बैशाख २२, २०८१ शनिबार

राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सहयोग गर्न अध्यक्ष ओलीको अपिल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी राष्ट्रपतिको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गर्न अपिल गर्नुभएको छ ।

सहिद परिवार तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा घाइते भएकाको सम्मानमा ‘हाम्रो चम्किलो तारा’ नामक संस्थाले आज आयोजना गरेको कार्यक्रममा उहाँले देशको हितका लागि पनि एमालेलाई मतदान गरिनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “अहिले राष्ट्रपतिको निर्वाचन आइरहेको छ, मतदान देशका लागि हुनुपर्छ । जनमतले पनि एमाले उम्मेदवारलाई सहयोग गर्नुपर्छ । किनकी एमाले देश, जनता, राष्ट्रिय स्वाधीनता, भौगोलिकताको संवर्द्धनका लागि हो । त्यसैले राष्ट्रपतिको मतदानमा एमालेका उम्मेदवारलाई मतदान गर्न म मतदातालाई आग्रह गर्न चाहन्छु ।”

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार उम्मेदवारी मनोनयन गर्नुभएको छ । एमाले अध्यक्ष ओलीले अहिले आफ्नो पार्टी देशी र विदेशी प्रतिक्रियावादी शक्तिबाट खेदिएको आरोप लगाउनुभयो । “अहिले सबभन्दा बढी विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी शक्तिबाट एमाले खेदिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले विभिन्न बहानामा आन्दोलन र द्वन्द्व भए पनि पीडितले अझै न्याय पाउन नसकेको भन्दै सहिद, बेपत्ता र घाइते परिवारलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विभिन्न आन्दोलनका घाइतेको उपचार र पीडितलाई राहत दिन पार्टीले पहलकदमी लिने पनि उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा थुप्रै खाले आन्दोलनबाट धेरै सङ्ख्यामा सहिद र बेपत्ता भएको भन्दै सरकारले उनीहरूको पहिचान र पीडितलाई राहत दिनुपर्ने धारणा राख्नुभयो । देशका लागि लडेका योद्धा सहिदको सपना साकार पार्न सबै लाग्नुपर्नेमा उहाँको जोड थियो ।

संस्थाको शुभारम्मसँगै राम्रो कामको थालनी भएकामा प्रशंसा गर्दै उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । सो अवसरमा एमाले अध्यक्ष ओलीले संस्थामा अक्षयकोषका लागि रु दुई लाख सहयोगको घोषणा गर्नुभयो ।

संस्थाका अध्यक्ष लक्ष्मी गुरुङले विभिन्न राजनीतिक सामाजिक आन्दोलनका सहिद परिवार र घाइतेको सम्मानमा थोरै भए पनि राहत पु¥याउने उद्देश्यले संस्थाले पहल लिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न राजनीतिक र सामाजिक आन्दोलनमा सहिद भएका परिवार र घाइतेलाई सम्मान गरिएको थियो । संस्थाका तर्फबाट एमाले अध्यक्ष ओलीले नगदसहित कदरपत्रबाट सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा सहिद परिवारतर्फ विशेश्वरा दाहाल, गोमा देवकोटा, कमला सुवेदी, शान्ति पाख्रिन, सरिता अधिकारी, तीर्था गौतम, देवी सुनार तथा घाइतेमा कृष्ण अधिकारी, चित्रबहादुर घर्तीलगायत रहनुभएको छ ।

जनवादी कलाकार जीवन शर्माले विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो । विशेष प्रस्तुतीका रूपमा किशोर अनुरागको निर्देशन रहेको ‘सपना’ नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा कराते खेलाडीको खेल कौशल पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन १४, २०७९ आईतबार  ६ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]