जेष्ठ ५, २०८१ शनिबार

दाजुको स्मृतिमा माझी र राजवंशीलाई घर

बनियानी । समाजसेवी दिनबन्धु गोयलले दाजु स्वर्गीय ओमप्रकाश गोयलको स्मृतिमा माझी र राजवंशी समूदायका १२ परिवारलाई घर निर्माण गर्ने हुनुभएको छ । उहाँले झापाको भद्रपुर नगरपालिका–६ मा बसोबास गर्ने १० माझी र दुई राजवंशी परिवारका लागि घर निर्माण सुरु गर्नुभएको हो ।

आज एक कार्यक्रमकाबीच भद्रपुर नगरपालिका नगरप्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की र नगरपालिका–६ का वडाध्यक्ष रतिया राजवंशीलगायतले घरको शिलान्यास गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पोखरेलले विपन्न समुदायको घर निर्माण सुखद भएको बताउँदै दाताप्रति आभार व्यक्त गर्नुभयो ।

‘भद्रपुरको शैक्षिक क्षेत्रमा उहाँले धेरै काम गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘सामाजिक कार्यमा पनि उहाँ निरन्तर सक्रिय हुनुहुन्छ ।’ उपप्रमुख कार्कीले सबै नागरिकले आ–आफ्नो ठाउँबाट सकेको सामाजिक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

टिनको छाना भएका दुई कोठा बरण्डासहितको घरको लागत प्रतिघर रू पाँच लाख पर्ने भद्रपुर वडा नं ६ का वडा सचिव हरिप्रसाद चम्लागाईंले जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्ष राजवंशीले घर निर्माण भए पनि शौचालय र शुद्ध खानेपानीको अभाव भएकाले सोको व्यवस्था गर्न नगरप्रमुखसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा दाता परिवारका तर्फबाट विनय गोयल, भद्रपुर नगरपालिका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर–४ का वडाध्यक्ष हङ्शधर राजवंशी, कार्यपालिका सदस्य सन्ध्याकुमारी डङ्गोल, टोल विकास संस्थाका अध्यक्ष महललाल राजवंशी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रकाशित मिति : माघ १२, २०७९ बिहीबार  ४ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]