झापामा अस्थायी साधन ‘सायना प्रेस’ सम्बन्धी अभिमुखीकरण
बिर्तामोड । परिवार नियोजनको अस्थायी साधनका रुपमा नेपालमा अर्को नयाँ साधन ‘सायना प्रेस’ पनि आएको छ । सायना प्रेस नामक तीन महिने सुई नेपालमा पनि भित्रिएको हो । यस साधनबारे आइतबार झापाका पत्रकारहरुलाई जानकारी गराइएको छ । परिवार नियोजन संघ चारआलीले पत्रकारहरुलाई यसको उपयोगिता र प्रयोगबारे जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुमति र बेलायत सरकारको आर्थिक सहयोगमा आईपास र मेरि स्टोप अन्तर्राष्ट्रियको सहकार्यमा नेपालमा यसको परीक्षण भइसकेको छ । नवलपुर र सिन्धुली जिल्लामा महिलाले प्रयोग गर्ने तीन महिने गर्भ निरोधक अस्थायी साधन सायना प्रेसको सेवा लिएका थिए । हाल पाँच जिल्लामा प्रयोग गर्न अनुमति प्रदान गरिएको चारआली शाखाकी प्रमुख सुजन काफ्लेले जानकारी दिइन् । हरेक तीन महिनामा लगाउनुपर्ने यो साधन तिघ्रा र पेटमा लगाउन सकिनेछ ।
‘सायना प्रेस पनि अन्य परिवार नियोजनका साधनमध्ये एक हो, यो प्रभावकारी छ भनेर प्रमाणित भईसकेको छ, त्यसैले ढुक्क भएर प्रयोग गर्न सकिन्छ,’ काफ्लेले भनिन् । विश्वका अन्य देशमा प्रयोगमा आइरहेको यो सायना प्रेस बारे महिलालाई प्रभावकारी परामर्श र तालिम दिन सकेमा आफैं लगाउन सकिने बताइएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीबाट लगाउन भनिएको छ ।
एक पटक लगाएपछि तीन महिना गर्भ रहन रोक्ने यो सुई महिनावारी भएको ७ दिनभित्र अथवा महिलाले गर्भवती नभएको जुनसुकै समयमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट लगाउन सकिनेछ सहजकर्ता प्रकृति बाँस्तोला गिरीले जानकारी दिइन् । यो साधनको प्रयोगले महिनावारीका समयमा हुने दुखाइ कम गर्ने, स्तनपान गराइरहेकि महिलाले पनि प्रयोग गर्न मिल्ने, इस्ट्रोजेन नामक हर्माेन भएको वा इस्ट्रोजेन र प्रोजेस्टेरोन भएका महिलाले पनि प्रयोग गर्न मिल्ने र सुई लगाउन छाडेको केहि समय अर्थात् १० देखि १२ महिनाभित्र पुनः गर्भवती हुन सकिने उनको भनाई छ ।
यो सुई गर्भवति नभएकी प्रजनन उमेरकी महिला, भर्खरै गर्भपतन भएकी महिला, स्तनपान गराई रहेकी महिला, नव विवाहित महिला, एचआईभी संक्रमित वा एड्स भएको वा एन्टी रेट्रो भाईरल औषधि सेवन गरिरहेका महिलाका लागि उपयुक्त हुने कार्यक्रममा जानकारी दिइएको छ ।
सायना प्रेस सुई प्रयोग गरेको केहि महिनासम्म महिनावारी अनियमित हुन सक्ने वा अरूबेला पनि छिटफुट रगत बग्ने, केहि महिलाको तौल घटबढ हुन सक्ने र कसैकसैलाई डण्डिफोर आउने, टाउको दुख्ने मनस्थिति परिवर्तन हुने जस्ता सामान्य असर देखिन सक्ने बताइएको छ ।
तर, स्तन क्यान्सर भएकी महिला, महिनावारीमा धेरै रगत बग्ने समस्या भएका, यौन सम्पर्क गर्दा अत्याधिक रगत बग्ने बग्ने समस्या भएका महिला, कलेजोसम्बन्धि र हड्डि खिईने समस्या भएका महिलाले यो सुई प्रयोग गर्न हुँदैन । सायना प्रेस विश्वका ४० भन्दाबढि देशले प्रयोग गरिरहेका छन् । युरोपलगायतका १७ देशका सम्बन्धित निकायहरूले सायना प्रेसलाई आफैंले लगाउन मिल्ने सुईका रूपमा अनुमति प्रदान गरेको कार्यक्रममा जानकारी दिईएको थियो ।
सायना प्रेस परिवार नियोजनका लागि मांसपेशीमा लगाइने सुई डिपो प्रोभेरा जस्तै हो तर यसमा औषधिको मात्रा ३० प्रतिशत कम हुन्छ । छालाको मुनि पर्ने गरी एकपटक मात्रै प्रयोग गर्न मिल्ने सुईको प्रयोग गरेर छोटो सुइरोको माध्यमले लगाइन्छ जसले गर्दा दुखाइ र असहजता कम हुन्छ । यो साधनलाई फ्रिजको प्रयोग नगरी भण्डारण गर्न सकिन्छ । यसलाई विश्वका ४० भन्दा बढी मुलुकहरुका नियामक निकायहरुले स्वीकृति प्रदान गरी सेवा प्रदान गरिरहेका छन् ।