चैत्र १६, २०८० शुक्रबार

झापामा आत्महत्याको डरलाग्दो तथ्याङक

गगन ढकाल

सावधानी अपनाउन सकिन्छ : मनोपरामर्शविद्

झापा । झापाको कचवकवलमा पछिल्लो सात महिनामा दुई वटा भयानक आत्महत्याका घटना भयो । एकै रुखमा तीन किशोरीले आत्महत्या गरेको कचकवलले सोही प्रकृतिमा भर्खरै अर्को घटना पनि व्यहोर्नु परेको छ । जिल्लामा आत्महत्याजन्य घटना बढिरहेको विभिन्न तथ्याङकहरुले देखाइरहेको छ । झापा प्रहरीको तथ्याङक अनुसार पछिल्लो छ महिनामा मात्रै १३४ जनाले आत्महत्या गरेका छन् ।

झापामा आत्महत्याको तथ्यांक दिनप्रति दिन बढ्दो छ । पछिल्लो ६ महिनामा मात्रै १३४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकले देखाएको छ । पछिल्लो ६ महिनामा आत्महत्या गर्नेमा ६० जना पुरुष, ५३ जना महिला र २१ जना बालबालिका रहेका छन् ।

यसरी आत्महत्याको तीब्र वृद्धि हुनु आर्थिक विपन्नता, प्रेमको असफलता र मानसिक रोगको असर लगायतका कारणहरु मुख्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनी भन्छन् ‘हामीले समुदाय प्रहरी कार्यक्रम मार्फत आत्महत्या न्यूनिकरण एवम् सचेतनामुलक कार्यक्रमहरुको आयोजना गरिरहेका छौँ, यद्यपी आत्महत्या भने न्यूनिकरण हुन सकिरहेको छैन ।’

उनी भन्छन् ‘मानिसले जीवनमा केही पनि गर्न सक्दिन भन्ने सोचे पछि मात्र आत्महत्याको कदम सार्दछ । मानिसहरुलाई केही हैन धेरै कुरा गर्न सक्नेछु भन्ने मानसिकताको बिकास गराउन सके आत्महत्या आफैं न्यूनिकरण हुँदै जान्छ ।’

पछिल्लो सात महिनामा २ वटा आत्महत्याको भयानक घटना व्यहोरेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद राजवंशी अब हिउँदे बजेटदेखि आत्महत्या न्यूनिकरण गर्ने कार्यक्रम नै लिएर अगाडि बढ्ने बताउँछन् । उनी भन्छन् ‘हामीले हालसम्म त कुनै पनि कार्यक्रम बनाएका छैनौँ । तर हिउँदे सभापछि कार्यक्रमिक रुपमै अगाडि बढने छौँ ।’ मनोचिकित्सा विज्ञहरुसँग छलफल गरेर विद्यालय तह हुँदै गाउँ–गाउँमा आत्महत्या गर्नु हुँदैन भन्ने सन्देश भएको कार्यक्रम लिएर अगाडि जाने योजना बनाएको जानकारी दिए ।

जिल्ला प्रहरीको तथ्यांक अनुसार झापामा हरेक वर्ष आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको देखिन्छ । झापामा आर्थिक वर्ष ०७६÷७७ मा २२३ जनाले आत्माहत्या गरेका थिए भने आर्थिक वर्ष ०७७÷०७८ मा ३३५ जना र आर्थिक वर्षमा ३१३ जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ ।

कचनकवल गाउँपालिकामा सात महिना पहिले तीन युवतीहरुले आत्महत्या गरेका थिए । यस्तै, माघ १० गते दुई जना युवा, युवतीले एकै कपडा, एकै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयसँग आबद्ध क्लिनिकल मनोपरामर्शविद् िप्रमेश प्रधानले समयमै गरिने सहयोगले जोखिममा रहेका व्यक्तिहरुलाई बचाउन सकिने बताउँछन् । उनका अनुसार कुनै व्यक्तिले बारम्बार निराशाजनक कुराहरु गरिहने वा मर्न पाए पनि हुन्थ्यो जस्ता भाव भएका कुराहरु गर्छ भने उसमा आत्महत्याको विचार आएको हो कि भनी तुरुन्त उपचारको लागि समन्वय गर्नुपर्छ ।

मनोपरामर्शविद् प्रधानले आत्महत्या सम्बन्धी सावधानी अपनाउन सकिने बताएका छन् । सही सहयोग गर्न सक्ने–उचित परामर्श दिन सक्ने व्यक्तिहरु जस्तै मनोचिकित्सक, चिकित्सामनोविद्, मनोविमर्शकर्ता, स्वास्थ्यमा तालिम प्राप्त व्यक्तिहरुको सहयोग लिन प्रोत्साहन गर्ने, ११६६ मा हेल्पलाइनको सहयोग लिने, आत्महत्या तथा आत्महानिबारे खुलेर कुरा गर्ने, कसैले आत्महत्याको बारेमा कुरा गर्यो भने उसको कुरा पूर्वाग्रह नराखी गम्भीरतापूर्वक र गोपनीयता राखेर सुनिदिने, सकारात्मक सोच विकास गर्ने, दैनिक रुपमा मर्निङ वाक गर्ने, आफूलाई मनोरन्जनात्मक क्रियाकलापमा भुलाउने, सामाजिक, आध्यात्मिक र धार्मिक क्रियाकलापहरुमा सहभागी हुनुपर्ने उनको सूझाव छ ।

प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार  ७ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]