बैशाख १३, २०८१ बिहीबार

सहमतिमा परीक्षा केन्द्र तोकियोस्

सम्पादकीय
झापाको अर्जुनधारा नगरपालिकामा अहिले कक्षा –८ को परीक्षा केन्द्रका विषयमा विवाद भइरहेको छ । शिक्षा शाखाका प्रमुख उपसचिव तोयानाथ रेग्मीको मनपरी केन्द्र निर्धारणले शैक्षिक संस्थाहरुले असहमति जनाइरहेका छन् । शिक्षा शाखामा रेग्मीको प्रवेशसँगै अर्जुनधारामा शिक्षासँग सम्बन्धित प्रायः गतिविधिहरु विवादमा आउने गरेका छन् । यो नयाँ घटना होइन । रेग्मीको कार्यशैली शुरुआतदेखि विवादमा छ । गत वर्ष पनि यहि विषयमा विवाद भयो । यो वर्ष पनि परीक्षा सञ्चालनको तयारीमा जुट्ने बेला विवाद शुरु भएको छ । यसको जिम्मेवार व्यक्ति शिक्षाका प्रमुख रेग्मी नै हुन् ।

नगर शिक्षा शाखाले अन्तरविद्यालय परीक्षा गर्न परीक्षा मिति र परीक्षा केन्द्रको नाम सार्वजनिक गरेसँगै विवाद उत्पन्न भएको हो । स्वभाविक रुपमा परीक्षा सञ्चालनका लागि विद्यालय प्रशासनहरुसँग आवश्यक समन्वय र सहकार्य हुनुपर्ने हो । तर, सधैं रेग्मीको कार्यशैली विरुद्ध शिक्षासँग सरोकार राख्नेहरु बिचमा लफडा हुने गरेको छ । रेग्मीको एकलौटी निर्णय र विद्यालय प्रशासनहरुप्रतिको वेवास्थाले समस्या बढ्ने गरेको छ । विद्यार्थीलाई नै समस्या हुने गरी केन्द्रहरु तोकिनु हुदैन । परीक्षा केन्द्र विद्यार्थीको अनुकुलतामा हुन आवश्यक छ । त्यो निर्णय सम्बन्धितसँगको सहमतिमा गर्नुपर्ने हो ।

शिक्षा ऐन –२०७४ का अनुसार नगर कार्यपालिकाले नगर शिक्षा शाखाको माताहतमा हुने गरी नगर परीक्षा समिति निर्माण गरि कक्षा– ८ को परीक्षाको बारेमा परीक्षा केन्द्र र परीक्षा मिति लगायतको विषयमा निर्णय गर्न सक्ने प्रावधान उल्लेख छ । नगर परीक्षा समिति बिनै मनलाग्दी ढंगले परीक्षा केन्द्र र मिति तोक्दा विवाद सिर्जना भएको छ । परीक्षा केन्द्र र मिति तोक्ने सन्दर्भमा प्याब्सन, शिक्षक संगठन, शिक्षक संघ र शिक्षक महासंघ अर्जुनधाराको सहमति हुनैपर्छ । कर्मचारीले समन्वय गर्ने कुरालाई हाकिमी शैलीमा परिणत गरेर हरेक वर्ष विवाद गर्नु भनेको ठुलो लापरबाही र हेपाह प्रकृत्ति हो । तत्काल सहमतिमा केन्द्र निर्धारण गरेर परीक्षा सञ्चालनको वातावरण बनाइयोस् ।

प्रकाशित मिति : फाल्गुन १७, २०७९ बुधबार  १० : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]