बर रुचालले बताए । उनी भन्छन् ‘अब विद्यार्थीहरुलाई यो अवलोकन सम्बन्धी लेख लेख्न लगाउँछौ त्यस्तो लेख अर्गानिक र रचनात्मक हुन्छ ।’

प्रकाशित मिति : पुष ९, २०७९ शनिबार  ६ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]