जेष्ठ २, २०८१ बुधबार

बाहुण्डाँगीमा तरुलको महत्व बुझाउन तरुल उत्सव हुने

बाहुण्डाँगी । प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुण्डाँगीमा माग १ गते तरुल उत्सव हुने भएको छ ।

मेचीनगर नगरपालिका–४ स्थित बाहुण्डाँगीमा तरुल खेतीको प्रबद्र्धन र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो ।

हात्तीले पनि नखाने, स्वास्थ्यकर खानाको रुपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा टेवा पुर्याउने उद्देश्यले माघे संक्रान्तिको अवसर पारेर तरुल उत्सवको आयोजना गर्न लागेको मेचीनगर नगरपालिका–४ वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए ।

हिजो हाम्रा बाबु बाजेले खाजाको रुपमा खाने तरुलको महत्त्व हराउँदै गएको उनी बताउँछन् । उनी भन्छन् ‘मम, चाउमिन र चाउचाउ जस्ता तयारी खाजामा रुमलिएका हाम्रा नानीहरुले तरुल नै नचिन्ने भए । तरुल चिनाउन आज उत्सव नै आयोजना गर्नुपर्ने भयो ।’

उनले उत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने, घर तरुल, सिमल तरुल, सुढुनी तरुल, बनतरुललगायत परम्परागत कृषि औजारहरुको समेत उत्सवमा प्रर्दशनी गरिने बताए ।

उनले बाहुण्डाँगी बासीले दैनिक आउने जंगली हात्तीको हुलबाट अन्न जोगाउन नसके पछि पछिल्लो समय धान, मकैलगायतका खेतीको सट्टामा सुपारी, मरिच, तेजपत्ता, चिया खेती गर्दै आएको बताए । उनले सुपारीखेती भित्रै तरुलको व्यवसायिक खेती गर्न सकिने हुँदा कृषि विज्ञहरुद्वारा स्थानीयवासीलाई उत्सवमा तरुलको महत्व र खेतीको बारेमा जानकारी दिइने बताए ।

उत्सवमा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई समेत उपस्थिति गराएर विभिन्न चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा तरुलको परिकारका बारेमा बुझाइने उनको भनाई छ । उत्सवको आयोजना मेचीनगर नगरपालिका–४ ले गर्ने उनले बताए ।

प्रकाशित मिति : पुष १५, २०७९ शुक्रबार  ४ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]