जेष्ठ ६, २०८१ आईतबार

माछा पालक किसानलाई प्रेरित गरौं

सम्पादकीय
बिर्तामोड नगरपालिकाले भारतबाट विना परीक्षण भित्रिने मरेका माछालाई पूर्व प्रतिवन्ध लगायो । योसँगै प्रतिबधिन्त मागुर माछा विक्रिमा निषेध गरिएको छ । मुख्य दुई निर्णयका कारण यहाँका माछा पालक किसान खुशी छन् । भारतबाट सस्तो मुल्यमा भित्रिने माछाका कारण स्थानीय किसान मारमा परेका थिए । स्थानीय किसानलाई नगरको यो निर्णयले फाइदा पुगेको छ । माछा पालक किसानलाई व्यवसायिक माछा पालनमा ठुलो मद्दत पुग्ने विश्वास गरिएको छ । बिर्तामोडका सयौं माछा पसलमा मरेका माछा विक्रि गर्ने गरिएको थियो । अहिले धेरै नै नियन्त्रण भइसकेको छ । लुकिछिपी विक्री गर्नेहरुलाई नगरले कारबाही थालेको छ ।

स्थानीय माछा पालक किसानका लागि बिर्तामोड नगरपालिकाले गरेको सहयोग सह्रानीय छ । यस्तै, निर्णय अन्य पालिकाहरुले पनि गर्ने हो भने अन्य पालिकाका किसान पनि लाभान्वित हुने थिए । झापाका अधिकाशं माछा पालक किसानको मुख्य बजार बिर्तामोड नै हो । स्थानीय माछा भारतीय माछाका कारण बजार पाउन सकिहरेका थिएनन् । अब, स्थानीय किसानले उत्पादन गर्ने माछाले बजार पाउने निश्चित छ । सबै पालिकाहरुले किसानलाई यसैगरी प्रेरित गर्नुपर्छ । त्यसका लागि किसानको सहयोग पनि जरुरी छ ।

पछिल्लो वर्षहरुमा झापामा माछा पालनमा आकर्षण बढेको छ । ०७५-७६ मा जिल्लाभरी नौ सय ११ घरपरिवारले माछा पालन गरिरहेका थिए । अहिले त्यो संख्या नौ सय ६१ घर परिवारमा पुगेको छ । उत्पादनको हिसाबमा हेर्ने हो भने आर्थिक वर्ष ०७५-७६ मा एक हजार ७७ दशमलब ७७ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष ०७६÷७७ मा ११ सय ३७ दशमलब ९ मेट्रिक टन र आर्थिक वर्षमा ०७७-७८ मा १२ सय ९९ दशमलब ५९ मेट्रिक टन माछा उत्पादन भएको तथ्याङक छ । जिल्लालाई माछामा आत्मनिर्भर बनाउन सकियो भने ठुलो पैसा भारत जानबाट रोकिने थियो । अर्को कुरा, किसानले पनि सबै प्रजातिका माछा पालन गरेर बजारमा उपलब्ध गराउन सक्नुपर्छ । सबै प्रजातिका माछा उत्पादन गर्न सकिएन भने भारतबाट माछा आयात गर्नैपर्ने बाध्यता हुन्छ । पालिकाहरुले किसानले विभिन्न सहयोग गर्दै माछा पालनमा प्रेरित गर्नैपर्छ ।

प्रकाशित मिति : माघ १, २०७९ आईतबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]