जेष्ठ ६, २०८१ आईतबार

गाई पालकलाई पलायनबाट रोकौं

सम्पादकीय

कृषक र कृषि क्षेत्रका लागि सधैं सकारात्मक योजना सुनाउने गरिन्छ । छलफल र बहसमा पनि कृषि क्षेत्रको कहिल्यै नकारात्मक चर्चा गरिन्न । बोलीमा जस्तो व्यवहारिक रुपमा किसानप्रति कुनै पनि निकाय उदार छैन । त्यसको बलियो उदाहरण हुन्, झापाका गाई पालक किसान । अहिले गाई पालक किसानको दैनिकी विजोग छ । उनीहरु गाई फार्म सञ्चालन गरेर जिवीका चलाउन सक्ने अवस्थामा छैनन् । बरु, गाई पालनलाई छोडेर अन्य पेशा व्यवसाय रोज्ने अवस्था बन्दै गएको छ । गाई पालनलाई घटाउनै पर्ने उनीहरुको बाध्यता छ । किनभने, मेहनत अनुसारको प्रतिफल पाउन सकिरहेका छैनन् ।

जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका अनुसार जिल्लामा अहिले ९० वटा गाई फार्महरु सञ्चालनमा रहेको छ । अधिकांश गाई फार्म सञ्चालकहरुले दानाको मुल्यवृद्धि र दुधमा विचौलियाको मनपरीका कारण गाई पालनबाट पलायन हुने मानसिकता बनाइरहेका छन् । गाई थप्ने भन्दा पनि गाईको संख्या घटाउनेतिर लागेका किसानको पक्षमा राज्यपक्ष उदार देखिएको छैन । गाई पालक किसानको मुख्य स्रोत दुध हो । तर, दुध बेचेर गाई पाल्न सक्ने अवस्था छैन । उनीहरुले दिएको दुधका कारण संकलनहरु मात्रै फाइदामा छन् ।

किसानलाई सधैं पिर छ । कहिले मलखाद्यको अभाव त कहिले विऊविजनको हुन्छ । उत्पादित वस्तुको मुल्य पनि उचित छैन । कतिपय किसानहरु उत्पादनको लागत समेत विक्रीबाट फिर्ता गर्न नसकिने बताउँछन् । यसको अर्थ, किसान विचौलिया र राज्य पक्षबाटै पीडित छन् । गाई पालक किसानकै कुरा गर्ने हो भने दुधको मुल्य उचित छैन । दानाको मुल्य बढिरहन्छ । त्यसमा सरकारको नियन्त्रण छैन । यसैले किसानको हितमा काम गर्ने हो भने उनीहरुको माग अनुसार सरकारले सहयोग गर्न आवश्यक छ । किसानलाई दुधको उचितमुल्य दिनुपर्छ । अनुदान भन्दा पनि उत्पादित वस्तुको मुल्यमा सरकार गम्भीर हुन आवश्यक छ ।

प्रकाशित मिति : माघ १०, २०७९ मंगलबार  ५ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]