चैत्र १५, २०८० बिहीबार

राष्ट्रिय सहमतिको नाटक

सम्पादकीय
निर्वाचनपछि प्रधानमन्त्री बन्ने पुष्पकमल दाहालको भोक नेपाली कांग्रेसले मेट्टाउन चाहेन । किनभने, कांग्रेस आफै प्रधानमन्त्रीको भोको थियो । एउटै गठबन्धन बनाएर निर्वाचन लडेको कांग्रेस–माओवादी प्रधानमन्त्री बन्ने विषयमा विभाजित भए । प्रचण्डको भोक मेट्टाउन एमालेले उदारता देखायो । जसका कारण गठबन्धनमा सँगै रहेको कांग्रेसलाई छोडेर माओवादी एमालेसँग जोडियो । निर्वाचनमा पहिलो शक्ति बनेको कांग्रेसलाई गठबन्धनबाट छुट्टाएर प्रचण्डले आफ्नो भोक मेट्टाउन ठुलै त्याग गरे । जसका कारण उनी तत्कालै प्रधानमन्त्रीको रुपमा आसन गर्न पाए ।

तत्कालको स्वार्थ पुरा गरेर प्रचण्डले आफ्नो भोक मेट्टाउने एमालेलाई बाइपास गर्दै राष्ट्रपतिको निर्वाचनमा अर्को बाटो हिडिदिए । एमालेसँगको सम्झौता अनुसार माओवादीले प्रधानमन्त्री राख्ने र राष्ट्रपति एमालेबाट बनाउने थियो । तर, सहमतिपछि प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको रटान सुरु गरे । राष्ट्रिय सहमति भनेको के हो ? नेपाली कांग्रेसको नेतालाई उम्मेदवार बनाउ भन्ने हो ? कि सबै राजनीतिक दलहरुबीचको साझा उम्मेदवारमा राष्ट्रिय सहमति गर्ने भनेको हो ? सहमतिको नाममा गरिएको नाटकले नेपाली राजनीतिमा फेरि निराशा थपेको छ ।

मुलुकको सर्वोच्च पदमा राष्ट्रिय सहमति हुनुपर्छ । तर, सबैको सर्वस्वीकार्य हुन सकेन भने त्यो राष्ट्रिय सहमति हुन सक्दैन । उम्मेदवारको सवालमा कांग्रेस वा एमाले जसको नेता भए पनि फरक पर्दैन । तर, दलहरुबीचमा साझा सहमति हुनुपर्छ । अहिले एमाले र कांग्रेसले आ–आफ्नो उम्मेदवार बनाएको छ । प्रचण्डको स्वार्थपूर्ण राजनीतिले मुलुकमा अस्थिरतालाई मलजल गरिरहेको छ । राष्ट्रिय सहमतिको नाममा गरिएको प्रपञ्ज राष्ट्रको निमित्त हितमा छैन । यो समग्र राजनीतिमा अस्थिरताको विजारोपण भएको छ । राजनीतिमा इमानको खाँचो छ । राजनीतिमा सुधार नआउने हो भने देशमा वेथिती मात्र बाँकी रहनेछ । जनताको तहबाट पनि आवश्यक खवरदारी गर्नुपर्ने देखियो ।

प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]