बैशाख २२, २०८१ शनिबार

राष्ट्रिय रमणीय दुधेका विद्यार्थीले बनाए विद्युतीय गाडी

शिवसताक्षी । झापा शिवसताक्षीका एक सामुदायिक विद्यालयका विद्यार्थीले निर्माण गरेको विद्युतीय गाडिको आज उद्घाटन गरिएको छ ।

शिवसताक्षी– ११ दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययरत विद्यार्थीहरुले निर्माण गरेको विद्युतीय गाडीको मंगलवार विद्यालयको ५४ औं वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको हो ।
उक्त गाडी शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नगरमाया कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात विद्यार्थीहरुले सोही गाडीमा राखेर नगरप्रमुख थोप्रालाई दूधे बजार परिक्रममा गराएका थिए ।

विद्यालयमा अध्ययरत प्रसन्न दवाडी, निशान शंकर र सन्देश बरालले स्थानीय बस्नेत गृलमा निर्माण गरेका हुन् । उनीहरुले पढाई साथ साथै एक महिना अघिदेखि गाडी निर्माणमा लागेका थिए । करिब १ लाख ५० हजार खर्चमा चार पाङ्ग्रे विद्युतीय गाडी निर्माण गरिएको विद्यार्थी निशान शंकरले जानकारी दिए । उनीहरुले यसअघि पनि विद्यालयहरुमा रकेट, वाटर पम्प, सानो रिमोट कन्ट्रोल कार लगायतका सामग्रीहरु बनाउँदै आएका थिए । गाडी निर्माणका लागि कोहीबाट सहयोग जुटेमा मोटर साइकलको इन्जिनबाट चल्ने गाडी निर्माण गर्ने बताएका छन् ।
उक्त गाडीमा तीन जना सवारी गर्न सकिने प्रशन्न दवाडीले बताए । दवाडीका अनुसार गाडीमा आठ सय वाटको डिसी मोटर, १२ भोल्टका चारवटा ब्याट्री र कन्ट्रोलर राखिएको छ । गाडी प्रतिघण्टा ३० किलोमिटरको गतिसम्म कुदाउन सकिन्छ । गाडी बनाउन कार्टुन, प्लाइलगायतका सामान प्रयोग गरिएको छ ।

यता, शिवसताक्षी नगरपालिका नगरप्रमुख थोप्राले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले गाडी निर्माण गरेको कामको प्रशंसा गरेका छन् । उनले नगरपालिकाले यस्ता प्रतिभाहरुको कदर गर्ने र हाललाई नगरको तर्फबाट २० हजार सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगरप्रमुख थोप्राले पछिल्लो समय सामुदायिक विद्यालयहरुले राम्रै फड्को मार्न थालेको बताए । नगरभित्रका नमुना विद्यालयका रुपमा केही मावि तहका विद्यालयहरु प्रतिष्पर्धामा रहेका छन् । विद्यालयको भौतिक स्तरोन्नती, खानेपानी सुविधा, स्कुल बसको सुविधा र शिक्षाको गुणस्तरमा सामुदायिक विद्यालयहरुमा आस लाग्दा कामहरु भएका छन् । दूधे मावि विद्यार्थीलाई विद्यालयसम्म आउनका लागि एउटा स्कुल बसको आवश्यक रहेकाले यसका लागि पनि नगरपालिकाले छलफल र गृहकार्य गरिरहेको नगर प्रमुख थोप्राको भनाई छ ।

यसैक्रममा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले विद्यार्थीहरुले गाडी निर्माण गरेर नगर भित्रका सामुदायिक विद्यालयहरु मध्ये उत्कृष्टता हासिल गरेको बताइन् । अब विद्यालयहरुमा यस्ता प्रतिभाहरुका लागि पनि कदर हुने खालका पाठ्यक्रम लागु गर्नुपर्नेमा जोड दिइन् ।

विद्यालयको वार्षिकोत्सवमा विद्यालयका सेवा निवृत्त पूर्व प्रअ कालीप्रसाद रिजाललाई सम्मान गरिएको थियो । त्यस्तै उत्कष्ट शिक्षकका रुपमा राकेश चौधरी र ज्ञानु दाहाललाई विद्यालयले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका पूर्व प्रअ उमानाथ दाहाल र शिक्षक उर्मिला दाहालको नाममा राखिएको उमा उर्मिला छात्रवृत्ति अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । सुरुङ्गा निवासी चम्पा खनाल, गोकुल खनाल र लोकनाथ खनालले आफ्ना माता पिताको नाममा स्थापना गरेको जयनारायण र अयोध्यादेवी स्मृति छात्रवत्तिबाट गरिब तथा जेहेन्दार दुई विद्यार्थीलाई १२ हजार नगद प्रदान गरिएको थियो । उक्त छात्रबृत्ति चम्पा खनालले प्रदान गरेकी थिइन् ।

त्यसैगरी सोही विद्यालयमा अध्ययन गरी हाल अमेरिकाको कोलोडारोमा रहेका नारायण अधिकारी र सृजना अधिकारीले आफ्ना पिता माताका नाममा राखिएको बलबहादुर तथा पवित्रादेवी स्मृति छात्रवृत्ति कार्यक्रममा रु ३० हजार उहाँका परिवारले विद्यार्थीहरुलाई प्रदान गरेका छन् । कार्यक्रमा स्व.माङधुम्बो थेवे स्मृति अक्षयकोष स्थानीय शिवमाया थेवे १ लाख ११ हजार १ सय ११ विद्यालयलाई प्रदान गरेकी छिन् । उक्त रकम गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई प्रदान गरिने विद्यालयले जनाएको छ ।

त्यसैगरी आफ्ना माता पिताका नामबाट लुका राई र विशाल राईले स्थापना गरेको संहधन राधिका राई छात्र बृत्ति अक्षयकोषको रु १ लाख १११ रकम पनि विद्यार्थीलाई प्रदान गरिएको थियो । सोही कार्यक्रमा सतासीधाम जेसीजले पनि राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमा विद्यालयका प्र.अ. लालमणि सुवेदीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक गोविन्द काफ्लेले गरेका थिए ।

प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]