प्रदेश १ को नाम आज टुङ्गो लाग्ने
विराटनगर । स्थापनाको सातवर्षपछि प्रदेश १ को नाम टुङ्गो लग्ने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकले प्रदेश १ को नाम टुङ्गो लगाउने भएको हो ।
प्रदेश नं १ को नाम कोशी राख्ने गरी दलहरु सहमत भएका छन् । अघिल्लै प्रदेशसभा कालमा छ वटा प्रदेशको नामाकरण भएपनि प्रदेश नं १ को नाममा सहमती हुन सकेको थिएन ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशको नामाकरणको विषयमा आज प्रदेशसभामा छलफल हुने बताउनुभयो । कार्कीले प्रदेशको नाम भने खुलाउनु भएन । ‘हामी सहमतीको नजिक छौं ।सम्भवत आज रातीसम्म बैठक गरेर भएपनि नामाकरण गर्छौं’ कार्कीले यो बेला डट कमसँग भन्नुभयो ।
कोशी नाममा माओवादी समेत सहमत भएको नेताहरुले बताएका छन् । आफूहरुले लामो समय देखि पहिचानको नाममा अडान लिए पनि निर्वाचनको जनमतत त्यसतर्फ नगएको निष्कर्ष सहित माओवादी जातीय पहिचानको नामबाट पछि हट्न तयार भएको हो ।
नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईले चाँही ‘कोशी किरात’नाम प्रदेशसभामा प्रष्तुत गर्ने तयारी गर्नु भएको स्रोतले बतायो । कोशी र कोशी किरातमा केहीबेर छलफल गर्ने तर मतदान गर्ने स्थिती आएमा कोशीमा नै मतदान गर्न माओवादीका नेताहरु सहमत भएका छन् ।