चैत्र १५, २०८० बिहीबार

फोहरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

चन्द्रकला भण्डारी

झापा । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ ।

जिल्लाको मध्यभागमा रहेको विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका परियोजनामा जुटेका हुन् । चार वर्षदेखि निरन्तर निर्माण भइरहेको परियोजना कनकाई नगरपालिका–२ को सुकेडाँगीमा रहेको छ । परियोजना सञ्चालनमा आएपछि ती नगरपालिकामा फोहरमैलाबाट उत्पन्न समस्याको दिगो समाधान हुने विश्वास गरिएको छ ।

कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार तीनवटै नगरको फोहरमैलालाई ल्याएर जैविक मल र बायोग्यास उत्पादन गर्ने सोचका साथ २०७५ सालमा कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेड स्थापना भयो । परियोजनाका लागि आवश्यक कूल लगानी रु १३ करोड ६३ लाखमध्ये ४० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट अनुदान प्राप्त हुने र बाँकी ६० प्रतिशत तीनवटै नगरपालिकाले जुटाउने सहमतिअनुरुप हाल काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
दैनिक पचास टन फोहर प्रशोधन हुने

परियोजनास्थलमा दैनिक ५० टन फोहर प्रशोधन गर्नसक्ने चार हजार घनमिटर क्षमताको बायोग्यास प्लान्ट जडान भइसकेको छ । यसबाट हरेक दिन १० टन जैविक मल र एक हजार केजी मिथेन ग्यास उत्पादन हुने गर्दछ । तीन बिघा क्षेत्रफलमा फैलिएको परियोजनास्थलमा ग्यासप्लान्ट, पाइपलाइन विस्तार र प्रशासनिक भवन निर्माण भइसकेको परियोजनाका बायोविज्ञ जीवन श्रेष्ठले बताउनुभयो । अहिले केही महत्वपूर्ण मेसिनरी जडान र विद्युत् आपूर्तिको लाइन निर्माण धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । ग्यास होल्डर, डिजेस्टर पार्टलगायत परियोजनाको ९० प्रतिशत कार्य सम्पन्न भइसकेको जनाउँदै उहाँले भन्नुभयो, “कुनै व्यवधान खडा भएन भने अबको एक महिनापछि प्लान्ट सञ्चालनमा ल्याउन सकिन्छ ।”

उहाँले विर्तामोड, अर्जुनधारा र कनकाई नगरबाट निस्कने फोहर परियोजनाका लागि अपर्याप्त हुने बताउनुभयो । पूर्ण क्षमताका साथ मेसिन चलाउने हो भने आसपासका अरू पालिकाबाट समेत फोहर सङ्कलन गरिनुपर्ने र घाँस, गोबरलगायत अन्य प्रकारका कच्चापदार्थको बन्दोबस्त गरिनुपर्ने उहाँको सुझाव छ ।
परियोजनामा सहलगानी गरेका तीन नगरपालिकाबाट दैनिक १५ देखि १८ टन मात्र फोहर सङ्कलन हुने सम्भावना छ । फोहर व्यवस्थापनका लागि लगानी साझेदारीका लागि मेचीनगर, भद्रपुर, बाह्रदशी, शिवसताक्षीलगायतका छिमेकी पालिकाहरुलाई समेत आग्रह गरिएको छ । तर अरू पालिकाहरु अध्ययनकै चरणमा रहेका छन् ।

रातिराति फोहर पुर्दै विर्तामोड

झापाको सबैभन्दा व्यस्त र आवादी सहर भएको कारण विर्तामोडमा फोहरमैलाको समस्या विकराल बन्दै गएको छ । बजार र सडक क्षेत्रमा थुप्रिएको फोहर दुर्गन्धित हुँदा नगरपालिका नै बदनाम हुने गरेको छ ।

विर्तामोडमा फोहर सङ्कलन गर्ने र बाहिर लैजाने स्रोत साधनको पर्याप्त व्यवस्था हुँदाहुँदै पनि फोहरलाई विसर्जन गर्ने ठाउँ नपाएर समस्या भएको नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा बताउनुहुन्छ । “हामीसँग गल्ली र चोकहरुबाट फोहर सङ्कलन गर्ने र त्यसलाई ओसार्ने स्रोत, साधन र संयन्त्र पर्याप्त छ”, उहाँ भन्नुहुन्छ, “तर, सङ्कलन भएको फोहर कहाँ लगेर फाल्ने र कसरी विसर्जन गर्ने भन्ने विषयमा समस्या भएको हो ।”

हाल निराकार सरसफाइ सेवा प्रालिलाई नगरपालिकाले विर्तामोड बजार क्षेत्रको फोहरमैला सरसफाइ गर्ने जिम्मेवारी दिएको छ । तर, बजारबाट सङ्कलित फोहरलाई स्थानीय खोला र सडकको किनारमा खाल्डो खनेर पुर्ने मात्र गरिँदै आएको छ ।

विर्तामोड नगरपालिकाले विगतमा विभिन्न स्थानमा डम्पिङ साइटको खोजी गरेर फोहरमैला विसर्जनको प्रयास गरेको थियो । स्थानीयवासीले फोहर फाल्न अवरोध गरेका कारण नगरले फोहरलाई उचित ढङ्गले विसर्जन गर्न नपाएको नगरप्रमुख महतरा बताउनुहुन्छ ।

