जेष्ठ ५, २०८१ शनिबार

कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीको प्रदर्शनी

काठमाडौं । विसं २०७२ पछि देखि नै सुस्ताएको कला क्षेत्रको प्रवर्द्धनका लागि पाँच देशका कलाकर्मीले नेपाल कला परिषद्को बबरमहलस्थित ग्यालरीमा तीन दिने प्रदर्शनी गरेका छन् ।

बेलायतको आर्ट भेन्ट, बङ्गलादेशको जोब्रा द आर्ट भिलेज, नेपालका आर्ट बुम र साफा मध्यस्तरको आयोजनामा शनिबारदेखि सुरु भएको कला प्रदर्शनीमा २९ जना कलाकारका ६१ कलाकृति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा संस्कृति, प्रकृतिलगायत विषयका कलाकृति राखिएको छ ।

बङ्गलादेशका रोहित सिंहुल मुख्य संयोजक र नेपालका किशोर नकर्मी एवं रत्न शाक्य संयोजक भएर गरिएको कार्यक्रम नेपालमा पहिलोपटक भएको हो । यही कलाकृतिलाई भारत, बङ्गलादेश, बेलायत र फ्रान्समा पनि प्रदर्शनीमा राखिने योजना रहेको आयोजक समितिका सदस्य कलाकार विपना महर्जनले राससलाई जानकारी दिनुभयो ।

पाँच देशमा गरिने प्रदर्शनीले देश, देशबीचको सम्बन्धमा सुमधुरता स्थापना गर्नुका साथै कोरोना महामारीपछि सुस्ताएको कला क्षेत्रलाई पुनःजीवन दिने आशा गरिएको छ । नेपालमा कलाकृति धेरै किन्ने विदेशीले नै हो । विसं २०७२ को भूकम्पपछि देखि नै पर्यटकको आगमनमा न्यूनता आएका कारण यो क्षेत्रमा समस्या देखिएको हो । कलाकृति बिक्रीमा कमी आएपछि कलाकार विद्यालय एवं महाविद्यालयमा अध्यापन गरेर जीवनयापन गर्न बाध्य भएका हुन् । पछिल्लो समय प्रविधिमा भएको विकासले पनि प्रदर्शनीमा भने कमै मानिस आउने गरेको संयोजक नकर्मीको भनाइ छ । अनलाइनका माध्यमबाट कलाकृति हेरेर अनलाइनबाट खरिद गर्ने स्वदेशी एवं विदेशीको सङ्ख्या पनि बढ्न थालेको छ ।

कार्यक्रमका अर्का संयोजक शाक्य भने कला प्रदर्शनीको उद्घाटन र समापन कार्यक्रममा धेरै दर्शक आउने गरेको बताउनुहुन्छ । अन्य दिन भने विद्यालय एवं महाविद्यालयमा कला अध्ययन गर्ने विद्यार्थी र अध्यापन गराउने शिक्षकको राम्रो सहभागिता जुट्ने गरेको उहाँले सुनाउनुभयो ।

प्रकाशित मिति : फाल्गुन १, २०७९ सोमबार  ७ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]