जेष्ठ ५, २०८१ शनिबार

झापामा स्ववियु निर्वाचनको सरगर्मी, एक्लाएक्लै प्रतिष्पर्धा गर्ने योजना

गगन ढकाल

झापा । गत पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले आउँदो चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । स्ववियु निर्वाचनको मिति नजिकिएसँगै झापाका विद्यार्थी संगठनहरुले निर्वाचन केन्द्रित गतिविधिहरुलाई तीव्र पारेका छन् ।

झापामा मुख्य रुपमा सक्रिय भएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन क्रान्तिकारी (अनेरास्ववियु क्रान्तिकारी), नेपाल विद्यार्थी संघ (नेवि संघ), राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ (राप्रवि संघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले चुनावी तयारी थालेका छन् । विद्यार्थी संघसंगठनहरुले स्ववियु चुनावलाई विद्यार्थीमा राजनीतिक चेतना बृद्धि गराउने विशेष अवसरको रुपमा लिएका छन् ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठनहरु आन्तरिक तयारीमा जुटेका हुन् । करिब ७ वर्ष पछि हुन लागेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन् । विद्यार्थी सङ्गठनका नेताहरुले निर्वाचन केन्द्रीत छलफल थालेका छन् ।

अनेरास्ववियु झापा जिल्लाका अध्यक्ष रोशन लामाले आसन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु झापाको पहिलो शक्ति बन्ने जिकिर गरेका छन् । उनी भन्छन्, ‘स्ववियु निर्वाचनले विद्यार्थी आन्दोलनको अस्तित्व जोगाउँछ, अनेरास्ववियु झापा आसन्न निर्वाचनबाट जिल्लाको सबैभन्दा शक्तिशाली विद्यार्थी संगठन बनेर विद्यार्थी आन्दोलनलाई नयाँ उचाई दिने छ ।’, उनी भन्छन् ‘संकटको अवस्थामा विद्यार्थी आन्दोलनको गौरव र बिरासतलाई जोगाउन चाहने सम्पूर्ण विद्यार्थीहरुले हामीलाई मत दिएर जिल्लाको पहिलो शक्ति बनाउनु हुनेमा हामी ढुक्क छौँ ।’ उनी थप्छन् ‘हामीमा ०७३ को हारको जुन पीडा छ त्यसलाई निको पार्ने गरि हामी यस पटकको स्ववियुमा परिणाम निकाल्ने गरि लागिपरेका छौँ ।’

साथै उनले अनेरास्ववियु झापामा सबैभन्दा दह्रो विद्यार्थी संगठन भएकाले कुनै पनि किसिमको चुनावी तालमेल गर्ने पक्षमा नरहेको बताएका छन् । ‘जिल्लाका सबै क्याम्पसमा हाम्रो संगठन मजबुत छ, हामीले विद्यार्थीको पक्षमा काम गरेका छौँ त्यसैले हामीलाई चुनावी तालमेलको जरुरत छैन’, उनले थपे ।

त्यसै गरी नेवि संघका जिल्ला सभापति सञ्जय निरौला ०७३ मा प्राप्त गरेको प्रतिफललाई बढाउने बताएका छन् । उनी भन्छन् ‘चुनाव हुने सबै क्याम्पसमा जीत निकाल्ने गरि हामी लागेका छौँ । हामीले विद्यार्थीहरुको हक हितको लागि कार्य गरेको छ र उनीहरुको सबै किसिमको बिकासको निम्ति नेवि संघले कार्य गरेकोले गर्दा विद्यार्थीहरुले हामीलाई मत हाल्नु हुन्छ ।’

उनले जिल्लाभरका सम्पूर्ण विद्यार्थीहरुलाई स्ववियु निर्वाचनलाई भब्य र मर्यादित बनाउन आग्रह गर्दै झापामा नेवि संघले अरु कुनै पनि संगठनसँग चुनावी तालमेल नगर्ने बताएका छन् । उनी भन्छन् ‘झापामा हामी एक्लै चुनाव लड्न तयार छौँ हामीलाई तालमेलको आवश्यकता छैन ।’

अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष रञ्जन धमलाले झापामा क्रान्तिकारी तालमेलको पक्षमा नभएको बताएका छन् । उनी भन्छन् ‘संगठनको वास्तविक हैसियत के हो भन्ने कुरा एक्लै चुनाव लड्दा मात्र थाहा हुने भएकोले झापामा हामी तालमेलको पक्षमा छैनौं ।’, उनी भन्छन् ‘विशेष गरि आठ वटा क्याम्पसमा हाम्रो राम्रो पकड भएकाले हामी ति आठ वटा क्याम्पसहरुलाई विशेष प्राथमिकतामा राखेर चुनावी अभियान अगाडि बढाइ रहेका छौँ ।’ उनी थम्पछन् ‘०७३ सालमा एउटा मात्र क्याम्पसमा हामीले जीत हासिल गरेका थियौं । तर यो पटक कम्तिमा तीन वटा क्याम्पसमा हाम्रो जीत निश्चित भएको छ ।’

०७३ चैत १५ गते सम्पन्न स्ववियु निर्वाचनमा झापामा नौ वटा क्याम्पसमा निर्वाचन भएको थियो । ०७३ मा निर्वाचन हुने क्यापसहरुमा काँकरभिट्टा बहुमुखी, त्रिदेव बहुमुखी, कनकाई क्याम्पस बिर्तामोड, देवी÷इन्द्रचन्द्र बहुमुखी क्याम्पस, मेची बहुमुखी, दमक बहुमुखी, गरामनी क्याम्पस, गौरीगञ्ज क्याम्पस र गौरादह क्याम्पसमा निर्वाचन भएको थियो । आसन्न निर्वाचनमा शनिश्चरे बहुमुखी, सितारमेश बहुमुखी, गौरादह कृषि क्याम्पस र कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा गरी चार वटा क्याम्पस थपिने सम्भावना रहेको विद्यार्थी नेताहरुको भनाई छ । साथै क्याम्पसले स्ववियु सम्बन्धी कुनै पनि सूचना प्रकाशित नगरेको भएता पनि बिरेन्द्र नमुना क्याम्पस र लक्ष्मी बहुमुखी क्याम्पसहरुमा पनि स्ववियु हुनुपर्ने विद्यार्थीहरुको माग छ ।

०७३ सालको निर्वाचनमा देवी-इन्द्रचन्द्र बहुमुखी क्याम्पस अनेरास्ववियु (क्रान्तिकारी)ले जीत हासिल गरेको एक मात्र क्याम्पस हो भने त्रिदेव बहुमुखी क्याम्पस र गौरादह बहुमुखी क्याम्पसलगायत दुई वटा क्याम्पसहरुमा मात्र अनेरास्ववियुले जीत हासिल गरेको थियो । बाँकी रहेका छ वटा क्याम्पसहरुमा नेवि संघले जितेको थियो ।
पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि निर्वाचन हुन सकेको थिएन । त्रिवि क्याम्पसमा विगत सात वर्ष यता स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालदेखि नै नियमित हुन सकेको थिएन ।

देशभर त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । स्ववियुमा पदाधिकारीहरुमा सभापति, सचिव र कोषाध्यक्ष प्रत्यक्ष निर्वाचित हुन्छन् भने उपसभापती र सहसचिव समानुपातिक प्रणाली मार्फत निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७९ शुक्रबार  ७ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]