नगरपालिकाको गाडीले रातिराति फोहर बोकेर खोला र सडक किनारमा फोहरलाई पुर्ने कार्य पनि आलोच्य बन्ने गरेको छ । प्लास्टिकजन्य फोहरको थुप्रोमा आगो लगाएर नष्ट गर्दा वातावरण दूषित हुने गरेको गुनासो आउने गरेको छ । “कनकाईको ग्यास प्लान्टमा हामीले पनि साझेदारी गरेका छौँ, त्यो सञ्चालनमा आएपछि विर्तामोडको फोहरमैलाको समस्याले उचित समाधान पाउने हाम्रो विश्वास छ”, नगरप्रमुख भन्नुहुन्छ ।

मेचीनगर र भद्रपुरमा पनि छैन डम्पिङसाइट

झापामा विर्तामोडबाहेक दमक, मेचीनगर र भद्रपुरमा फोहरमैलाको समस्या अन्यत्रको तुलनामा धेरै छ । दमक नगरपालिकाले आफ्नै लगानीमा बायोग्यास प्लान्ट निर्माण गरिसकेको छ । मेचीनगर र भद्रपुर नगरपालिका अझै पनि खोलाको बगरमा फोहर थुपारेर जलाउने गर्छन् । मेचीनगर नगरपालिकाको धुलाबारी क्षेत्रको फोहरमैला स्थानीय निन्दा नदीको बगरमा थुपारेर जलाउने कार्यले बस्तीमा वायु प्रदूषण फैलिने गरेको जनगुनासो छ ।

खोलाको बगर र जङ्गलका बीचमा फालेर फोहरमैलाको दीर्घकालीन र उचित समाधान नहुने विषयमा नगरपालिकाका जनप्रतिनिधिहरु सहमत छन् । तथापि, विकल्प केही नहुँदा नगरका फोहर फ्याँक्ने गाडीहरु खोलाको बगर र जङ्गलतिरै गइरहेका भेटिन्छन् । “खोला र जङ्गलमा फालेर यो समस्याको दिगो समाधान हुँदैन भन्ने सबैले बुझ्न जरुरी छ,” मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी भन्नुहुन्छ, “फोहरलाई मोहरमा परिणत गर्न सकिन्छ र यसको वैज्ञानिक उपायहरु हुन्छन् । तर, यही कुरो स्थानीयले नबुझिदिएका कारण समस्याको दिगो समाधान हुन सकेको छैन ।”

मेचीनगर नगरपालिकाले सेनेटरी ल्यान्डफिल्ड साइटका रुपमा प्रयोग गर्न राजमार्ग उत्तरको क्षेत्रमा जग्गा व्यवस्थापन गरेको केही वर्ष बितिसकेको छ । अनेक प्रयास गर्दासमेत स्थानीय बासिन्दाले परियोजनालाई अघि बढाउन सहमति दिएका छैनन् । गाउँमा फोहरको दुर्गन्ध फैलिने त्रास स्थानीयवासीलाई छ ।

भद्रपुर नगरपालिकाले पनि वर्षौंअघि मेची नदीको छेउमा ल्यान्डफिल्ड साइटका लागि जग्गा व्यवस्थापन गरेको थियो । तर फोहरलाई वैज्ञानिक ढङ्गले प्रशोधन गरेर जैविक मल बनाउने कार्य नहुँदा त्यहाँबाट दुर्गन्ध फैलिइरहेको गुनासो आउने गरेको छ ।

मेची नदीको बगरमा डोजर लगाएर बनाएको खाल्डोमा फोहरलाई पुरिँदै आएको छ । ल्यान्डफिल्ड साइटका लागि खरिद गरिएको जग्गा चन्द्रगढी विमानस्थलको धावनमार्गबाट नजिक रहेको कारण चील र गिद्धहरु आएमा हवाई मार्गमा अवरोध पुग्ने सम्भावना पनि औँल्याइने गरेको छ ।

आफ्नै ल्यान्डफिल्ड साइटको उचित बन्दोबस्तसमेत गर्न नसकेका भद्रपुर र मेचीनगर नगरपालिकालाई कनकाईको ग्यासप्लान्टमा आबद्ध हुन आग्रह गरिएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले हालै मेचीनगरका जनप्रतिनिधिहरुलाई ग्यासप्लान्टको अवलोकन भ्रमण गराएर सहलगानीमा आउन आग्रह गर्नुभएको थियो ।

अबको चुनौती : फोहर वर्गीकरण

दमक र कनकाई गरी दुई स्थानमा फोहरमैलाबाट ग्यास र मल उत्पादन गर्ने परियोजना निर्माण भइसके तापनि त्यसको सञ्चालनमा ‘फोहरको वर्गीकरण’ चुनौतीपूर्ण बन्ने सम्भावना छ । कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा लिमिटेडका बायोविज्ञ जीवन श्रेष्ठका अनुसार बायोग्यास प्लान्टमा कुहिने फोहर मात्र हाल्नुपर्ने हुन्छ । घरको भान्सा, होटल, तरकारी तथा फलफूल पसल आदिबाट निस्कने फोहरलाई ट्याङ्कीमा हालेर कुहाइने र मिथेन ग्यास उत्पादन गरिने प्रविधि परियोजनामा जडान गरिएको छ । रासस

प्रकाशित मिति : फाल्गुन १०, २०७९ बुधबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]