चैत्र १५, २०८० बिहीबार

अग्निपीडित नेम्वाङलाई घर हस्तान्तरण

दमक । झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरका अग्नीपीडित अम्बर नेम्वाङको घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय युवा सङ्घ शिवसताक्षी–१ वडा कमिटी र खेलकुद महासङ्घ नगर कमिटीले रु पाँच लाख बढीको लागतमा तीन कोठाको घर निर्माण गरी हस्तान्तरण गरेको हो । नवनिर्मित घरमा आज एक कार्यक्रमको आयोजना गरी घर हस्तान्तरण गरिएको निर्माण समितिले जनाएको छ ।

नवनिर्मित घर सङ्घीय सांसद एलपी साँवा लिम्बू, शिवसताक्षी नगरप्रमुख मेगाहाङ थोप्रा र शिवसताक्षी–१ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले हस्तान्तरण गर्नुभयो । गत जेठ १९ गते नेम्वाङको घरमा आगलागी भएर धनमालसहित नष्ट भएको थियो ।

घर हस्तान्तरणसँगै निर्माण समितिले आयव्यय पनि सार्वजनिक गरेको छ । समितिले विभिन्न दाताबाट सङ्कलित रकम रु पाँच लाख २४ हजार चार सय २३ को लागतमा उक्त घर निर्माण गरेको जनाएको छ । त्यसमा सांसद साँवाले रु ५१ हजार, नगरपालिकाबाट रु एक लाख सहयोग प्राप्त भएको खर्च विवरणमा उल्लेख छ ।

त्यस्तै नेकपा (एमाले) वडा नं १ कमिटीबाट रु ४८ हजार सात सय २५, खेलकुद महासङ्घबाट रु २५ हजार, प्रवासी मलेशियन समूहबाट रु २१ हजार दुई सय ८५ सहयोग भएको जनाइएको छ ।

घर निर्माणका लागि सहयागीले रु ३२ हजार नौ सय ८० बराबरको जिन्सी सहयोग र रु सात हजार तीन सय बराबरको श्रमदान रहेको निर्माण समितिका अध्यक्ष अरुण चेम्जोङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार  ५ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]