चैत्र १६, २०८० शुक्रबार

दुध बेचेको पैसा गाई पाल्न पुगेन : झापाली किसान

गगन ढकाल

झापा । दुध बेचेर गाई पालन गर्न गाह्रो भइरहेको किसानहरुले बताएका छन् । गाई फार्म सञ्चालन गर्न दुध बेचेको पैसाले अपुग हुने किसानहरुको भनाई छ ।

जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका अनुसार जिल्लामा अहिले ९० वटा गाई फार्महरु सञ्चालनमा रहेको छ । अधिकांश गाई फार्म सञ्चालकहरुले दानाको मुल्यवृद्धि र दुधमा विचौलियाको मनमरी मुल्यले गाई पाल्न अब गाह्रो हुने बताउँछन् ।

झापाको सबैभन्दा धेरै गाई फार्म भएको पालिकाको रुपमा मेचीनगर नगरपालिका रहेको छ । पशु सेवा विज्ञ केन्द्र झापाको तथ्यांकले मेचीनगरमा २५ वटा गाई फार्महरु सञ्चालनमा रहेको पाइन्छ । मेचीनगरको पनि वडा नम्बर ४ मा मात्र १० वटा गाई फार्महरु रहेको तथ्यांक छ । त्यसै गरी दोस्रो धेरै गाई फार्म भएको पालिकाको रुपमा झापा गाउँपालिका रहेको छ । उक्त पालिकामा १५ वटा गाई फार्म रहेको तथ्यांक छ ।

झापा गाउँपालिका वडा नम्बर ४ मा रहेको ओमशान्ती गाईपालन फार्मका सञ्चालक प्रकाश थापा दुधको उचित मूल्य नपाएको कारण गाई पालनबाट विस्थापित हुने स्थितिमा पुगेको बताउँछन् । उनी भन्छन् ‘राज्यबाट हालसम्म केही सुविधा पाएको छैन । राज्यले सहुलियतमा ऋण उपलब्ध राइदिए पनि हुने थियो भन्ने लाग्छ ।’, उनी भन्छन् ‘पहिले धेरै गाई पालेर पेशा सुरु गरेको थिए । अहिले घाटा थेग्न नसकेर निरन्तर गाई घटाइरहेको छु ।’

कनकाई २ मा प्रजानन्द पशुपालन केन्द सञ्चालन गरिरहेका ऋषिकेश मैनाली दुध बेचेर दाना कै खर्च धान्न मुस्किल भइरहेको बताउँछन् । उनी भन्छन् ‘दुधको मूल्य कम छ दानाको धेरै छ । गाई पालेर दुध बेचेर दानाको र अन्य विविध खर्च धान्नै मुस्किल हुन्छ ।’, उनी भन्छन् ‘कम्तिमा पनि २० वटा गाई हुने मेरो फार्ममा हाल ६ वटा मात्र गाई छन्, दानाको मूल्य यस्तै रहे त्यो पनि बेच्न पर्ने अवस्था आउँदै छ । सरकारले दानाको मूल्य वृद्धिमा मात्र नियन्त्रण गरे पनि धेरै राहत मिल्ने थियो ।’

यस्तै, दुग्ध किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सदस्य टंक सेढाईले किसानहरुलाई गाई पालन गर्न कठिन भएको बताएका छन् । उनी भन्छन् ‘किसानहरुले उचित मूल्य पाउँदैनन्, बिचौलिया र दुध सम्बन्धी उद्योग सञ्चालकहरुले मात्र आम्दानी गर्छन् ।’, उनी भन्छन् ‘राज्यले नश्ल सुधार कार्यक्रमको आयोजना गरेर वास्तविक किसानसम्म पुर्याए राम्रो हुने थियो । सुलभ व्याजको ऋणमा पनि वास्तविक किसानको पहँच हुनपर्यो ।’, उनी थप्छन् ‘किसानहरुलाई गाई पालन गर्न र उसको लगानीको संरक्षण गर्ने किसिमको आयोजना ल्याए हुने थियो ।’

यता, ऋतिका डेरीका सञ्चालक योगेन्द्र चिमरिया किसानहरुलाई दुधको गुणस्तर अनुसार मूल्य निर्धारण हुने बताउँछन् । उनी भन्छन् ‘दुधमा ४.० र ८.० सम्म नेपाल सरकारले तोकेको प्रति लिटर मूल्य रु ६० दशमलव २४ लाई नघटाई बरु दुई तीन रुपैयाँ बढाएर नै खरिद गर्ने गरेका छौँ ।’, उनी भन्छन् ‘दुधको मूल्य सरकारले बैज्ञानिक ढंगले निर्धारण गरेको छ तर दानाहरुको मूल्य भने व्यपारिहरुले निर्धारण गर्ने भएकाले हाल किसानहरु मारमा परिरहनु भएको छ ।’ दुधको मूल्य एक पटक वृद्धि हुँदा दानाको मूल्य चार पटक वृद्धि हुन्छ, सरकारले दुधको मूल्य आफैं निर्धारण गरे झैं दानाको मूल्य पनि आफैं निर्धारण गरे किसानलाई राहात मिल्ने उनको भनाई छ । यो विषयमा सरकारको ध्यानाकार्षण हुन जरुरी छ , उनले थपे ।

भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका सूचना अधिकारी भने सरकारले विभिन्न कार्यक्रमहरु मार्फत किसानहरुलाई समेटिरहेको बताउँछन् । गाई कै लागि भनेर बजेट बिनियोजन नभए पनि विभिन्न युवा लक्षित कार्यक्रमहरु मार्फत किसानहरुलाई समेटिएको छ, उनले भने– यसै साल पनि सामुहिक वा सहकारी मार्फत जिल्लामा सञ्चालन हुने गाई फार्महरुलाई लक्षित गरेर ३५ लाख बजेटको कार्यक्रम आएको छ । भदौमा यसको सूचना सार्वजनिक हुन्छ ।’, उनले भने, किसानहरुलाई निशूल्क रुपमा प्राविधिक सेवा प्रदान गरिरहेका छौँ, गोठ सुधार तथा गाई खरिदमा अनुदानहरुको कार्यक्रम मार्फत सहयोग गरिरहेका छौँ ।’

 

प्रकाशित मिति : माघ ९, २०७९ सोमबार  ८ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]