जेष्ठ ५, २०८१ शनिबार

प्रतिनिधिसभालाई जनताप्रति उत्तरदायी बनाउनेछु : सभामुख

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई सम्मान गरेको छ । सभामुख बनेपछि पहिलोपटक गृहजिल्ला आएका सभामुख घिमिरे र उपसभामुख रानामगरलाई बिहीवार सम्मान गरिएको हो ।

एउटै जिल्ला र एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुख जस्तो गरिमामय पदमा पुग्न सफल भएकोमा बिर्तामोड नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । बिर्तामोड नगरपालिकासँगै अलैची व्यवसायी महासंघ, माई नगरपालिका, वडा कार्यालयहरु र पत्रकार महासंघ लगायतका संस्थाहरुले सभामुख घिमिरे र उपसभामुख रानालाई सम्मान गरेका हुन् ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरुले सम्मानपत्रसहित सम्मान गरेका थिए ।
अलैंची व्यवसायी महासंघले प्रतिनिधिसभा सदस्यहरु केआर खम्बु, हर्कमाया विक र अमृतलाल राजवंशीलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो ।
घिमिरे नेकपा (एमाले)को तर्फबाट झापा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने सोही क्षेत्रबाट राना राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।

सम्मान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले निर्वाचित गर्न मद्दत गर्ने सबै झापा क्षेत्र नं. २ का मतदाता, शुभेच्छुकहरुलाई धन्यवाद दिएका छन् । उनले निर्वाचित गराएर जिम्मेवार ठाउँमा पुराएको भन्दै मतदातालाई धन्यवाद दिएका हुन् । सभामुख घिमिरेले प्रतिनिधिसभाको सञ्चालनमा कुशलता प्रदान गर्दै संसदलाई जनताप्रति उत्तरदायी बनाउने बताए । उनले जनताको जीवनमा परिवर्तन ल्याउन संसदको भूमिका महत्वपूर्ण हुने बताएका हुन् । ‘म अहिले अम्पाएरको भूमिकामा छु, संसदलाई कुनै हालतमा गलत गर्न दिन्न’ सभामुख घिमिरेले – जनताप्रति संसदलाई बफादार बनाउनेछु ।

संसद्लाई राष्ट्र र जनताप्रति बफादार बनाउँदै नागरिकको चहाना पुरा गर्ने सभामुख घिमिरेको धारणा थियो । सम्मान कार्यक्रम आयोजना गरेकोमा नगरपालिकासहित संघसंस्थाहरुलाई धन्यवाद दिदैं घिमिरेले आफु मतदाताले चाहेको भन्दा फरक भूमिका आएको बताए । विकास निर्माणमा प्रत्यक्ष जोडिने आशा थियो, उनले भने – अहिले सबै निर्वाचन क्षेत्रका नागरिकको आवाज सुन्ने ठाउँमा छु । र, यो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार र जनताको जनजीवीका प्रति पनि पूर्ण सचेत छु । सभामुखको ठाउँमा बसेर पनि जनताको चहानामा जिम्मेवार पूर्वक लागिपर्ने भन्दै उनले बिर्तामोडसहित सबै ठाउँ र भुगोलमा प्राथमिकता साथ लाग्ने बताएका छन् । उनले अहिलेको आर्थिक संकट र अस्थिर राजनीतिको सुधारमा सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।

यस्तै, उपसभामुख रानाले देशको समस्या देखेर सामाजिक जीवनबाट राजनीति जीवनमा प्रवेश गरेको बताइन् । उनले आफुले कोभिडको समयमा खाद्यन्न वितरण गर्दा भोग्नु परेको समस्याका कारण राजनीतिमा आएको सुनाइन् । म राजनीतिमा नयाँ मान्छे हो, रानाले भनिन्, – बालअधिकार, ज्येष्ठ नागरिकको अधिकारप्रति जहाँ रहेपनि आवाज उठाइरहन्छु । अहिले प्राप्त भएको जिम्मेवारीलाई मर्यादित र कुशलतापूर्वक निर्वाह गर्नेछु ।

उपसभामुख रानाले सडकमा कराएर मात्र नसुनिए पछि बागडोर सम्हाल्ने गरी नेतृत्वमा आएको बताइन् । यस क्षेत्रको सबै समस्याहरुको बारेमा जानकार रहेको भन्दै रानाले समाधानमा जिम्मेवार पूर्वक लागिपर्ने धारणा राखिन् ।

सम्मान कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी लगायतले शुभकामन्तव्य राख्दै यस क्षेत्रको समस्याहरुका बारेमा अवगत गराएका थिए । उनीहरुले आर्थिक संकट, जंगली हात्तीको समस्या, सुकुम्बासी समस्या, रोजगारको समस्याबारे जानकारी गराएका थिए ।
शुक्रबारबाट विर्तामोडमा सुरु हुने १० दिने अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७९ को समुद्घाटन गर्न सभामुख घिमिरे झापा आएका हुन् । आज बिहान अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा पनि सम्मान तथा बधाई ज्ञापन गर्ने कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : फाल्गुन ५, २०७९ शुक्रबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]