चैत्र १५, २०८० बिहीबार

माझी उत्थान संघ झापाले कोशी पुजा गर्ने

शिवसताक्षी । नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति झापाले कोशी (लदी) पुजा वा संस्कृति संरक्षण कार्यक्रम गर्ने भएको छ ।

यही फागुन १६ गते माझी जातिको चाडको रुपमा रहेको लदी पुजा शिवसताक्षी न.पा. १० स्थित पर्यकीय क्षेत्र दोमुखामा भव्यकताका साथ मनाउने भएको हो ।

शिवसताक्षीको झिलझिलेमा पत्रकार सम्मेलन गर्दै नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति झापाले पर्यटकीय स्थल दोमुखामा लदी पुजा मनाउने जानकारी गराएको छ ।

जलको पूजा गर्ने चलन माझी समुदायमा परम्परागत रूपमा चलिआएको छ । हरेक पटक डुगांमा बस्नु अगाडि या माछा मार्ने जाल लिएर जलाशयमा पस्नु अगावै यस समुदायमा जल देवताको सम्झना गर्ने चलन छ । यसै चलनको एउटा संस्थागत अभ्यास र उच्चतम विश्वासको प्रतिरूपका हिसाबले लदीपूजालाई लिइने नेपाल माझी उत्थान संघका जिल्ला कार्य समिति झापाका अध्यक्ष कृष्ण माझीले बताए ।

पत्रकार सम्मेलनमा माझी नेपाल माझी उत्थान संघका वरिष्ठ उपाध्यक्ष मणीकुमार माझीले माझी जातिको महान पर्व कोशी वा लदी पुजामा सरकारले विदा नदिएको गुनासो गरे । उनले नेपालका प्राय सबै जातिहरको मौलिक पर्वमा विदा दिइने गरेता पनि माझी सामुदायलाई सरकारले पनि उपेक्षा गरेको बताए ।

लदी पुजामा करिब ५ हजार मानिसलाई सहभागिता गराइने र अनुमानित २ लाख खर्चमा पुजा सम्पन्न गर्ने नेपाल माझी संघ जिल्ला कार्य समिति, झापाले जनाएको छ ।

खोला किनारमा माछा मार्ने, कृषि र पशुपालन पेसा पनि अपनाउने माझी समुदायले प्राकृतिक विपत् नआओस् भनेर हिउँदको अन्ततिर गर्ने लदी पूजा गर्ने चलन छ । लदीपूजा पनि शिवरात्रिसँग जोडिएर आउँछ, शिवरात्रि सकिएपछि लदी पूजा गर्ने चलन रहेको पाइन्छ । कतिपय माझी समुदायमा शिवरात्रिकै दिन पनि लदीपूजा गर्ने रहेको छ यद्यपि सामान्यतया लदी पूजा फाल्गुन महिनाको साहिँलो मङ्गलवार अर्थात् फाल्गुनको तेस्रो मङ्गलवार यस लदी पूजा मनाउने चलन छ । माझी समुदायको सबैभन्दा ठुलो पर्वका रूपमा लदीपूजालाई लिइन्छ ।

जनजाति समुदायको रूपमा रहेको माझीहरूको जीवन नदीजन्य उत्पादनसँग जोडिएको छ । उनीहरूको परम्परागत पेसा माछा मार्ने रहँदै आएको छ । त्यसैले उनीहरू देवको रूपमा नदीको पूजा र प्रार्थना गर्छन् । ३३ कोटी देवी देउताहरू भाकेर नदी किनारमा नै यस दिन पूजा गरिन्छ । यसरी पूजा गर्दा कृषि औजार, माछा मार्ने जाल, नदी खियाउने औजार लगायत सबै राखेर पूजा गर्ने र बलि पनि चढाउने चलन छ ।

नदी किनारको असुरक्षित बसोबाससँगै नदीमा माछा मार्ने व्यवसाय नै मुख्य पेसा भएकाले उनीहरूले आफ्नो र आफ्नो समुदायको सुरक्षाको कामना गर्छन् । सो समुदायले आफ्नो संस्कृति र रीतिरिवाजको जगेर्ना गर्ने मूल उद्देश्यका साथ यो पर्वको सामूहिक आयोजना गरिएको नेपाल माझी उत्थान संघले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १४, २०७९ आईतबार  ९ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]